ककनी-२ का नवनिर्वाचित वडाअध्यक्ष घिमिरेले सम्हाले कार्यभार
नुवाकोट। ककनी गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा अध्यक्ष कृष्ण घिमिरे मिलनले मंगलबार पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका छन्। मंगलबार ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ समक्ष शपथ लिएका नवनिर्वाचित वडाअध्यक्ष घिमिरेले वडा कार्यालय पुगेर पदभार सम्हालेका हुन्।
वडा कार्यालयमा वडाअध्यक्षको कार्यभार सम्हाले लगत्तै बसेको वडा सदस्यसहितको बैठकमा घिमिरेले लामो समयदेखि समस्याका रुपमा रहेको सिसडोलको फोहोर व्यवस्थापनलाई दिगोरुपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले आफू सुरुदेखि नै फोहोर मैला व्यवस्थापनकै आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्दै आएकाले त्यसको व्यवस्थापन प्रमुख एजेण्डा बनाएको बताए। साथै उनले नेपाल सरकारबाट जग्गा प्राप्त भएको स्थानमा २ नं वडा कार्यालय भवन निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
नवनिर्वाचित वडाअध्यक्षको पदभार ग्रहण कार्यक्रममा ककनी गाउँपालिका अध्यक्षसहित उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षहरू ,वडा सदस्यहरू लगायको उपस्थिति रहेको थियो।
Facebook Comment