फिल्ममा गोविन्दा र चंकी पाण्डेले भन्दा धेरै पारिश्रमिक लिने बाँदर !
काठमाडौं । चंकी पाण्डे, गोविन्द र शक्ति कपूरले फिल्म आंखेमा बाँदरसँग काम गरेको रमाइलो अनुभव साझागरेका छन् । यस फिल्ममा गोविन्दा र चंकी पाण्डे दुवै दोहोरो भूमिकामा देखिएका थिए ।
त्यतिबेलाको अनुभव साझा गर्दै फिल्मको अभिनेताहरूले भने, ‘आँखे फिल्मको लागि सबैभन्दा धेरै पैसा कमाउने कुनै अभिनेता वा अभिनेत्री होइन, बाँदर थियो ।’
चंकी पाण्डे, गोविन्दा र शक्ति कपुर हालै द ग्रेट इन्डियन कपिल शोको हिस्सा बनेका छन् । कार्यक्रममा एक कुराकानीका क्रममा शक्ति कपूरले भने, ‘हामीले फिल्म आंखेमा सँगै काम गरेका थियौं जसमा दुई जना हिरो थिए । तर, वास्तविकतामा त्यो फिल्ममा तीन हिरोहरू थिए। गोविन्दा, चंकी र बाँदर।’
शक्ति कपूरको कुरा सुनेर हाँस्दै चंकी र गोविन्दाले भने, ‘हो, त्यो बाँदरले हामीभन्दा धेरै पैसा कमाएको छ ।’ शक्तिले बाँदरलाई मुम्बईको सन एन्ड स्यान्ड होटलमा कोठा दिइएको बताए । उनले ठट्टा गर्दै भने, ‘जब डेभिडले बाँदरलाई बोलाउँथे चंकी आउँथे । चंकीलाई बोलाउँदा बाँदर आइपुग्थ्यो ।’
यसअघि पनि चंकी पाण्डेले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा बाँदरको प्रसंग उल्लेख गरेका थिए । त्यतिबेला घटनालाई सेयर गर्दै चंकीले भनेका थिए, ‘मलाई भनिएको थियो कि तपाईं बाहेक फिल्ममा सबैजना दोहोरो भूमिकामा छन् । मैले यो ठीक होइन भनें । त्यसपछि मलाई बाँदर दिइयो, त्यो बाँदरलाई म र गोविन्दाभन्दा धेरै पैसा दिइयो।’
डेभिड धवनद्वारा निर्देशित यो फिल्म सन् १९९३ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मका निर्माता अनीस बज्मी थिए । फिल्ममा चंकी पाण्डे र गोविन्दाका अलावा रितु शिवपुरी, शिल्पा शिरोडकर र रागेश्वरी लुम्बाको पनि महत्वपूर्ण भूमिका छ ।
Facebook Comment