काठमाडौं सांस्कृतिक सम्पदाले भरिपूर्ण सहर : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको केन्द्रबिन्दु भएको सहरको रूपमा पनि विशेष महत्व रहेको बताए। उनले काठमाडौंभित्र विश्व सम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान र रैथाने रहनसहन, मौलिक खानपान, जीवनशैली, बाजागाजा, नाच तथा शृङ्गारहरूको अलौकिक संयोजन अन्यत्र पाउन दुर्लभ रहेको बताए।
काठमाडौं महानगरपालिकाले महानगर घोषणा भएको ३०औं वर्ष पूरा गरेको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष समारोहमा उपराष्ट्रपति यादवले उक्त कुरा बताए।
उनले काठमाडौंबासीलगायत सबैलाई बधाई तथा शुभकामना दिँदै महानगरपालिकालाई विकास र समृद्धिको पथमा अग्रसर गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई स्मरण र महानगरको नेतृत्व, जनप्रतिनिधिहरु, पदाधिकारीहरु तथा कर्मचारीमा धन्यवाद व्यक्त गरे।
उनले काठमाडौं महानगरले सेवाग्राही तथा लाभग्राहीलाई प्रदान गरेका सेवाहरू अन्य स्थानीय तहका लागि अनुकरणीय, अनुशरणीय र सिकाईयोग्य भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनमा यहाँको शसक्त युवा नेतृत्वको महत्वपूर्ण योगदान रहेको बताए।
Facebook Comment