मुटु नै हल्लाउने एउटा संदिग्ध हत्या !
मनिसमा माया, दया , प्रेम , सहानुभूति र परोपकारको भावना दिनहुँ घटिरहेको , मानिस हिंस्रक जंगली जनावरभन्दा पनि क्रूर, निर्दयी भएर गइरहेको कुरा विगतका केही घटनाहरुले पुष्टि गर्दैछन्।
स्वभावैले मानिस त दयालु, प्रेमिल हुनुपर्ने हो तर आज ऊ किन मानवताको बाटो छाडेर दानवीकरण हुँदै गएको छ भन्ने कुरामा धेरैको मगज तताइरहेको छ। निर्दोष बालिकाहरुमाथि बलात्कार र हत्या, हिंसा, घरेलु हिंसा आदि वर्तमानका जटिल कुराहरुले समाजका लब्धप्रतिष्ठितदेखि शिक्षक, प्राध्यापक, मनोवैज्ञानिक आदि ले गम्भीरतापूर्वक सोच र चिन्तन गर्ने बेला भएको छ।
दिनप्रतिदिन बढ्दै गएका सामग्रीको उपभोक्तावादी संस्कार र संस्कृतिले पो मानिसलाई क्रूरताका बाटामा लाँदैछ कि भनेर पनि चिन्तन गर्न आवश्यक छ। यसका लागि हाम्रा पाठ्यक्रम, पाठ्यपुस्तकमा समयसापेक्ष परिवर्तन गरेर उनीहरुलाई गर्नुपर्ने शिक्षण सिकाइमा पो फेरबदल ल्याउन पर्दछ कि? यस विषयमा पनि गम्भीर हुनपर्ने खाँचो देखिएको छ। नेपालमा निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाको खाटो उक्किन नपाउँदै भर्जिनियाँमा एक महिलाको हत्याको घटनाले मानिसको मगज हल्लइदिएको आभाष हुँदैछ।
भर्जिनियाँबाट ममता काफ्ले नामकी एक नेपाली युवती विगत एक महिनादेखि हराइरहेको समाचार बाहिर आउँछ। श्रीमान र एकवर्षकी छोरीलाई घरैमा ममता बेपत्ता भएको समाचारले भर्जिनियाँको नेपाली समाज चिन्तित हुन्छ।
त्यस क्षेत्रका नेपालीहरुले ममतालाई बेपत्ता पार्नमा उनकै श्रीमान नरेश भट्टको हात हुनसक्ने आशंकाले उनको घर घेरेको , पत्रकारहरु गएर नरेश भट्टसित अन्तर्वाता गरिरहेका दृश्य सामाजिक सञ्जालमा जताततै फैलिनथालछ।
ममता एउटा अस्पतालकी नर्सको काम गर्थिन भने पति नरेश आर्मीको जागिर ह्वाइट हाउसमा काम गर्न थालेका हुन्छन्।
पत्रकारहरुले नरेशलाई घरमै गएर ममता बेपत्ता हुनुको कारणबारे विविध प्रश्न गर्छन्, नरेश अकमकाउँछ , जवाफदिन अकमकाएका कारणबाट गम्भीर शंका पैदा हुन्छ। नरेशको हाउभाउ बोलीवचन र शारीरिक भाषाले बताउँथ्यो दालमा केही कालो अवश्य छ।
मेरा छेउमा बसेकी पत्नी सपनाले भनिन् ममता काफ्ले आफ्नी एकवर्षकी दूधमुखे छोरी चटक्कै छाडेर आफैं त कहाँ हिंडिन् होला र? उनका कुराले मेरा मनमा पनि मगजमा एउटा प्रश्नवाचक चिन्ह खडा भयो।
रहस्यमय किसिमबाट ममता बेपत्ता भएको ठहर भर्जिनियाँको नेपाली समाजले गर्यो। ममता बेपत्ता हुनमा उसको पति नरेशको हात हुन सक्ने भनेर उनलाई पक्राउ गरेर अनुसन्धान गरियोस् भनी भर्जिनियाँको नेपाली समाजले स्थानिय प्रहरीमा कडा दबाव दियो।
