इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन
काठमाडौं। इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिए।
उनका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो। विसं १९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उनी जन्मिएका हुन्।
तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उनले पाल्पा दरबारमै अध्ययन गरी युपी बोर्डबाट एसएलसी उत्तीर्ण गरेका थिए। उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीस्थित जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गरेका उनी बनारस हिन्दू विश्वविद्यालयमा विकम पढ्ने क्रममा क्रान्तिमा लागेका थिए।
उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, लुकेछिपेका प्रतिभाहरु, मेरा जीवनका स्मृतिहरुलगायतका पुस्तक लेखेका छन्। उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन्।
Facebook Comment