बिआरआई सम्झौता स्वागतयोग्य, तर कार्यान्वयन गाह्राे: कमल थापा
हेटौंडा। राप्रपा नेपालका अध्यक्ष तथा पुर्ब परराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने बताएका छन्। बिआरआई सम्झौता स्वागतयोग्य भएपनी यो सम्झौता कार्यान्वयनमा आशंका गरेका हुन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ४ दिने औपचारिक भ्रमण सकाएर विभिन्न सम्झौता गरेर फर्कँदै गर्दा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीले चीनसँगको सम्झौता कार्यान्वयन नहुने दावी गरेका हुन्।
बिहीबार गृहनगर हेटौँडामा आफ्नो पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ माथि वार्ता कार्यक्रममा सहभागी थापाले बीआरआईबाट मुलुकले लाभ लिनुपर्ने भए पनि कार्यान्वयन नै हुन नसक्ने जिकिर गरे। चीनसँगको बीआरआई सम्झौताबाट मुलुकले लाभ लिनुपर्ने उनको भनाइ थियो।
बीआरआई सम्झौताको विषय चिन्ता लिनुपर्ने विषय नभएको जिकिर गर्दै अध्यक्ष थापाले भने, “बीआरआई सम्झौता स्वागत योग्य छ। तर यो कार्यान्वयन हुन्न। लगानीको मोडलका विषयमा काँग्रेस एमाले बीच नै मतभेद छ। अनेक अर्थ लाग्ने अस्पष्ट छ। चीन र नेपालबीच नै मतभेद छ।” थापाले प्रधानमन्त्रीको आग्रहमा प्रधानमन्त्रीको इज्जतका लागि चीन सम्झौता मात्रै भएको उनको भनाइ छ। सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्नेमा पनि थापाले जोड दिएका छन्। ‘छिमेकी मुलुक भारतसँग पनि युग सुहाउँदो नयाँ सन्धि जरुरी छ। १९५० को सन्दर्भ र आजको समय उही छैन’, थापाले भने। थापाले भने, ‘भारतसँगको सम्बन्ध र निर्भरताको विकल्प र मार्ग खोजी गर्नु जरूरी छ ।’
आफैं परराष्ट्रमन्त्री भएका बेला चीनसँगको पारवाहन सन्धि सन्धिमा मात्रै सीमित भएको पनि थापाले औँल्याए।
राप्रपा नेपालको अध्यक्ष समेत रहेका थापाले भारतसँगको सन्धि, सम्झौतामा पनि पुनरावलोकन जरुरी रहेको बताए। राजनीतिका हिसाबले भारतले नेपाललाई बेलायती दृष्टिकोण प्रेरित जवाहरलाल नेहरूको दृष्टिकोणबाटै हेर्ने जीकिर गर्दै थापाले भने, ‘लामो समय नेपाल अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा र परराष्ट्र नीति भारतबाटै निर्देशित थियो। मोदी पनि नेहरूकै पालाको दृष्टिकोणबाट नेपाललाई हेरिरहेको छ।’
गृहनगरमा कमल थापाको कृतिमाथिको विमर्शलाई साहित्यकार निमेष निखिलले सहजीकरण गरेका थिए। ३ पटक परराष्ट्रमन्त्री बनेका थापाले आफ्नो कृति आत्मकथा नभई सत्यमा आधारित वास्तविक विवरण भएको बताए।
संविधानसभाबाट संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी र त्यसकै सेरोफेरोमा नेपालको भूराजनीतिको तथ्यपरक विवरण प्रस्तुत भएको थापाको भनाइ छ। कुटनीति र परराष्ट्रका विद्यार्थीका लागि महत्वपूर्ण दस्तावेजको रुपमा आफ्नो पुस्तक उपयोगी र पठनीय हुने थापाको भनाइ छ।
Facebook Comment