नियात्रा : जनकपुरको सेरोफेरो

भूमिका गैरे, तिमिल्सिना
२९ मंसिर २०८१ ९:१३

यात्रा शब्दमा ‘नि’ उपसर्ग लागेर बनेको हुँनाले नियात्रालाई निबन्धयात्रा भनेर पनि चिनिन्छ। नियात्रालाई यात्रासाहित्य, यात्रावृतान्त, यात्रावर्णन, यात्रासंस्मरण आदि शब्दले पनि चिनिन्छ।

पूर्वीय र पाश्चात्य सन्दर्भमा नियात्रालाई यात्राकारको निजी अनुभव , स्थानगत अनुभूति, परिवेशगत परिचय आदिका माध्यमबाट सृजना गरिएको रोचक एवम् ज्ञानवर्दक साहित्यका रुपमा चिनिन्छ। यात्रा गतिशील हुनुपर्छ।

नियात्राका लागि आवश्यक निजात्मकता थपेर यात्रा अनुभव, दृश्यसंयोजन, गति र निजात्मक प्रस्तुतिले पनि अझ विशेष रुपमा चिनाएको हुन्छ। नियात्रा लेखनका लागि यात्रा गर्नु अनिवार्य हुन्छ। यात्राका क्रममा भेटिएका कुराहरुको टिपोट गरेर त्यसलाई रोचक एवम् कलात्त्मक तरिकाले प्रस्तुत गर्नुपर्छ।

पाठकलाई लागोस् कि, यात्राकारसँगसँगै हिँडेको जस्तै अनुभव होस्। यथार्थ घटना र कल्पनाको मिश्रण हुँनुपर्छ। लेखकीय इमान्दारीता र सूक्ष्म अवलोकनको महत्त्वपूर्ण भूमिका रहन्छ।

निष्पक्षयता, वस्तुगत, स्थूल कुराहरुप्रतिको सतही अवलोकन , साना- साना सूक्ष्म कुराहरुले गर्दा नियात्रालाई रोचक बनाउँछ। घटना सम्प्रेषणमा प्रभावकारिता हुनु आवश्यक हुन्छ।

हामी गैंडाकोट नगरपालिका वार्ड नम्बर- ४ अन्तर्गतको “नमुना जागृति महिला समूह ” द्वारा हामी धनुषा जिल्लामा अवस्थित जनकपुरधामको रामजानकी मन्दिर जाने निर्णय गर्‍याैं। मिति २०८० साल माघ २७ गते शनिबारका दिन बिहान ४:०० बजे ४२ जना दिदीबहिनीहरुसहित गाडी चढ्यौं।

जसमा समूहकी सचिव, म लेखक स्वयम् ( भूमिका गैरे, तिमिल्सिना ) पनि उपस्थित थिएँ। हाम्रो यात्रा एकदिने अवलोकनीय भ्रमण रहेको थियो। हाम्रो गन्तव्य मिथिला राज्यको राजधानी जनकपुर राज्यको राजधानी जनकपुरधाम र सर्लाहीको भरतताल रहेको थियो।

हेटौंडा जीतपुर, सिमरा बारा निजगढ, बकैंया पुल, बाग्मती सर्लाही, सिकौल, आँमखोला , चन्द्रनिगाहा, रौतहट, चन्द्रपुर, चाँदी खोला, मंगलपुर, खेलमैदान, कमैया, हरिवन नयाँरोड, बाईपुल, लालबन्दी , बस्तीपुर , बाँके पुल , गढन्ता पुल, बर्दीबास, महोत्तरी , मिथिला नगरपालिका हुँदै हामी करिब १०:०० लालगढ पुग्यौं।

हामीले गाडीभित्र दोहोरी गीतको आनन्द लिँदै हाम्रो यात्रा अगाडि बढायौं। लालगढमा पुगेर हामीले खाना खायौं। करिब ११ : ०० बजे त्यहाँबाट गाडी चढ्यौं। त्यसपछिको हाम्रो यात्रा धनुषा , ढल्केबरको आयल निगम, महेन्द्रनगरको आयल निगम, सपही, लक्ष्मीनिया हुँदै पिडारी चौक, जनकपुरको रेलवे लाइन, रामानन्द चोकबाट भित्र गयौं।

हामी रामजानकीको मन्दिरतर्फ अगाडि बढ्यौं। हाम्रो गाडी रामजानकीको मन्दिर पुग्नुभन्दा केही अगाडिको बसपार्कमा रोकियो। जहाँ ठूलो क्षेत्रफलमा वसपार्क रहेछ। त्यहाँबाट हामीले आठओटा अटो लियौं। सबैजना सँगसँगै उक्त अटोमा जानकी मन्दिरतर्फ अगाडि बढ्यौं।

सर्वप्रथम हामी जनकको कुटिया अवलोकन गर्‍याैं। राजा जनकले आफ्नो भएको सम्पूर्ण सम्पति सबै रामजानकीलाई कन्यादानमा सुम्पिएको र आफ्नो नाममा त्यति कुटियामात्र राखेको जानकारी पायौँ। त्यसपछि राजा जनक त्यही कुटियामा आएर बाँकी जीवन काटेको कुरा मन्दिरका पुजारीबाट थाहा पायौँ।

