फिल्म अभिनेता अल्लु अर्जुनलाई किन पक्राउ गरिएको हो ?

डिसी नेपाल
२८ मंसिर २०८१ १३:५६

काठमाडौं । दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई पक्राउ गरेर हैदरावाद पुलिस स्टेशनमा लगिएको छ । उनको फिल्म ‘पुष्पा–२’ को सिनेमा हलमा प्रदर्शनका क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

फिल्म रिलिज हुनु १ दिनअघि हैदराबादमा फिल्मको विशेष शो आयोजना गरिएको थियो। यो विशेष शोमा अल्लु अर्जुन स्वयं पनि पुगेका थिए । यहाँ अल्लु अर्जुनलाई हेर्न आएका दर्शकको भीडमा अचानक भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । दुई जना अन्य व्यक्ति घाइते भएका थिए ।

मृतक महिलाको नाम रेवती बताइएको छ । एक प्रहरी अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन्। सुरुमा यो विशेष शोमा अल्लु अर्जुन जाने कार्यक्रम थिएन तर अल्लु अर्जुनको टोलीले अचानक यहाँ उनको भ्रमणको योजना बनायो र उनी थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्न फ्यानहरूमा भागदौड मच्चियो।

यस भागदौडको क्रममा त्यहाँ एक महिलाको मृत्यु भयो र अल्लु अर्जुन सहित धेरै व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरियो। समाचार एजेन्सी एएनआईका अनुसार हैदराबाद पुलिसले अल्लु अर्जुनलाई सोधपुछका लागि चिक्कडपल्ली प्रहरी चौकीमा लगेको छ।

यो घटनापछि अल्लु अर्जुनले एक प्रेस सम्मेलन राखेर उक्त घटनाको बारेमा कुराकानी गरेका थिए । ‘सन्ध्या थिएटरमा भएको घटना हुनु हुँदैनथ्यो । म सन्ध्या थिएटर गएको थिएँ। पूरा फिल्म हेर्न पनि पाइनँ। त्यतिबेला मेरो म्यानेजरले भिड धेरै भएपछि निक्लनु भनेका थिए। यो घटना बारे मैले भोलिपल्ट जानकारी पाएँ,’ उनले भनेका थिए ।

उनले अगाडि थप्दै भनेका थिए, ‘सुकुमार सर (निर्देशक) पनि यस मामिलाबाट निकै दु:खी हुनुहुन्छ। हामीले मृतक महिलाको परिवारलाई २५ लाख भारू दिएका छौं। उनीहरूले केही समय मागेका छन्। त्यसपछि म उनीहरूको परिवारसँग भेट्ने छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *