उपनिर्वाचनले कांग्रेसमा निम्त्यायो किचलो, देउवामाथि खनिए शेखर
काठमाडौं । मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले ४४ स्थानमध्ये १९ स्थानमा जित हासिल गर्यो। २०७९ को स्थानीय तह निर्वाचनमा २७ स्थानमा जितेको कांग्रेस उपनिर्वाचनमा ८ स्थान गुमाउन पुग्यो।
२०७९ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेस उपनिर्वाचनमा एक्लै चुनावी प्रतिस्पर्धामा थियो। एक्लै प्रतिस्पर्धा गर्दा पनि राम्रो नतिजा ल्याएको भन्दै कांग्रेस महामन्त्री विश्वप्रकास शर्माले विज्ञप्तिमार्फत नै खुसी व्यक्त गरेका थिए।
दुई जिल्लामा जिल्ला समन्वय प्रमुख, एक पालिका प्रमुख र १६ वडाध्यक्ष विजयी भए पनि कांग्रेसमा उपनिर्वाचनपछि असन्तुष्टि बढेको छ। असन्तुष्टि बढ्नुको कारण मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पराजित हुनु बन्न पुगेको छ।
ग्रामनाथमा संस्थापन पक्षले असहयोग गरेका कारण पराजित हुनुपरेको इतर पक्षको आरोप छ। मोरङ केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहको प्रभाव क्षेत्र मानिन्छ। सोही स्थानमा २०९७ मा जितेको पालिका प्रमुख उपनिर्वाचनमा गुमाउन पुग्दा कोइराला समूह रुष्ट बनेको हो। र, कोइराला पार्टी सभापतिमाथि खनिएका छन्।
विवाद कतिसम्म छताछुल्ल भएको छ भने मंगलबार कोइराला पक्षले विराटनगरको जैन भवनमा भेलाको आयोजना गरेको थियो। भेलालाई संस्थापन पक्षले बहिष्कार गरिदियो। पालिका सभापतिहरूको भेला भनिए पनि अवैध भन्दै संस्थापन पक्ष सहभागी भएन।
२२ गते विराटनगरमा प्रथम कोशी प्रदेश सम्मेलन हुँदै छ। कांग्रेस कोशी प्रदेश समितिले त्यस यता पार्टीको कुनै पनि आधिकारिक कार्यक्रम नभएको जनाएको छ।
तर, कोइराला समूहले मंगलबारको पालिका सभापति बेलामा प्रदेशभरका पालिका सभापति आएको दाबी गरेको छ। १३७ मध्ये ११३ पालिकाका सभापति कार्यक्रममा सहभागी भएको कोइराला समूहले जनाएको छ।
प्रदेश समितिसँग सल्लाह नगरी भेला राखिएको भन्दै नेपाली कांग्रेस केन्द्रले सोमबार विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेभन्दा अगाडि कोशी प्रदेशमा नेपाली कांग्रेसको कुनै कार्यक्रम नभएको जनाएको छ।
सभापति देउवा पक्षले पार्टीको आधिकारिक भेला असफल पार्न कोइराला समूह सक्रिय रहेको आरोप लगाएको छ। १५औं महाधिवेशनको तयारी स्वरुप कोइराला समूहले पार्टी गतिविधिविरुद्ध काम गरिरहेको आरोप संस्थापन पक्षको छ।
मंगलबारको भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र कुनै गुट उपगुट नभनी पार्टीलाई सही गन्तव्यमा पुर्याउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका थिए।
पालिका सभापतिहरुलाई अधिकार दिएर संगठन बलियो बनाउने कार्यमा आफू लाग्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए। ‘पालिका सभापतिहरूको संरक्षणमा म प्रतिवद्ध छु। कुनै किसिमको डर, धाक, धम्कीबाट नआत्तिनुहोला। तपाईंहरू निष्फिक्री भएर घर जानुस्। तपाईंहरूको संरक्षण म गर्छु,’ उनले भने।
यो कार्यक्रम धेरै पहिले नै टुंगो लगाएकाले विवाद गर्नुपर्ने विषय नरहेको उनको प्रस्टोक्ति थियो।
फरक प्रसंगमा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका थिए। कांग्रेस-एमालेबीच मुलुकमा पारदर्शी, सुशासन, संविधान संसोधन र आर्थिक वृद्धिका लागि सरकार निर्माण भएको उनको भनाइ थियो।
उनले वर्तमान सरकारलाई असफलको छुट नभएको बताएका थिए। ‘सरकारप्रति जनताको ठूलो आशा एवं विश्वास छ,’ उनले भनेका थिए।
यस्तै कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले वडादेखि केन्द्रसम्म पार्टीले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक बहस र छलफल गर्नुपर्ने सुझाव दिए। उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई सडकमा नल्याउन सबैसँग आग्रह गरेका थिए।
कार्यक्रममा केन्द्रीय सदस्य किरण यादव, सरिता प्रसाई, रुक्मणि कोइराला र डा चन्द्रमोहन यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले लोकतन्त्रलाई संस्थागत गर्न, पार्टी संगठनलाई बलियो बनाउन जनताको घेरदैलोमा जान कार्यकर्तालाई आग्रह गरे।
Facebook Comment