त्यसपछि जनकको कुटिया अगाडिको धनुषकुण्डको अवलोकन गर्‍याैं। गंगासागरमा हरेक साँझ गंगा आरती हुँने कुराको जानकारी पायौँ। त्यस पश्चात हामी छप्पनकोटी पुरुषोत्तम महाराजको मन्दिर जहाँ छप्पन्न देवीदेवताको मूर्ति रहेछ। त्यसको अवलोकन गर्‍याैं।

त्यस मन्दिर शान्त , सुन्दर विभिन्न देवीदेवताका मूर्ति हुँनुका साथै ऋषिको मूर्ति पनि रहेछ। जुन अत्यन्तै मनमोहक थियो। त्यसपछि हामी जानकीको मन्दिरतर्फ लाग्यौँ। जानकी मन्दिर अत्यन्त ठूलो क्षेत्रफलमा रहेको थियो। विशाल मन्दिर त्यसभित्र पनि विभिन्न देवीदेवताका मूर्तिहरु थिए।

हवनकुण्डमा विभिन्न शुभकार्यहरु भइरहेका थिए। मन्दिर मुगल शैलीमा निर्माण भएका रहेछन्। विवाहमण्डप जहाँ जानकीको जन्मदेखि खेलेका , हुर्किएका कलात्मक तस्बिरहरु थिए। जहाँ पुरुषोत्तम रामले धनुष वाण चलाएको स्थान रहेछ। जानकीले धनुष उचालेको स्थान रहेछ।

राम-जानकीको विवाह मण्डप, सातफेरो लिएको ठाउँ, विवाह भएको स्थान रहेछ। त्यसपछि शालिकरामको शिलासँगको लक्ष्मण मन्दिरको दर्शन गर्‍याैं। त्यसपछि हामीसबै बाबा पशुपतिनाथको दोस्रो स्वरुप बाबा भूतनाथ स्वर्गद्वार मन्दिरको दर्शन गर्‍याैं। त्यसपछि हामी राजा जनकको कूलदेवीको मन्दिरको दर्शन गर्‍याैं।

त्यसपछि हामी राजमाता शक्तिपीठ माँ राजदेवीको मन्दिरको दर्शन गर्‍याैं। राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी पूजा भव्य हुँने रहेछ। मंसिर महिनामा रामजानकी विवाह उत्सव भव्य हुने कुराको जानकारी पायौं।

मिथिला सभ्यताको धरोहर रामजानकी मन्दिर तल्कालीन समयमा निर्माणाधीन अवस्थामा जम्मा नौ लाखमा मन्दिर निर्माण भएकाले उक्त मन्दिरलाई नौंलखा मन्दिर भनेर पनि चिनिने रहेको कुरा जानकारी पायौं।

सबै मठमन्दिर दर्शन गरेपश्चात हामी खाजा खाएर त्यहाँबाट बेलुका ४:०० बजे निस्कियौं। हाम्रो योजना धनुषा जिल्लाको जनकपुरधामको रामजानकी मन्दिरको दर्शन पश्चात सर्लाहीको भरततालको अवलोकन गर्नु रहेको थियो। गाडीमा हामीले सुन्तला खाँदै दोहोरी गाउँदै रमाइलो गर्‍याैं।

सोही योजना अनुसार नै हामी बेलुका ५: ०० बजे भरतताल आइपुग्यौं। अत्यन्तै सुन्दर, विशाल , पर्यटकीय दृष्टिकोणले मनमोहक रहेछ, भरतताल। त्यहाँ साइकलिङ, बोटिङको व्यवस्थित प्रबन्ध रहेछ। हामी पनि तालमा बोटिङ गर्‍याैं। विभित्र ठाउँवाट आएका मानिसहरुको जमात भिन्न भिन्नै थियो।

ताल वरिपरि मानिसहरुको फोटो, सेल्फी खिच्ने त्यो भिड देख्दा छुट्टै रमाइलोको आभास हुन्थ्यो। त्यो दृश्य देख्दा, लाग्थ्यो कि मानिसहरु आफ्नो व्यस्त जीवनबाट केही टाढा पुनर्ताजगी , रमाइलो गर्न आएका हुन् , जस्तो। साह्रै रमाइलो माहोल थियो। अलौकिक दृश्यलाई आँखाभरि नियाल्दै हामी बेलुका ७:०० बजे त्यहाँबाट गाडी चढ्यौं। त्यसपछि हामी बेलुका राति १०:०० बजे सबैजना सकुशल घरमा आइपुग्यौँ।

अवलोकनीय यस्ता एकदिने भ्रमनणले गर्दा हामीलाई नजिकका धार्मिक स्थलहरुको धार्मिक महत्व, पौराणिक महत्त्व , ऐतिहासिक महत्व, पर्यटकीय महत्व बुझ्न सक्छौँ। हामी टाढा- टाढाको यात्रा गर्छौ तर ‘नजिकको तीर्थ हेला भने झै ‘ हामीले नजिकका स्थानको महत्व बुझिरहेका हुँदैनौ।

यस्ता धार्मिक, ऐतिहासिक, सांस्कृतिक , पर्यटकीय, पौराणिक महत्त्व बोकेका स्थलहरुको बारेमा जानकार रहनुपर्छ। आउने पिँढीलाई पनि त्यस्ता क्षेत्रको बारेमा परिचय गराउँनु पर्छ। हाम्रै वरिपरि यस्ता कैयौं स्थानहरु छन्। जसको हामीले महत्व, गरिमा बुझ्नु आवश्यक छ।

गैंडाकोट : ४, नवलपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *