नियात्रा : अन्नपूर्णको आँगनदेखि तातोपानीको कुण्डसम्म
पोखराबाट नयाँपुल, बिरेठाँटी हुँदै झिनो पुग्दा बिहानको एघार बजेको थियो। झिनोमा देखिएका गाडीका ताँतीहरुले अन्नपूर्ण पदमार्ग यात्रुहरुले भरिएको छ भन्ने दर्शाएको थियो। लामो झोलुङ्गे पुल तरेर उक्लन शुरु गरेपछि ढुंगाका आकर्षक सिँढीमा यात्रुहरुको बाक्लो आवत जावतले उक्त पदमार्गको महत्वलाई झनै बढाइदियो।
करिब एघार बजे दिनको समयमा दायाँ बायाँ उभिएका होटल एवं अतिथीगृहका पेटीमा ढपक्क फुलेका फूलहरुको मनमोहक दृष्यले स्याँ स्याँ गर्दै ठाडो सिँढीमा उक्लिँदा समेत उत्साहमा कमी आउन दिएन।
करिब एकघन्टाको ठाडो उकालो यात्राले असिन पसिन भएको शरीर विस्तारै वनजंगलको मीठो वासना, पानीका खोल्साहरुको कलकल र चराचुरुगीको चिरबिरले सजिएको केहीसम्म, केही तेर्साे, केही ठाडो, केही ओरालो अवस्थितिको मार्गको यात्राले लयमा फर्काइदियो।
क्रमशः पदमार्ग साँघुरो हुँदै वन जंगल, खोल्साहरु, केही उकाली, केही ओरालीका बीचमा भेटिएका फर्कने स्वदेशी एवं विदेशी यात्रुहरुसँगको साटिएको मिठो मुस्कान, नमस्तेको अभिवादन र कहाँबाट आउनु भयो? वा कहाँ सम्म हिँडनु हुन्छ? वा अब फलानो ठाउँमा पुग्न कति बेर लाग्ला? जस्ता सवालहरुको उत्तरले एक आपसमा आत्मीयता बढाउने रहेछ।
साँघुरो मार्गको ओरालोमा हिँडदै गर्दा आफूले उक्ली रहेका अरुहरुलाई बाटो छोडिदिने र आफूले पनि त्यसैगरी अरुबाट बाटो पाउँदाको केही पलहरुले अनजानका बीचमा पनि स्वतः आत्मीयताको बिजारोपण त्यही पदयात्राले गर्ने रहेछ।
करिब दूई बजे करिब २,१७७ मिटर उचाईको चोम्रोङ पुगेपछि बाटैको छेवैमा रहेको इन्टरनेशनल होटलमा खाना खाँदै सोही होटलका संचालकको सहयोगमा माथिल्लो सिनुवामा साँझको लागि वासको यकिन गरियो। तत्पश्चात पुनः शूरु भएको यात्रा ओरालो सतहमा रहेको ढुंगाको सिँढी, सिँढीलाई घोडा र खच्चडको मलले बुट्टा भरेको, र पानी परिरहेकोले चिप्लीइन्छ कि भनी धैर्य पूर्वक ओर्लँदा अन्य आवत जावत गर्ने यात्रुहरु र घोडा खच्चडहरु पनि सँगै थिए।
घान्द्रुक गाउँको एक भाग पर्ने उक्त स्थानको मार्गका दायाँ बायाँ केही आकर्षक ढुंगाका घरहरु, ढुंगेधारो, बौद्ध चैत्य र बाटोको बीचमा दिवंगत पितृहरुको नाममा स्थानीयहरुबाट बनाइएको स-सानो स्मारकहरु थिए। चोम्रोङ्गमा एकहजार सिँढीहरु रहेको भनिदो रहेछ।
करिब आधा घन्टा लगातार ओर्ले पछि स्याबले नामक खोलामा रहेको कादुरी झोलुंगे पुल पार गरे पश्चात उकालो शुरु भयो। घरी पानी रोकिने र घरी पर्ने भइरहेको र पसिनाले बाहिरी शरिर भिजाई रहेको थियो।
उस्तै उकाली, उस्तै ओराली, स-साना खोल्साहरु, त्यसमाथि बनेका कुनै काठका, कुनै फलामका साँघुहरु, बन जंगल, दुई ठूला पहाडको बीचमा लामो गल्छीको रुपमा रहेको भौगोलिक स्वरुप, एकातर्फ खोलाको गडगडाहाट, जाँदै गरेका वा फर्कँदै गरेका यात्रुहरु सबैलाई साक्षी राख्दै यात्राको भाकामा डुब्दै भइरहेको अनवरत हिँडाईले करिब पाँचबजे पु¥यायो माथिल्लो सिनुवा।
अगाडिनै तय भइसकेको हिलटप लज एण्ड रेस्टुरेन्ट बाटैमा रहेछ। अगाडि पुग्ने साथिहरुले कोठाको तारतम्य मिलाई सक्नु भएको थियो। भिजेको रेनकोट र छातालाई बाहिर बरण्डामा राखेर कोठामा झोला बिसाई डंग्रङ्ग पल्टीनु पनि यात्राको मिठास रहेछ।
यात्राको पहिलो दिन अर्थात मिति २०८१ कार्तिक १९ सोमबार काठमाडौंबाट पोखरा हुँदै पुगिएको २,३४० मिटर उचाईको अपर सिनुवामा रातभरी परेको पानीले कोठाभित्र समेत चिसो बनाएको थियो।
भोलिपल्ट विहान निद्रा खुलेपछि कोठा बाहिर निस्केर त हेर्दा हामी जाने दिशा तर्फ दुई पहाडको विचमा रहेको गल्छीको माथिल्लो भेगमा सेतो हिमाल हाँस्दै हामीलाई स्वागत गरिरहेको थियो।
त्यस दिन देउरालीमा बस्ने भएकोले वासथनका यकिन गर्न त्यहीका संचालकले फोनमा कसै सँग कुरा गर्दा देउरालीका सबै होटलहरु भरिभराउ छ, सुत्ने ठाउँ समेत छैन भन्ने सन्देशले एकछिन त रनभुल्ल बनायो।केही बेरको अनुरोध पछि अन्डरग्राउण्ड कोठा उपलब्ध हुने भनेपछि हामी दंग थियौं।
साँझ खाना खाएको, राति सुतेको र विहानको खाजा गरि निश्चित रकम तोकिएको रहेछ अर्थात प्याकेजमा पर्ने रहेछ। लगभग सवा सात बजे विहानबाट दोस्रो दिनको यात्राका शुरुवात गरियो।
दायाँ बायाँ पहाडको बीचमा एकातर्फ मोदी खोलाको कलकल, रुखपात, झाडी बुट्यान, स-साना झरनाहरु, ठूला ठूला र आकर्षक पत्थर युक्त पश्चिम तर्फरहेको पहाडबाट मोदी खोलामा मिसिन झरिरहेका खोलाहरु र सो मा रहेका काठे र फलामे साँघु, प्रशस्त हरियाली, बाँस तथा निगालाका घारीहरु, गुराँसका रुखहरु, उकाली र ओरालीमा आंशिक रुपमा बनाइएका ढुंगाका सिँढीहरुसँग अन्तरंग सम्बाद गर्दै, फोटोहरु खिज्दै, भेटिएका यात्रुहरुसँग गफिँदै, ठाउँ ठाउँमा केहीपलका लागि आराम गर्दै यात्रालाई पुरै रसमय बनाइयो।
अधिकांश भाग बाँसका झाङ र निगालाका झाडीहरु, गुँरास तथा कटुसका बोटहरु तथा बाँकी रहेका भागहरु बुट्टयान एवं अन्य वनस्पतिका झाडीहरुले सुसज्ज्ति करिब २,३५० मिटर उचाईको ब्याम्बो क्षेत्रको आकर्षणले यात्रामा मनमोहकता थपेको थियो।
त्यस्तै पानीका खोल्साहरु, झरनाहरु, एक आपसमा मिलेको करिब २,६०० मिटरमा अवस्थित दोभानले उक्त क्षेत्रलाई प्रकृतिक रुपमा सारै धनी बनाएको भान भयो। कन्चन पानी बग्ने खोलाको स्वच्छताले वातावरणमा अनुपम मिठास बाँडिरहेको थियो।
हिँडदै जाँदा घना रुख, निगालाका झाङहरु, झाडी एवं बुट्टयानहरुले ढपक्क ढाकी गुजमुज्ज रहेको, बाटोको बीचमा मन्दिर, वरिपरी घुम्ने ठाउँ, भुईँमा चौडा ढुगा छापेको, फलामका बारले घेरेको र पूर्वतर्फ गहिरोमा मोदी खोला बगिरहेको, खोलालाई चुम्न चलचित्रमा कोरिएझैं हरियो पहाडी भित्ता खण्ड खण्डमा पुरै सफा पानीले ढाकेर चट्टानका विभिन्न बान्कीबाट पानी झर्दा देखिएको स्वर्णिम दृश्य संँगको साक्षात्कार अविस्मरणीय थियो।
लगत्तै उक्लन पर्ने ठाडो भिरमा रहेको सिँढी प्रकारको गोरेटो पनि यात्राको रोमाञ्चकताको पर्याय थियो। करिब एक घन्टाको स्याँ स्याँ र फ्याँ फ्याँ पछि करिब २९०० मिटरको हिमालयमा पुगी चिया खाए पश्चातको असिम आनन्दले अन्नपूर्ण पदयात्रा मार्गको एक पहिचान रहेछ।
देउरालिमा पुगेपछि त्यस दिनको यात्रालाई बिट मार्ने योजनालाई फत्ते गर्न बाटोको मुखैमा रहेको ड्रिम लजमा दोस्रो दिनको साँझ बास बसियो। बसाईको लागि अण्डरग्राउण्डको कोठा उपलब्ध हुनेछ भन्ने पहिल्यै तय भएकोले सबै जनाले कोठाको बीचमा लहरै राखिएका खाटहरुमा आ-आफ्नो झोला बिसायौं।
पानी पर्न रोकिएको भएपनि जाडो भएकोले बस्दा लगाउने लुगा तथा जाडो छल्न मोजा, टोपी आदि भिरी खाना खाने डाईनिङ हलतिर लागियो। बीचमा लामो टेबल र दायाँ बायाँ लहरै बस्न मिल्ने बेन्चहरु स्वदेशी तथा विदेशी यात्रुहरुले लगभग भरिएको थियो।
हामी पनि त्यही हुलमा मिसिन पुग्यौं। तातो पानी मगाई आफैंसँग रहेको कफी पिउँदै जिउ तताउन थालियो। त्यहाँ भन्दा माथि मोबाइल चार्ज गर्न पाइँदैन भन्ने सुनेका हामी र त्यहाँ रहेका अन्य सबैले मोबाइल र पावर बैंक चार्जगर्न तम्सीँदा चार्जका लागि उपलब्ध बिजुलीका प्वालहरु सबै भरिभराउ थिए।
पटक पटक कसैको चार्ज पूरा भयो कि भनी नजर लगाई रहँदा चार्ज पुरा हुनेले थुत्दा पालो कुरेर मौका हात पार्नु पर्दथ्यो। कुनै समूह खाई रहेका, कुनै समूह गफ गरिरहेका र कुनै समूह रमाइलोका लागि तास खेलिरेहेकामा हामी समेत गफ गर्दे बिना पैसाको तासमा ख्याल ख्यालको हारजितमा रमायौं।
खाना खाए पश्चात संचालकले त्यसहलमा रहेका हामी लगायत सबैलाई बाँकी रहेका यात्रुहरुलाई समेत खाना खुवाउने टेवल त्यही भएकोले आ-आफ्नो कोठामा गइदिन गर्नुभएको अनुरोध स्वीकार गरी थर्मसमा तातोपानी लिई कोठामा जाँदा करिब साँझको आठ बज्ने तरखरमा समेत कयौं यात्रुहरु खाना खान कुरीरहेको देखियो।
सोधपुछ गर्दा त लगभग पचास साठी जनाको क्षमता रहेको त्यस विश्रामगृहमा लगभग नब्बे जना जतिलाई बास बस्न र खानको व्यवस्था गर्नुपर्ने कुरा संचालकबाट थाहा पाइयो। रातको आठ बज्ने बेलामा समेत केही यात्रुहरु त्यहाँ बस्न नपाए त्यहाँभन्दा माथि लगभग दुई घन्टा हिँडेर पनि माच्छापुच्छ्रे बेस क्याम्प पुग्न तयार भएको पाइयो।
दशकौंदेखि विश्व प्रख्यात उक्त पदमार्गमा सिजनमा यसरी भिड हुँदा खाना, बस्ने स्थान, शौचालय आदिमा सम्झौता गर्नुपर्ने यथार्थ अझै पनि रहेको देखिँदा यस प्रकारका सुविधाहरुमा क्षमता र स्तरीयता सुदृढीकरणमा सरकारलेनै ध्यान दिनुपर्ने आवश्यकता देखिन्थ्यो।
तेस्रो दिन विहान सातबजे देउरालीको आतिथ्यतालाई धन्यवाद दिँदै शुरु गरियो माछापुच्छ्रे आधार शिविर अर्थात एमविसि तर्फ। एकातिर गडगडाहाटका साथ तलतिर झरिरहेको मोदी खोला, सो सँगै जोडिएको पहाडको माथिल्लो पट्टी हिउँ जमेर सेताम्मे देखिन्थ्यो भने देब्रे तर्फरहेको ठुलो पहाडका कैयन थुम्कोबाट पानीको मुहान झरनाको रुपमा तल झरिरहेको।
प्राकृतिक सौन्दर्यको यो साक्षात्कारनै यात्राको सुन्दर पक्ष हो। क्रमशः बढदै गएको उचाई, विहानको समय, दुई भिरको विचमा स–साना रुखपात, दायाँ तर्फको कानै खाने गरी गडगडाहाटका साथ तिव गतिमा बगेको खोला, देब्रेपट्टीको पहाडबाट झरिरहेका स-साना खोल्साहरुका विचमा हिँडदा शुरुमा चिसो महशुस भएपनि हिँडाईको कारणले जिउ तत्दै पसिना बग्न थालेको थियो।
करिब डेढ घन्टाको हिँडाईपछि करिब ३७०० मिटर उचाईमा अवस्थित माछापुच्छ्रे हिमालको आधार शिविर (एमबीसी) पुगेपछि केही बेर यात्रालाई विश्राम दिने सुर कसियो र गुरुङ होटलको आगँनमा पुगि झोला बिसाइयो। पारिलो घाम लागेको र हाम्रो ठिक्क अगाडि पोखरातर्फ अनुहार पारेर ढिंग उभिएर बसेको माछापुच्छ्रेको ढाड र मार्दी हिमालको पछिल्लो तर्फको केही अंश देखिएको थियो।
भौगोलिक कारणले हो वा अन्य कारणले माच्छापुच्छ्रे को गर्धन तिरको चट्टाने पत्र मात्र देखिएपनि समग्र चुचुरो माछापुच्छ्रे हिमालनै भएकोले धेरै बेर एकटकले हेरेर सौन्दर्य पान गरिरह्यौं।
यति नजिक माछापुच्छ्रे यति नजिक लाग्थ्यो कि त्यहाँबाट खुर्र दौडिएर उक्लिएमा त्यसको टुप्पाोमा पुग्न र त्यहीँबाट अलिक लामो हात तन्काएमा हातैले छुन सकिन्छ। पारिलो घाम र अगाडि माछापुच्छ्रे्को साक्षात दर्शन, भोक लागेको पेटमा पाइएको तातो चिया र चनाको सातुको आनन्दले करिब एकघन्टा वितेको त पत्तै भएन।
चारै तिर ठूला ठूला पहाड, पहाडको टुप्पोमा रहेको हिमाल, अन्नपूर्ण बेशक्याम्पबाट आएको पानीले बनाएको खोला, खोलामा रहेका सानोदेखि ठुला आकारका ढुंगाहरु, गोरेटो बाटोको दायाँ बायाँ रहेका शिलाहरु, माटो र स-साना ढुँगाको सम्श्रिणको बाटो हुँदै ठुलो आकारको ढुँगा दायाँ बायाँ ठडिएर ढोकाको स्वरुपको संरचनाको बीचबाट उक्लँदै गर्दा आउने जाने पदयात्रुको सामिप्यताका बीच साक्षात्कार हुन पुगेको सानो सिमसारमा जमेको सफा पानीमा वरपर रहेका हिमालका प्रतिविम्ब अद्वितीय थियो।
पूर्व दक्षिणतीरको आधार शिविर देखिन थालेको स्थानबाट करिब एक घन्टाको यात्रामा अन्ततः पदयात्रा क्षेत्रमा विश्वमै प्रसिद्ध ४,१३० मिटरको उचाईमा रहेको अन्नपूर्ण आधार शिविर आइपुग्यो। अंग्रेजी भाषामा “नमस्ते, अन्नपूर्ण आधार शिविरमा सबै स्वदेशी तथा विदेशी यात्रुहरुलाई हार्दिक स्वागत” लेखिएको बोर्डको ठिक पछाडी विशाल अन्नपूर्ण हिमश्रृंखला ठडिइरहेको थियो।
अस्ताउँदो सुर्यले माछापुच्छ्रे मा पोतेको लालीको सौन्दर्यकासाथ आँखा अगाडि टल्किरहने सेतो अन्नपूर्ण हिम श्रृंखलाका हिमालसँगको समिप्यताको स्वर्णीम अनुभव गर्दै सँगैको अन्नपूर्ण गेष्ट हाउस मा त्यस रात बिताइयो। उचाईको त्यस स्थानबाट उज्यालोमा देखिने निलो आकास र रातमा ताराले ढपक्क ढाकेको आकासको अवलोकन समेत त्यस स्थानको अर्काे थप विशेषता महशुस भयो।
विहान उठने बित्तीकै हिमाल देख्न पाइयोस भनी बिताइएको रात पछिको विहान कोठाबाट बाहिर निस्कँदा त साँझ भन्दा सफा र सेतो हिमालले वरिपरिबाट हामीलाई घेरिरहेको थियो। “विहान भएपछि हिमालले समेत आफ्नो मुख धोई पखाली गरी आफूलाई आकर्षक बनाएको त होइन? मनमनै उठेको सबाल।
विश्राम गृहका कोठाबाट निस्केका हामी जस्तै अन्य सयौं पदयात्रुहरु स्वच्छ हिमाली हावामा घामको कलिलो लाली हिम चुचुरोमा पर्ने पललाई क्यामरामा कैद गर्न लालायीत देखिन्थे।
वरिपरि अन्नपूर्ण हिमश्रृंखलाका अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम, हिमचुली, गन्धर्व हिमाल र माच्छापुच्छ्र्रे लगायत हिउँले भरिएको पहाडले घेरिएको क्षणको साक्षी हुन पाउने सौभाग्यको लागि अन्नपूर्ण बेश क्याम्पनै सहयोगी रहेछ। घामको पहिलो किरणले अन्नपूर्ण प्रथम र अन्नपूर्ण साउथको चुचुरोलाई ढाक्दा देखिएको लालिमय दृश्य आफैंमा अनुपम हिमाली सुन्दरता थियो।
चिसो परिवेश, भौगोलिक कठिनता, खाने तथा बस्ने सुविधा सीमित भएपनि इन्टरनेटको उपलब्धताले क्षणभरमै त्यस पलको सौन्दर्य विश्वमाझ प्रवाहगर्न सकिँदा भने संचार प्रविधिको आधुनिक विकासले प्रकृतिको सौन्दर्यलाई उजागर गर्न सहयोगी हुने रहेछ।
केही दशक अगाडि अन्नपूर्ण साउथको काखबाट बगेर आएको हिम पहिरोले हिमनदी विस्फोट हुने भवितव्यबाट तल्लो सतहको माटो र ढुँगाहरु बगाई बनेको गहिरो खोँचले भने त्यस आकर्षक स्थानलाई चुनौती दिएको देखिन्थ्यो।
खोँचको डिलमा बसेर तलतिर हेर्दा साँच्चै आङ सिरिङ्ग भएको र कुनै दिन सोही प्रकृतिको भवितव्य घटेमा आज हामी उभिएर रमाएको स्थान पहिरोको चपेटामा पर्न सक्ने जोखिम पनि अनुभुत गर्दै उक्त स्थानलाई बाइबाई गर्दै फर्कन थाल्यौं। करिब सात बजे तिर फर्कने क्रममा पुनः अन्नपूर्ण बेश क्याम्पमा तपाईंलाई स्वागत छ भनी लेखिएको स्थानमा सामुहिक फोटो खिचेर त्यसै दिन चाम्रोङ पुग्ने लक्ष्यसहित अन्नपूर्ण बेश क्याम्पबाट एमविसि तर्फ ओर्लन थाल्यौं।
हिजो अस्ति हिँडेको उही मार्गलाई धितमर्ने गरि साक्षात्कार गर्दै ठाउँ ठाउँमा विश्राम गर्दै देउराली, हिमालय, दोभान, ब्याम्बो, अपर सिनुवा, सिनुवा हुँदै करिब साँझको पाँच बजे पुनः आइपुगियो घान्द्रु्क गाउँ अन्तर्गत चोम्रोङमा रहेको विश्राम गृहमा।
खाना खाने कार्य, यात्राको समीक्षा र झिनु तातोपानी मुहानमा गई नुहाउने योजना तय गरी खाटमा पल्टँदा करिब रातको नौ बजेको थियो। भोलिपल्ट विहान करिब डेढ घन्टा हिँडेपछि पुगियो झिनु डाँडा।
करिब १५-२० मिनट ओरालो हिँडेपछि मोदी खोलाको किनारामा अवस्थित प्राकृतिक तातोपानीको मुहान पुगियो। पाँचौ दिन अर्थात २०८१ कार्तिक २३ शुक्रबार चार दिन लगातार हिँडेर थाकेको शरीर करिब एक घन्टा तातो पानीको कुण्डमा डुबुल्की मारे पश्चात पुर्नताजगी हुँदा अन्नपूर्ण पदमार्ग र अन्नपूर्ण बेशक्याम्पको यात्रा पूर्ण भएको महशुस गरियो।
समुहका हामी सबै ६ जानाको जोश, जाँगर, अनुभव, सामुहिक सल्लाह र निर्णय एवं आपसि सहृदयतालेनै यात्रा सफल र अविस्मरणीय बनाएको हुँदा श्री सुनिल पोखरेल, श्री कालीप्रसाद रोयसारा, डा.श्री पदमराज पन्त, डा.श्री प्रेम बसेल र डा.श्री उमेश खनाल प्रति आभार प्रकट गर्न चाहँे।
Facebook Comment