हाम्रो उद्देश्य चलचित्र भवन बन्द गर्नु होइन : अध्यक्ष डिसी
काठमाडौं । चलचित्र विकास बोर्डले गैरकानुनी रुपमा सञ्चालनमा रहेका सिरहासहितका आठवटा जिल्लाका चलचित्र भवनको विषयमा जिल्ला प्रशासन कार्यालय र कर कार्यालयलाई पत्र लेखेर जानकारी गराएपछि नवीकरण नभएका र बक्सअफिसमा जडान नभएका चलचित्र भवन कानुनी प्रक्रियामा आएको जनाएको छ।
बोर्डका अध्यक्ष दिनेश डिसीले गण्डकी प्रदेशअन्तर्गतका चलचित्र भवनको अनुगमन सकिएको जानकारी दिँदै आफू र बोर्डको उद्देश्य चलचित्र भवन बन्द गर्नु नरहेको बताए। उनले भने, ‘पछिल्लो साता दिनदेखि म आफैँ चलचित्र भवनको अनुगमनमा थिएँ। बोर्डमा दर्ता नभएका, सरकारलाई कर नतिरिरहेका र त्यहाँ प्रदर्शन भएका चलचित्रको व्यापार बक्सअफिसमा नदेखिने चलचित्र भवनलाई कानुनी दायरामा ल्याउने हाम्रो उद्देश्य हो। प्रक्रियागत रुपमा ठीक नभए चलचित्र भवन बन्दको विकल्प छैन।’
अध्यक्ष डिसीले चलचित्र विकास शुल्क नतिरेको र लुकीछिपी चलाइएका केही चलचित्र भवनलाई कारबाही गरिएको जानकारी दिनुभयो। गत साता सिराहस्थित बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनको सहयोगमा तालाबन्दी गरिएको छ। ‘हाम्रो उद्देश्य ती गैरकानुनी रुपमा रहेका चलचित्र भवन बन्द गर्नु नभई कानुनी प्रक्रियामा ल्याएर सञ्चालन गर्न दिनु हो। उहाँहरू अटेरी हुनुभयो भने हामी निर्विकल्प हुन्छौँ। यद्यपि यो सातासम्म सबै प्रक्रियामा आउने बताउनुभएको छ’, अध्यक्ष डिसीले भने।
सरकारलाई कर छली गरिरहेका र निर्मातालाई समेत व्यापारको विषयमा जानकारी नहुने चलचित्र भवनलाई कुनै बहानामा नछाड्ने र कानुनी दायरामा ल्याउने अध्यक्ष डिसीले बताए।
Facebook Comment