आठ डिआइजीको पदस्थापन नहुँदा नौ दिनदेखि जिम्मेवारीविहीन
काठमाडौं। गृहमन्त्रालयले बढुवा भएका आठ डिआइजीको पदस्थापन गर्न सकेको छैन। मन्त्रालयले जिम्मेवारीविहीन बनाउँदा प्रहरी प्रधानकार्यालयमा हाजिर गरेर बस्न बाध्य भएका छन्।
प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएर फुली लगाएका नेपाल प्रहरीका आठ अधिकारीले नौ दिनसम्म जिम्मेवारीविहीन भएका छन्।
मन्त्रालयले बढुवासँगै पदस्थापन गर्ने यसअघघिको सामान्य नियमलाई समेत उल्लंघन गरेको छ। केही दिनदेखि गृहमन्त्री र सचिव क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी भएका कारण पदस्थापन हुन नसकेको मन्त्रालयको दावी छ।
गत १७ मंसिरमा बढुवा भएका डिआइजीहरू ध्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक प्रहरी प्रधानकार्यालयमा हाजिर गरिरहेका छन्। उनीहरूलाई सोही दिन प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले प्रहरी प्रधानकार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
डिआइजीको पदस्थापन गृहमन्त्रीस्तरको निर्णयबाट हुने प्रहरी नियमावलीमा उल्लेख छ। गृहमन्त्री र सचिव केही दिनदेखि मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको क्षेत्रीय सुरक्षागोष्ठिमा भाग लिन काठमाडौं बाहिर छन्।
गृह मन्त्रालय स्रोतका अनुसार उनीहरूको पदस्थापनसँगै अन्य चार डिआइजीको सरुवा पनि गर्न लागिएको छ।
डिआइजीहरु दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी, कुवेर कडायत, चन्द्र कुवेर खापुङ लगायतको सरुवा हुन लागेको हो। ‘बढुवा भएका डिआइजीहरुको पदस्थापनसँगै उनीहरुको पनि सरुवा हुनेछ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।
आठ डिआइजीहरुको बढुवापछि नेपाल प्रहरीमा एसएसपीको २० दरवन्दी खाली भैसकेको छ। असारदेखि नै प्रहरीमा एसएसपीका पद रिक्त रहेकोमा अहिलेसम्म बढुवा हुन सकेको छैन। हाल एसएसपीका २० दरबन्दी रिक्त छन्। प्रतिस्पर्धी ३८ जना रहेका छन्।
एसएसपी बढुवाको समितिमा गृहसचिव अध्यक्ष हुने प्रावधान छ। गृहसचिवसहित प्रहरी महानिरीक्षक र मानव संशाधन शाखाको प्रमुख सदस्य रहने प्राबधान छ। उनीहरुको बढुवा पनि चाँडै हुने गृहमन्त्रालय स्रोतले जनाएको छ।
Facebook Comment