नेपाली समाजको चर्को दवावलाई थेग्न नसकेर नरेश भट्टलाई प्रहरीले उसका घरबाट गिरफ्तार गर्यो। ऊ गिरफ्तार भएपछि एकपछि अर्को गर्दै रहस्यमय कुरा आउन थाले।
प्रहरी अनुसन्धानबाट नरेशले आफ्नो टेस्ला कार बिक्री गरिसकेको रहेछ , उसले आफ्नो घर विक्रीमा राखेको रहेछ , आफ्नो र छोरीको पासपोर्ट सहित ब्यगहरु प्याक गरी हिँड्ने तरखर उसले गरेको रहेछ। यी कुराबाट प्रहरीले ममताको लास बेपत्ता पार्न नरेशको हात हुनसक्ने भनेर प्रहरीले अभियोगपत्र अदालतमा दर्ता गराएको देखिन्छ।
यसैबीच ममताका साथीहरुबाट उसको श्रीमान् नरेशले घरेलु हिंसा लामो समयदेखि गरेको कुरा सामाजिक सञ्जालमार्फत छरपष्ट भएपछि सुन्ने मानिसहरुको मुटु नै काम्छ।
भान्साको काम धन्दा सकेर सोफामा मोबाइलमा घोल्तिरहेकी मेरी पत्नीले भनिन् अचेल त कसले कहिले गुगलमा के सर्च गरेको थियो भन्ने पनि पो देखिंदो रहेछ।
“कसले के सर्च गरेको रहेछ?” मेरो प्रश्नको जवाफमा सपनाले भनिन् “ त्यो नरेशले पति वा पत्नीको मृत्युभयो भने कतिसमयपछि विवाह गर्न पाइन्छ? भनेर ममता बेपत्ता हुनुभन्दा तीन महिना पहिले नै गुगल सर्च गरेको रहेछ।”उनका कुरा सुनेर मैले आश्चर्य चकित भएर भने “ए हो र?”
सपनाले फेरि भनिन् “त्यतिमात्रै कहाँ हो र, त्यसले त दम्पतिका नाममा भएको घरको एकजनाको मृत्यु भएमा ऋण के हुन्छ? भनेर पनि गुगल मै सर्च गरेको रहेछ। यो कुरा प्रहरी अनुसन्धानबाट बाहिर आएको हो।”
मैले उनका कुरामा आश्चर्य व्यक्त गरें।
“होइन , मानिस कसरी त्यति क्रूर हुनसक्छ?” मानिस त स्वभावैले दया, प्रेम, सेवा, सहानुभूति, परोपकार, सहनशीलता भएको हुनुपर्ने होइन? मानिसलाई के कुराले त्यस्तो अपराध कर्ममा अग्रसर बनाउँछ? मेरा मनमा गम्भीर प्रश्न खडा भयो।
मेरी पत्नी ममता र नरेशको घटनाका पछि लागिरहेकी थिइन्। म भने ल्यापटपमा औंला नचाइरहेको थिएँ। सपनाले फेरि थपिन् “ ए बुढा , त्यस नरेश भट्टले त ममता बेपत्ता हुनुभन्दा निकै पहिले भर्जिनियाँकै एउटा वालमार्टमा गएर तीनओटा चक्कू , फोहोर फाल्ने ठूलाठूला आकारका ब्याग र सफा गर्ने केमिकलका ग्यालेन पनि किनेर ल्याएको प्रमाण प्रहरीले फेला पारेछ नि।”
प्रहरीले त्यस घरभित्रै ममताको हत्या गरेर उनको लाशलाई बाथरुमतर्फ घिसारेर लगेको हुनसक्ने शंका गरेको छ। त्यस घरभित्र बाथरुम र कार्पेटमा रगतका टाटाहरु फेला परेको भएपनि त्यसको डिएनएको रिपोर्ट नआई केही भन्न नसकिएको प्रहरीले जनाउ दिएको छ। कार्पेट लगायत जताततै लागेको रगत केमिकलले पुछेर सफा पार्न खोजिएको प्रहरी अनुसन्धानका कुरा पनि सामाजिक सञ्जालमा छरपस्ट भएका रहेछन्।
महाकाली अञ्चलका नरेश भट्ट र काभ्रेकी ममता काफ्लेको उमेरमा झण्डै दशवर्ष फरक रहेछ। सुदूरपश्चिम र बाग्मती प्रदेशका चालचलन, संस्कार र संस्कृतिमा ठूलो अन्तर भएपनि अमेरिका मोहको कारण ममताले प्रेम विवाह गरेकी हुनसक्ने धेरैले अडकल गरेका छन्, सुदूर पश्चिमतिर छाउपडीका प्रथा आजपनि कतिपय ठाउँमा कायम छ, महिनावारी भएका अवस्थामा महिलाहरुलाई अलग्गै राख्ने, अछूत व्यवहार गर्ने प्रचलनको अवशेष आजपनि विद्यमान छ भने काठमाडौं र पूर्वका कतिपय ठाउँमा यसलाई खासै महत्व नदिइने गरिएको पाइन्छ ।
भट्ट अमेरिकी सैनिक भएर विवाह गरेपछि उनले आफ्नी विवाहिता पत्नीलाई आफ्नै डिपेन्डेन्टमा अमेरिका ल्याएका थिए। ममता एक अस्पतालमा नर्सको काम गर्न थालिन्। ममताको तलब राम्रो थियो। उनका लोग्नेले उनलाई तँ मेरो डिपेन्डेन्टमा अमेरिका आउन पाएकी होस् तेरो त खाडीमा कामगर्न जाने औकात पनि छैन। त्यसैले तैले कमाएजति पैसा सबै मेरा खातामा हाल। भनेर धम्काउने गरेको, कुट्ने र पिट्ने गरेको कुरा ममताका सहकर्मीहरुले सामाजिक सञ्जालमार्फत प्रवाह गरेका छन्।
नरेश भट्ट चारित्रिकरुपमा दुर्वल देखिन्छन्। राम्री राम्री नर्सहरु खोजीखोजी फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउने नरेशको बानी भएको पनि सामाजिक सञ्जालबाट प्रसारण भएको पाइन्छ। उसको अर्की एकजना नेपाली नर्ससित निकै हिमचिम बढेको कुरामा पनि अनुसन्धानमा खटिएका प्रहरीले शंका गरेको छ। त्यही सम्भावित प्रेमिकाले नरेशलाई चोख्याउने हेतुले नरेश र ममताका विविध फोटा र टिकटकहरु फेसबुकमा शुल्क तिरेर पोस्ट गरिरहेकी हो भन्ने पनि आशंका गरिएको छ।
नरेश भट्टले प्रहरीलाई आफूले केही नबताएर जे बोल्नु छ मेरो वकील बोल्ने छ, म केही पनि बोल्दिन भनेको पाइन्छ। अमेरिकी प्रहरीले पनि अभियुक्त नरेशलाई बोल्नका लगि दबाव दिन त्यहाँको कानुन अनुसार नसकेको देखिन्छ।
प्रहरीले त्यस अभियुक्तलाई अदालतमा पेस गर्दा अदालत नेपाली समाजका मानिसहरुबाट भरिभराउ हुँदा अदालती क्रियाकलापलाई अवरोध हुनु स्वभाविकै हो, अदालतमा मानिसहरुको बाक्लो उपस्थितिले त्यसबेला त्यहाँका न्यायधीशले सबै नेपालीलाई अदालतबाट बाहिर निस्कन आदेश दिएछन्। नरेशलाई भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। साथै उसको अदालतमा हुने बहस पैरबीलाईसमेत गोप्य राखिने अदालतले जनाएको छ।
भर्जिनियाँस्थित मनसार प्रहरीले नरेशले ममता हराएको धेरै दिन बित्दा पनि प्रहरीमा उजुरी नदिनु , वालमार्टबाट उसले तीनवटा चक्कू किनेको सिसी टिभी फुटेजमा देखिएपनि घरमा एउटामात्र चक्कु फेला पर्नु दुई थान चक्कू हराउनु, चक्कू किनेको भोलिपल्ट नरेशले अर्को पसलबाट फोहोर फ्याँक्ने ठूला झोला र केही केमिकलका ग्यालेन किनेको, फोरेन सिक जाँचगर्दा नरेशको बेडरुम देखि बाथरुमसम्म रगतका टाटाहरु देखिनु, बाथटब उचालेर हेर्दा त्यसको तल धेरै रगत जमेको देखिनु, लाश घिसारेको निशाना कार्पेटमा भेटिनु , ममता हराएको १९ दिनपछि नरेशले आफ्नो टेस्ला कार बिक्री गरिसक्नु, प्रहरी नरेशका घरमा पुग्दा केही लुगा सुटकेसमा प्याक गरेर बाबुछोरीका पासपोर्ट समेत ठिक्क पारेर हिंड्न तरखर गरेको देखिनु, नरेशले आफ्नो घर बेच्न दुईजना घर दलाललाई जिम्मा दिएको कुरा खुल्नु र नरेशले प्रहरीलाई दिएको बयानमा झुटमुट कुरा बोल्नु, तीन महिना पहिले गुगल सर्च गरेर पत्नीको मृत्यु भएमा पतिले कतिसमयमा अर्को विवाह गर्न पाउँछ? दम्पतीमध्ये एकको मृत्यु भएमा घर किन्न लिएको ऋण के हुन्छ भनेर खोजी गरेको कुराबाट ममता बेपत्ता हुनु जस्ता अनेक दसी प्रमाणहरुले ममता बेपत्ता हुनमा नरेशको हात छ भन्ने देखिएपनि प्रहरीले उसलाई हालसम्म हत्याको अभियोग नलगाएर ममताको लाश बेपत्ता पारेको मात्र अभियोग लगाएर पुर्पक्षका लागि कारागार पठाएको छ।
प्रहरीले नरेशलाई मृत शरीर लुकाएको आरोपमात्र लागेको छ। नरेशले आफ्नो घरभन्दा दुई किलोमिटर जति टाढा रहेको सिग्नल हिल पार्क नजिकको वनमा ममताको लाश गाडेको हुनसक्ने पनि प्रहरीले त्यहाँ पनि खोजी कार्य जारी राखयो।
भर्जिनियाँका प्रहरीले ममताको न लाश भेट्न सकेको छ न सास। नरेश कस्टडी मै छ। नरेशका वकीलहरुले नरेशलाई थुनामुक्त गर्न अदालतलाई चर्को दवाव दिइरहेका छन्।
प्रहरी नरेशले गम्भीर अपराध गरेको आशंकामा दसी प्रमाण खोजी गरिरहेको छ। उसले भरपर्दो प्रमाणभने फेला पार्न नसकेको हुनाले नरेशलाई हत्याको आरोप नलगाएर ममताको लाश बेपत्ता पारेको अभियोगमात्र लगाएको छ।
चार महिना बितिसक्दा पनि ममता काफ्लेको लाश फेला पर्न सकेको छैन। नरेशलाई हिरासतमै राख्ने अथवा जमानतमा रिह ागर्ने भन्ने विषयमा अदालतमा बहस भइरहेको छ।
प्रहरीले ममताको शव बेडरुमबाट बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने बताएपनि एकिन प्रमाण फेला पर्न सकेको छैन।
नरेशले विभिन्न झोला बोकेर हिंडिरहेको सिसी क्यामेरा फुटेजमा देखिएको हुँदा नरेशले ममतालाई टुक्रटुक्रा पारेर झोलामा हाली विभिन्न ठाउँमा लगेर फालेको हुनसक्ने प्रहरीले शंका गरेपनि यथेष्ठ प्रमाणका अभावमा उसलाई ममताको हत्याको दोषी करार गर्न सकेको छैन। ममताको लाश बेपत्ता पारेकोमात्र नरेशमाथि अभियोग लगाइएको छ।
नरेशका वकीलहरुले पछिल्लो अवस्थामा पनि हत्या गरेका ठोस प्रमाण प्रहरीले पेश गर्न नसकेको हुनाले नरेशलाई जमानतमा नरेशलाई छाड्नुपर्ने जिकिर गरेपनि न्यायधीशले नरेश भट्टलाई जमानतमा छाडेमा निजबाट समाजमा घातक अपराध हुनसक्ने हुनाले हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाउनपर्ने बताएका छन्।
न्यायधीशहरुले नरेशलाई जमानतमा छाड्ने हो भने उनी भाग्नसक्ने जोखिम हुनाले पनि हिरासत मुक्त पार्न नसकिने जनाएका छन्।
नरेशले धेरै ठाउँमा लगेर ट्रयास ब्यागहरु फालेको , अनि यस ठाउँको फोहोर कहिले उठाइन्छ भनेर सम्बन्धित ठाउँमा बारम्बार फोन गरेको देखिन आउँदा नरेशले ममतालाई घरमै मारेर लाशलाई बाथटबमा लगी टुक्राटुक्रा पारेर तिनै ब्यागमा पोका पारी विभिन्न ठाउँमा पुर्याएर फोहोर फ्याक्ने ठाउँमा हालेको हुनसक्ने पनि बलियो आशंका गरिएको छ।
मानिसमा स्वभावैले दया,माया,प्रेम ,सेवा, परोपकार , धर्म ,सहानुभूति आदि मानवोचित गुण हुन् , तर आजको संसारमा मानिस किन यति क्रूर हुँदै गएको छ ? आफूलाई प्राणभन्दा बढी माया गर्ने पत्नीलाई त्यसरी पनि हत्या गर्न सक्छ ? यो मानिसको स्वभाविक गुणभन्दा बिरुद्ध भएन ? बौद्धिक जगत्मा वर्तमानको उठेको गम्भीर प्रश्न हो यो।
ममतालाई नरेशले हत्या गरेर एकवर्षकी छोरीलाईचाहिं किन हत्या गरेन होला? भनेर पनि प्रश्न उठ्ने गरेको पाइन्छ। छोरी साथमा भएका खण्डमा उसलाई पुर्याउने निउँमा भाग्न सहज हुने सोचविचार गरेर पनि छोरी जीवित रहन सकेकी हुन् नत्र उसले पहिले नै छोरीको पनि हत्या गर्ने थियो भन्ने धेरैले आशंका गरेको देखिन्छ।
निकै लामो समयपछि गलैंचा र अन्य ठाउँमा लागेर केमिकल प्रयोग गरी पुछपाछ पारिएको रगत ममताको रगतसित मेल खाएको डिएनए परीक्षणबाट पुष्टि भएपछि स्थानिय प्रहरीले नरेश भट्टलाई ममताको हत्या गरेको अभियोग लागाएको छ।
उता नरेशका वकीलहरु भने उक्त रगतलाई ममताको महिनावारी हुँदाको अवस्थामा झरेको रगत हुनसक्ने भनी नरेशलाई अभियोग मुक्त पार्न दिलोज्यानले लागिपरेका छन्। तर प्रहरीले विविध दसी प्रमाणहरु संकलन गर्ने काम गरिरहेको हुँदा वास्तविक अपराधी उम्किन सक्ने अवस्था टर्दै गएको छ।
मनोवैज्ञानिकहरुको के धारणा छ भने सानैदेखि संवेगात्मक विकृति भएका, अपराधी मानसिकताले भरिएका , पारिवारिक पृष्ठभूमि अपराधका जगमा उठेका व्यक्तिबाट यस्तो जधन्य अपराध हुनसक्ने बताउँछन्।
त्यसैले आफ्ना परिवारमा बालबालिकालाई मायालु वातावरणमा, उनीहरुका जिज्ञासाहरुप्रति सकारात्मक भाव राखी उचित बाटामा डोर्याउने वातावरण बनाउन आवश्यक छ। परिवारमा हुने कलह, झैझगडा, द्वेष र ईर्ष्या आदिका कारणले पनि मानिस अपराध कर्ममा अगाडि सर्नसक्ने हुनछ।
बालबालिकाहरु निर्दोष हुन्छन्। उनीहरु हुर्कने क्रममा कस्ता मानिसका संगतमा पुगेका हुन्छन् तिनै मानिसहरुको संगतले उनीहरुको ज्ञान , सीप र धारणमा सकारात्मक अथवा नकारात्मक परिवर्तन आउन थाल्छ।
लियोनार्दो दा भिन्चीले मिलान नामक सहरको एउटा चर्चका भित्तामा जिसस क्राइस्टले मृत्यदण्ड पाउनुभन्दा अधिल्लो रात आफ्ना १२ जना चेलाहरुसित बसेर भोज खाँदै गरेको दृश्य देखाइएको छ।
भिन्चीले त्यहाँ जिसस क्राइस्टको अनुहारको तस्बीर बनाउन एकजना बालकलाई चर्चको भित्ता नजिक लगेर उनको अनुहार हेर्दै धर्मगुरु जिसस क्राइस्टको चित्र बनाएका थिए। उनले त्यस्ते विभिन्न समाजका प्रतिष्ठित , जनप्रिय मानिसहरुलाई लगेर अन्य चेलाहरुको अनुहार बनाएका थिए।
लियो नार्दो दा भिन्चीले अरु त सबैको अनुहारको चित्र बनाए तर जुडासको चित्र बनाउन सकेनन्। जुडास जस्तो नीच अपराधी जसले तीसवटा चाँदीका सिक्क्कामा राल चुहाएर लुकेर बसेका आफ्ना धर्मगुरु जिसस क्राइस्ट यहाँ छन् भनी प्रहरीलाई खबर गरेको थियो।
त्यस्ता क्रूर अपराधीको अनुहार कस्तो बनाउने भनेर भिन्चीले तीसौ वर्षसम्म अपराधी कैदीहरु भएका अनेकौैं झ्यालखानाहरुको निरीक्षण गरे तर उनले जुडाससित मिल्ने अनुहार भेट्न सकेनन्।
त्यसैले जुडासको अनुहार नबनाएर त्यो विश्वप्रसिद्ध अन्तिम रात्रिभोज नामक चित्र अधुरो रहनेभयो भनेर धेरैलाई चिन्ता र चासो भइरहेको थियो। त्यसैबीच भिन्ची एकदिन सडकमा हिंंडिरहेका बेला एकजना मानिसलाई देखे। उनको कल्पनाको जुडास उही थियो।
त्यस मानिसलाई भिन्चीले अनुरोध गरेर त्यही चर्चसम्म लगे , अनि उनलाई एउटा मेचमा राखे। भिन्चीले त्यही व्यत्तिको अनुहार हेरेर जुडासको अनुहार बनाए।
त्यो मानिस एक्कासि रुन थाल्यो। भिन्चीले सोधे “तिमी किन रोएका?”
त्यस मानिसले जवाफ दियो “म सानै छँदा तपाईँले मलाई यही ठाउँमा ल्याएर मेरो अनुहार हेरेर जिसस क्राइस्टको अनुहार बनाउनु भएको थियो, आज म जुडास हुन पुगेंछु। यो सबै मेरो आफ्नै कुकर्मको फल हो।”
हरेक बालबालिका देवता हुन्छन् तर विविध कारणले उनीहरु कालान्तरमा देवता हुन पनि सक्छन् दानव हुन पनि सक्छन्।
यस कथाबाट पनि हरेक बालबालिकाका अभिभावक सचेत र सावधान हुन सक्नुपर्दछ कि उनीहरुका सन्तान जुडास र नरेश भट्ट नबनून , घर , समाज , राष्ट्र र अन्तराष्ट्रिय जगत्मा महत्वपूर्ण योगदान गर्न सक्ने व्यक्ति बनून्।
घर , समाज , विद्यालय र परिवेश सुधारेर भविष्यमा आदर्श नागरिक उत्पादन गर्ने काममा सबैले आआफ्रना ठाउँबाट योगदान दिन बेलैमा सचेत बनौं। ताकि जुडास र नरेश भट्टका बाटामा भोलि कोही नलागून्।
(श्रीगुरागाईं गोरखापत्र दैनिकका पूर्व प्रबन्ध सम्पादक , मधुपर्क , मुना, बालमञ्जरी , शमी र नवऋचाका पूर्व सम्पादक , आर आर क्याम्पसका पूर्व आंशिक प्राध्यापक हुन्। )
Facebook Comment