जापानमा धेरै बच्चा जन्माउनका लागि हप्तामा ३ दिन विदा

डिसी नेपाल
२६ मंसिर २०८१ १६:४८

काठमाडौं । जापानको राजधानी टोक्योमा जन्मदर सुधार गर्न नयाँ पहल सुरु भएको छ । आगामी वर्षदेखि कार्यालयमा ४ कार्य दिनको नियम लागु हुने भएको छ ।

अब मानिसहरूले हप्तामा चार दिन मात्र काम गर्नुपर्छ, ३ दिन विदा पाउँछन् । टोक्योका गभर्नर युरिको कोइकेले अर्को वर्ष अप्रिलदेखि कर्मचारीहरूले हप्तामा तीन दिन बिदा लिने विकल्प पाउने घोषणा गरेका छन्।

पछिल्ला केही वर्षहरूमा मानिसहरू आफ्ना छोराछोरीको पालनपोषणका कारण आफ्नो करियर बीचमा छोड्न बाध्य छन्। सन्तान नहुनुको प्रमुख कारण यो पनि मानिन्छ ।

पछिल्ला केही वर्षको नीतिका कारण देशको प्रजनन दरमा उल्लेख्य गिरावट आएको छ । यसलाई सुधार गर्न स्थानीय प्रशासनले धेरै नयाँ तरिका अपनाइरहेको छ ।

गभर्नर कोइकेले भने, “यस अवधिमा हामीले काम गर्ने तरिकामा लचकता ल्याउनेछौं र बच्चा जन्माउँदा वा हेरचाह गर्दा कसैले पनि आफ्नो पेशा छोड्न नपरोस् भन्ने सुनिश्चित गर्नेछौं। यस पहलले जापानीहरूमा बच्चा जन्माउने जोडीहरूलाई प्रोत्साहन गर्न मद्दत गर्नेछ।”

टोक्यो प्रशासनका अनुसार यो योजना ती अभिभावकहरूका लागि पनि उपयोगी हुनेछ जसका बच्चाहरू प्राथमिक विद्यालयमा छन्, उनीहरूले कम काम गर्ने विकल्प पाउनेछन्, जसले उनीहरूको तलबमा पनि सन्तुलित कटौती गर्नेछ।

गत वर्ष जापानमा मात्रै ७ लाख २७ हजार २७७ जना जन्मिएका थिए । यो कमी भनेको देशको ओभरटाइम काम संस्कृतिको परिणाम हो, जसले महिलाहरूलाई करियर र परिवारको बीचमा छनौट गर्न बाध्य पार्छ।

विश्व बैंकको तथ्याङ्क अनुसार जापानमा लैङ्गिक रोजगारी असमानता अन्य धनी राष्ट्रहरूको तुलनामा बढी छ, जसमा महिलाको सहभागिता ५५% र पुरुषको ७२% रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *