आइटिएफ टेनिसः हाइनुओ र माहिकालाई उपाधि

कास्की। पोखरा रंगशालामा सञ्चालन भइरहेको आइटिएफ जे–३० टेनिस प्रतियोगिताअन्तर्गत आज सम्पन्न सर्किट–१ को खेलमा एकलमा पुरुषतर्फ चीनका हाइनुओ गुओ र महिलातर्फ भारतकी माहिका खन्नाले उपाधि जितेकी छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा यही मङ्सिर १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चीनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे। हाइनुओले आश्रव्यलाई खेलमा ६–३ र ६–४ मा पराजित गरेका हुन्।
महिलातर्फ भारतकी माहिका खन्नाविरुद्ध नेपाली खेलाडी सुनिरा थापा ‘टाइब्रेकर’ खेलमा पराजित भइन्। पहिलो सेट ६–२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७–६ र ७–४ ले गुमाउन पुगिन्।
‘पुरुष डबल्स’ फाइनलमा भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतकै आदित्य मोर र प्रकाश सरनलाई ६–२ र ६–१ ले पराजित गरे।
‘महिला डबल्स’ फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल (भारत) लाई ६–३, २–६ र १०–५ ले पराजित गरेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए।
विजेता खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापालगायतले मेडल वितरण गरे।
प्रतियोगिताअन्तर्गत आजदेखि नै सर्किट–२ अन्तर्गतका ‘क्वालिफाइङ राउन्ड’का खेलहरू सुरु भएका छन्। सर्किट–२ मा विभिन्न देशका पुरुष २७ र महिला आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन्।
Facebook Comment