सिरियामा ४८ घण्टामा इजरायलको ४८० हवाई आक्रमण

डिसी नेपाल
२६ मंसिर २०८१ १३:२३

काठमाडौं । सिरियामा विद्रोहीद्वारा सत्ता कब्जापछि इजरायलले लगातार हवाइ आक्रमण गरिरहेको छ । इजरायली सेना आइडीएफले पछिल्लो ४८ घण्टामा सिरियामा ४८० भन्दा बढी आक्रमण गरेको जनाएको छ । सिरियाका धेरै सहरहरूमा हतियार डिपो र एन्टी-एयरक्राफ्ट ब्याट्री उत्पादन साइटहरूमा द्रुत आक्रमणहरू भएका छन्।

इजरायली सेनाका अनुसार वायु सेनाले सिरियाको रणनीतिक हतियार भण्डारणमा ३५० वटा आक्रमण गरेको छ। दमस्कस, होम्स, टार्टस, लाटाकिया र पाल्माइरामा एन्टी-एयरक्राफ्ट ब्याट्री, मिसाइल, ड्रोन, लडाकु विमान र ट्याङ्कहरू ठूलो मात्रामा नष्ट गरिएको छ । यससँगै ग्राउन्ड अपरेशनअन्तर्गत थप १३० हवाई आक्रमण गरिएको छ ।

इजरायलका रक्षामन्त्रीका अनुसार सेनाले सिरियाली नौसैनिक फ्लीटलाई पनि पूर्ण रूपमा ध्वस्त पारेको छ। सेनाको अनुमान अनुसार उनीहरूले बशर अल-असदको सैन्य लक्ष्यको ८० प्रतिशतसम्म नष्ट गरिसकेका छन्। इजरायलले यस अपरेशनलाई बासन एरो नाम दिएको छ।

अलकायदासँग जोडिएको सुन्नी विद्रोही समूह एचटीएसले सिरियालाई आफ्नो नियन्त्रणमा लिएको छ । बसर रसिया भागेपछि इजरायलले सिरियाली सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ। हवाई हमलामात्र नभइ इजरायली सेनाहरू सिरियाको सिमानामा जमिन तहमा पनि प्रवेश गरेका छन् ।

सन् १९९४ को सम्झौतापछि इजरायली सेनाले सिरियाली भूमिमा पाइला राखेको यो पहिलो पटक हो। इजरायली सेनाले गोलान हाइट्सनजिकै सिरियाली भूमिको १० किलोमिटर भित्र एउटा बफर जोन पनि बनाएको छ। यस्तो अवस्थामा इजरायलले सिरियाली क्षेत्रहरू कब्जा गर्ने योजना बनाएको र छिट्टै आफ्नो योजना पूरा गर्न लागेको पनि धेरै रिपोर्टमा भनिएको छ ।

अर्कोतर्फ, उत्तरी सिरियाको मानबिज सहरमा सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) र टर्की समर्थित सिरियन नेशनल आर्मी (एसएनए) बीच संघर्ष जारी छ। यो द्वन्द्वमा तीन दिनमा २१८ जनाको मृत्यु भएको छ । एसडीएफका कमाण्डर मजलुम अब्दीले अमेरिका समर्थित कुर्द समूह टर्की समर्थित सुरक्षा बलसँग युद्धविराम सम्झौता गर्न सहमत भएको बताएका छन्।

तीन महिनाका लागि सिरियाको कार्यवाहक प्रधानमन्त्री नियुक्त भएका मोहम्मद अल बसिरले देशमा स्थायित्व र शान्ति स्थापना गर्न आवश्यक रहेको बताएका छन्।

सिरियामा कुर्द बाहुल्य सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) ले पूर्वी सिरियाको ठूलो भूभाग कब्जा गरेको छ । यो अमेरिकी समर्थित समूह अक्टोबर १०, २०१५ मा स्थापित भएको थियो। एसडीएफले आफ्नो उद्देश्य सिरियालाई धर्मनिरपेक्ष, लोकतान्त्रिक र संघीय बनाउनु रहेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *