पंजाबका पूर्व उपमुख्यमन्त्री सुखवीर बादलमाथि गोली प्रहार
काठमाडौं । बुधबार बिहान अमृतसरको स्वर्ण मन्दिरमा गोली प्रहार भएको छ । अकाली दलका नेता तथा राज्यका पूर्व उपमुख्यमन्त्री सुखबीर सिंह बादलले अकाल तख्तको सजाय काटिरहेको ठाउँमा गोली चलेको हो।
भिडियोमा एक वृद्ध व्यक्ति सुखबीर सिंह बादलतर्फ अघि बढिरहेको देख्न सकिन्छ । यो व्यक्तिले पेस्तोल निकालेर फायर गर्छ तर बादलसँगै उपस्थित मानिसले उनलाई समात्छन् ।
समाचार एजेन्सीका अनुसार आक्रमणकारीको साथबाट एउटा पेस्तोल बरामद भएको छ । घटनालगत्तै सुरक्षाकर्मीले सुखवीर बादललाई घेरा हालेका थिए ।
अमृतसरका प्रहरी आयुक्त गुरप्रीत सिंह भुल्लरले सुखवीर सिंह बादलले सेवा गरिरहेका बेला आक्रमण गर्ने प्रयास भएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति नारायण सिंह हुन् ।
नारायण सिंह खालिस्तान आन्दोलनको समयमा सक्रिय थिए र खलिस्तान लिबरेशन फोर्स र अकाल फेडरेसनसँग सम्बद्ध रहेको बताइएको छ।
सोमबार अकाल तख्तले बादल र उनको मन्त्रीमण्डलका अधिकांश सदस्यलाई धार्मिक सजाय सुनाएको थियो ।
यस अन्तर्गत बादललाई स्वर्ण मन्दिरको ढोकामा भाला लिएर पहरा दिने सजाय दिइएको थियो ।
Facebook Comment