एनपिएलः कर्णालीले लुम्बिनीलाई हरायो, प्लेअफ सम्भावना बलियो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ। लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णाली याक्सले प्लेअफमा आफ्नो सम्भावना बलियो बनाएको छ। ६ खेल खेलेको कर्णालीले ४ खेलमा जीत हासिल गरेको छ भने दुई खेलमा पराजित भएको छ।
कर्णाली याक्सले दिएको एक सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २३ रन बनायो।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाए। यस्तै सन्दीप जोराले २४, आशुतोष घिरैया र साद बीन जाफरले समान १६, अर्जुन साउदले १३ रन बनाए। कर्णालीका जिशन मक्शुदले ३ विकेट लिए। यस्तै सोमपाल कामी, विलियम बोसिस्टो, बिपिन शर्मा र नन्दन यादवले समान एक एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे। यस्तै अर्जुन घर्तीले २५ रन बनाए। बाबर हायातले २० तथा चाडविक वाल्टनले १३ रन बनाए।
लुम्बिनीका तिलकराज भण्डारी र , बिकास आग्रीले समान दुई दुई विकेट लिए। यस्तै साद बीन जाफर, रेमन सिमण्ड्स र रोहित पौडेलले समान एक एक विकेट लिए।
Facebook Comment