‘पूर्णबहादुरको सारङ्गी’ ले उधिनेका र छिपेका विषयहरू

गेहनाथ गौतम
२४ मंसिर २०८१ १०:५७

सरोज पौडेलको कथा र निर्देशन दुवै रहेको ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्र हालसम्मकै अधिक कमाइ गर्ने फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा आइपुग्दा सर्वाधिक ३६ करोड कमाइ गरेर नेपाली फिल्म पनि जीवन निर्वाह गर्न सक्ने क्षमताका हुन सक्छन् भन्ने सन्देश मिलेको छ।

यस अर्थमा यसलाई सफल चलचित्रका रूपमा लिन सकिन्छ। नेपाली समाजमा गन्धर्व जातिको परम्परागत पेशा सारङ्गी बजाउँदै मनोरञ्जन प्रदान गर्ने र समाजमा निर्देशित सन्देश सुनाउने पनि थियो। पुस्त्यौनी पेशाप्रतिको लगाव र बाध्यता दुवैको मिश्रणमा यसको कथानक बुनिएको देखिन्छ।

यस चलचित्रमा पुर्खाको सम्पत्तिका रूपमा बाबुबाट पाएको सारङ्गीलाई जीवनको आधार मान्दै आPका गन्धर्व परिवारको यथार्थपरक कहानी छ। पूर्णबहादुर गन्धर्व सारङ्गी रेट्दै गीत गाउँने र यसवापत अरुबाट प्राप्त दक्षिणा कै भरमा गुजारा गर्छन्। पत्नी बाटुलीको विद्रोहलाई सम्मान दिन नसकेका उनलाई जनगणनामा खटिएका आफूजस्तै दलित समुदायका पात्रको मान सम्मानले होस खुल्छ।

यसले उनको सोचमा परिवर्तन ल्याउँछ। छोराका बालसुलभ प्रश्नहरू, दैनिक हातमुख जोर्न पाइरहेको दुख, बाबुको औषधि गर्ने बेलामा परेको सकस, साङ्गी बजाउँदै गर्दा कतिपय स्थानमा पाएको हण्डर र तीरस्कार, मास्टरका कटाक्षका साथै श्रीमती अनपेक्षित रूपमा पोइल हिडेको जस्ता घटनाहरु उसको सोचमा परिवर्तन ल्याउने माध्यम बनेका छन्। चलचित्रले पूर्णबहादुर र छोरा कमलको परिवेशलाई कालक्रमिक हेराइबाट नेपाली समाजमा आएको परिवर्तनको एउटा उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

जातजातिमा आधारित पेसाहरू अहिले क्रमश: यसको सिमाभन्दा बाहिर पुगेका छन्। अब मान्छेको रूचीसँग पेशाहरू जोडिन थालेका छन्। नेपाली समाजमा पेशाका आधारमा सानोठूलो भन्ने विभेदको कुहिरो फाटेर तुइनजस्तै अन्तर कुन्तरमा मात्र बचेको छ।

हुन त विभेदको खाडल सम्पन्न मुलुकहरूमा पनि जकडिएको देखिएकै छ। यस आधारमा हेर्दा नेपाली समाजले मारेको फट्को विश्वका यिनेगिनेका वैभवशाली मुलुकहरूको दाँजोमा गर्व गर्न लायक छ।

चलचित्रको मुख्यपात्र पूर्णबहादुरको भूमिकामा कलाकार विजय बराल निकै जमेका छन्। उनकी श्रीमती बाटुलीको भूमिकामा कलाकार अन्जना बराइली र छोरा कमलको हुर्किएको भूमिकामा प्रकाश सपुत छन्।

यस्तै पूर्णको गाउँले भरिया पेशाका साथी माइला र सहयोगी छिमेकी बीरेको भूमिकामा क्रमश: बुद्धि तामाङ र मुकुन भूसाल छन्। यस्तै मास्टरको भूमिकामा भोलाराज सापकोटा, लुगा सिलाउने भूमिकामा सुभास गजुरेल छन्। यसैगरी विनोद न्यौपाने, देशभक्त खनाल, माओत्से गुरुङ, शंकर आचार्य लगायतका कलाकारहरूको संयोजन रहेको छ।

‘रैँया चादीको’ भन्ने दोहोरी गीतमा बाटुली विश्वकर्मा जानी-जानी हारेर आफूले मनपराएको पूर्णबहादुर गन्धर्वसँग विवाह गर्छिन्। उनको यो जातीय विद्रोह माइती पक्षलाई मन पर्दैन। विजातीय विवाह गरेको भन्दै माइती पक्षले कुशको प्रतिमा बनाएर उनको जिउँदै किरिया गरिदिन्छन्।

यसले तथाकथित तल्लो जात भनिने समुदायभित्र रहने गरेका आपसी छोइछिटोको प्रगाढता पनि देखाएको छ। उनी पूर्णबहादुरको मायाँमा माइतीले गरेको तिरस्कार त विर्सिदै जान्छिन् तर पेशागत भिन्नता र चेतनाको स्तरमा भएको भिन्नता क्रमश: देखिन थाल्छ।

जब आफ्नो सन्तानलाई पनि सारङ्गी नै रेटेर जिविकोपार्जनमा लगाउने परिवारको चाहना हुन्छ, बाटुली त्यसको विरोध गर्छिन्। विद्यालय जाने उमेर भएको छोरा पुस्तक च्यापेर विद्यालय जानु पर्नेमा बाउको पछि लागेर सारङ्गी भिरेको उनलाई पटक्कै चित्त बुझ्दैन।

आफ्नो समुदायबाट विद्रोह गरेर विहे गर्ने हिम्मत भएकी बाटुलीको स्वभाव हरेक महिलामा हुने उन्नति र परिवारको सम्मानका लागि देखिने हुटहुटीसँग एकाकार भएको छ। आफ्नो सन्तानको भविष्य बन्छ भने परिवारै त्यागेर हिड्न पनि सक्ने क्षमता छ उनमा।

तर बच्चाको हितका नाममा गम्भीर सोच विचार नगरी विर्खेसँग वहकिनाले अवगालमा डुवेर कथाबाटै विलाउनु परेको छ। सन्तुलित विद्रोहको पाठ सिकाउनकै लागि पनि हुनसक्छ बाटुलीको प्रवेश निशेध नै छ कथानकमा यहाँपछि।

दौतरी पात्र बीरेले पुर्ख्यौली पेशामा लाग्न र सानै सपनामा रमाउनमा सधैँ कर गर्छ। तर पूर्णबहादुर कमललाई पढाउने विषयमा कहिल्यै सम्झौता गर्न मान्दैन। समय समयमा श्रीमतीले छाडेर गएका गहना र अरू सामानको थैली खोलेर हेर्छ। उसको अनुहारमा पत्नी प्रेमको भाव झल्किन्छ। पूर्णबहादुर आफ्नी छोडेर गएकी पत्नीलाई मैले तिम्रो सन्तातको सपना पूरा गराउने बाचा गरेको छु भनिरहे जस्तो लाग्छ।

सन्तानको खातिर जति पनि सहन र दुख गर्न समर्पित बाबु पूर्णबहादुरको जीवन कहानीले पढ्न शहर पसेको गरिवको क्षमतावान् छोराले पढ्दै कमाउदै गर्ने गरेको दृश्य चाहिँ समेट्न सकेको छैन। कमलले शहरका बस्ती, सार्वजनिक स्थल वा गुडिरहको बसमा विहान बेलुका सारङ्गी रेटेर कमाउँदै शिक्षा आर्जन गरेको स्वाभाविक दृश्य हेर्ने चाहना पुरा गर्दैन।

यहाँ बाबुले सन्तानको उज्जल भविश्यका गर्ने एकल संघर्षको तानाबुनामा गरिवको कथालाई सकेसम्म कारूणिक बनाउने र दर्शकलाई रूवाएरै लगानी उठाउने प्रयास गरेको रहेछ भन्ने टिप्पणी पनि सुनिन्छ। दर्शक रूवाएर नै फिल्म सफल हुन्छ भन्ने मनोविज्ञानबाट यो कथानक प्रेरित देखिन्छ।

सामाजिक सञ्जालमा नकारामक विषयले बढी प्रश्रय पाइ रहेका छन्। तसर्थ फिल्मी क्षेत्र पनि यस्तै वियोगान्तक र दर्दनाक कथा रूचाएर ‘एक छिन रूने र क्या राम्रो ‘ भन्ने भनाउने प्रवृत्तिबाट भने जोगिनु पर्दछ।

दोहोरी गीतमा जितेर घर भित्र्याउन ल्याउँदा खोलो तर्ने बेलामा कालो बोको चाहिने परम्परालाई कथानकले भूलेको छैन। बरू पछि पनि घर नहुँदा कालो बोको नल्याई खोला तरेको दोषका रूपमा समेत हेरिन्छ।

स्कुल जाँदै गरेका केटाकेटीको एकै किसिमको लुगा देखेर रहर गर्ने छोरालाई पूर्णबहादुरले ‘ त्यो लुगा त तैले लाउन मिल्दैन कान्छा। त्यो त पढ्ने लेख्नेले लाउने पो हो त। तँ हामी त सारङ्गी रेट्न जन्मिएका जात।

मसँग थोत्रा कपडा छन् भोटो जत्ति लाउलास्’ भनेर सम्झाएको सम्बाद र दृश्य दुवै सहज, कारूणिक र केही व्यङ्यात्मक पनि लाग्छ। चलचित्रले नेपाली समाजमा यसरी बालकको सोच बाल्यकालदेखि नै नियोजन गर्ने परम्परागत अभ्यासको सफल बिम्ब उतारेको छ।

बुख्याँचालाई लगाइदिएको स्कुले सट फर्की फर्की हेरेको दृष्यले बाल्यकालमा मात्र होइन सधैँ नै मन परेको कुरालाई आम मानिसले आँखाबाट टाढा राख्न नचाहने प्रवृत्तिको स्मरण गराउँछ।

मागेर लगाएको जडाउरी स्कुले सट बाटुलीले आगोमा फाल्दै ‘मागेर पाएको जडाउरीमा खुसी हुने’ अवस्थाबाट आफ्नो सन्तानलाई उकास्न चाहेको दृश्यले मन छुन्छ। त्यतिबेला बाटुलीको संघर्ष ‘शिक्षा मौलिक हक हो’ भन्ने सरकारी नीति प्रवर्धनककी अभियन्ता जस्तै लाग्छ।

डाक्टर पढ्न भर्ना गर्न चाहिने २५ हजार जोहो गर्न पूर्णबहादुरको एकल परिश्रम अलिक भावनात्मक लाग्छ। पूजा कर्ममा सारङ्गी बजाएको भन्दै गरिएको तिरस्कार र हातपातले आचार्य चलचित्रमा गायक भक्तराज आचार्यले पाएको चोट स्मरण गराउँछ।यी दुई परिवेश फरक भए पनि अरुमाथि अन्याय गर्ने संस्कारमा मेल खाएको छ।

सन्तानको हितका लागि मागीखाने परिवेशबाट मुक्त हुन चाहने बाटुलीलाई विर्खेले आश्वासन दिँदै पारेको अप्ठ्यारो र फसाएको दृश्यले करूणा र आक्रोश दुवै भाव एकैपटक ल्याउँछ।

पूर्णबहादुरका बाबुलाई रोगले च्यापेको समयमा अस्पतालको दृश्य, पैसा जुटाउन पूर्णबहादुरले गरेको कडा पेशागत मेहनत र सीपको उचित सम्मान नभएको तत्कालीन परिवेश यथार्थपरक निकै मार्मिक छ।

गाउँको फोनवाला पसलेको भूमिका सहयोगी देखिन्छ तर विद्यालयमा शिक्षकको भूमिका प्रेरणादायी छैन। अझ उनको क्रान्तिकारी अभियानको पोल त्यतिवेला खुल्छ जव उनी पूर्णबहादुरले पाएको लालपूर्जा किन्न हतारिन्छन्।

कमललाई ठूलो मान्छे बनाउन विद्यालयमा भर्ना गरिदिएर छोराको भविष्यको काँध थाप्ने बाबु बनेर पूर्णबहादुरले आफ्नी श्रीमतीको भावनाको पनि कदर गरेको देखिन्छ। दुई कक्षा पढेर पैत्रिक पेशामै रहेको छिमेकीले सधै आलोचना गरेपनि उसको पढाउने धोको कहिल्यै कमजोर बनेको छैन। ‘भूईसम्मै टेकेँ मैलै तिमी टेक्नु धुरी’ जस्तो मार्मिक पितृभावको काँधेकुरी गीतले चलचित्रमा सुवास थपेको छ।

विद्यालयको कुनै कार्यक्रमको नाटकमा कमलले डाक्टरको अभिनय गर्दा पाएको सम्मान जति स्वाभाविक छ। तर जब बाबुले सेतो गाउन लगाएकाले सम्मान दिएको बताउँछन्, त्यसपछि कमलले शिक्षकको घरबाट त्यो गाउन चोरेर आफ्नो बाबुलाई लगाउन ल्याइदिएको घटना उत्तिकै मार्मिक पनि छ। आफ्ना अभिभावकको सम्मानित जीवन हेर्ने चाहना र यसले सन्तानको मनोवल बढ्ने सन्देश समेत दिएको छ यस घटनाले।

यहाँ गाइने कलाको परख गरेको र उनीहरूलाई मगन्तेको दर्जामा राखेर सामाजिक व्यवहार गरिएका दुवै दृश्य छन्। पुर्ख्यौली पेशाप्रतिको सम्मान, समर्पण र त्योमात्र अब पर्याप्त नभएकाले मुक्त हुन गरिएको संघर्ष पनि सँगँसगै छ।

तर पनि पेशागत सीपको सम्मान बढाउन चलचित्रले उति सहयोग गरेको देखिन्न र गीतमा परम्परागत गन्धर्व कलाको चित्तबुझ्दो उपयोग पनि हुन सकेको छैन। ‘हे बरै आमैले सोध्लिन् नि’ जस्तो सदावहार गन्धर्व गायन कलाको यहाँ निकै अभाव खड्किन्छ। केही पात्रहरू पनि गन्धर्व समुदायबाट लिन सकेको भए यो समुदायको पनि अपनत्व बढ्ने थियो।

‘व्यापारिक रुपमा जति नै सफल भए पनि अपूरो र लैङ्गिक रुपमा विभेदी चलचित्र’ रहेछ भन्ने टिप्पणी हुने गरेको देखिएको छ। चलचित्र निर्माणका क्रममा कथा र उपकथाहरू धेरै हुन सक्छन्। दर्शक र समीक्षकले एउटा पक्षमात्र हेरेर अपूरो र विभेदी भन्नु पनि जायज होइन।

सायद २०३९ – ४० सालदेखि प्रारम्भ भएको यो कथानक गणतन्त्र प्राप्ति पछिको बाटुलीको अवतारमा धेरै रहस्यहरू खोलिन सक्छन्। आफ्नो गन्धर्व पुत्रको भविश्य निर्माण गर्ने सपना पुरा गर्न विद्रोह गर्न सक्ने बाटुली साक्षर विर्खेले दिएको धोकालाई सजिलै स्वीकारेर खुम्चिने नारी पात्र होइन।

यस चलचित्रमा ‘साम्बाला’ को जस्तो मिथक छैन। ‘आचार्य’ मा जस्तो सत्य जीवन कहानी छैन। चलचित्र हेरिरहँदा गन्धर्व जाति र सारङ्गीको उत्पत्ति कथा पर्खिएका दर्शकले त्यो पाउदैनन्। तर यसमा जीवन कहानीहरूको करीव ३० वर्षे परिवर्तनशील श्रृङ्खला छ।

यसमा पुस्तौनी परम्परा, युवा उमेरको प्रेम र समर्पण, विपन्न परिवारको दैनिकी र ढिलो गरी पाएको सफलता, अभिभवकीय दायित्व र परिवर्तनको हुटहुटी, राजनीतिक चेतना र अभियानका गैरजिम्मेवार पात्रको उजागरदेखि टाठाबाठाको अप्रिय चतुर्याइ समेत समेटिएको छ।

चलचित्रको अन्त्यले गोपालप्रसाद रिमालको ‘मसान’ नाटकलाई विराटनगर बसेर मैले रचना गरी २०५७ प्रकाशन गरेको ‘उत्तर मसान’ का रूपमा दोस्रो खण्डको स्मरण गरायो। विराटनगर मै पुगेर यो चलचित्र हेरेपछि विशेषत: बाटुलीको लुकेको भूमिका मसानकी हेलेन उत्तर मसानमा आइपुग्दा क्रान्तिकारी नेतृ हेलेन भएर उदाए जस्तै दृश्य बुनिन सक्ने सिक्वेल कथानकमा अर्को चलचित्रको अपेक्षा गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *