नेपालमा मानिसहरु किन आए ?
वर्तमान समयमा नेपाली विद्यार्थी र अनुसन्धानकर्तालाई अमिबाबाटै मानिसको विकास भएको, अफ्रिकाबाट प्राणीहरु विस्तार भएको, भारतबाट हुँदै ब्राह्मणहरु नेपाल आएको पाठ रटाइएको छ। नेपालको माटो, तीर्थस्थल, साधनाविधि, पर्वहरु, जीवनशैलीले हामी कहाँबाट आयौँ भन्ने बुझाउँछ।
प्राचीन कालदेखि अध्ययन र अनुसन्धान गर्न, तीर्थाटन र देवदर्शन गर्न, साधना र साक्षात्कार गर्न नेपालमा आउनेहरू प्रशस्तै भएको पुराण, तन्त्र, किंवदन्ती आदिले बताउँछन्। द्वापरयुगसम्म नेपालका अधिकांश हिमाल, पहाड, गुफा, नदी, जंगल आदिमा विद्याको सागर लहराउँथ्यो, साधकका बस्ती थिए, प्रविधि परीक्षणको होड चल्थ्यो, प्रशिक्षणको प्रकाश चम्किन्थ्यो।
गुरुकुल र वंशकुल (परिवार)बाट विद्या, सीप, कला आदिको हस्तान्तरण तथा पुस्तान्तरण हुन्थ्यो। ऋषि, साधु र गुरुहरूका पाठशाला, यज्ञस्थल, तपस्थलहरू यत्रतत्र भेटिन्थे। पहाडका टाकुरा वा मैदानजस्तो भागमा खुल्ला चउर भेटिन्छन्, जहाँ कुनै विरुवा उम्रेका हुँदैनन्, ती सबै यज्ञस्थल हुन्।
उदाहरणका लागि मृगस्थली र धु्रवस्थलीमा जंगल छ तर कैलाशमा कुनै विरुवा छैन। यज्ञ भएका ठाउँमा विरुवा उम्रदैन। हिमालका चोटी, पहाडका टाकुरा, नदीका किनारा र गुफाको एकान्तमा पुर्खाले आत्मचिन्तन एवं ब्रम्हाण्डको अनुसन्धान गरे।
अग्नि र वेदलाई साक्षी राखेर यज्ञ गर्थे, भूऊर्जाअनुसार भौतिक संरचना बनाउँथे, ग्रहको प्रभाव हेरी ज्योतिषका ग्रन्थ लेख्थे, ध्वनिअनुसार संगीत र वनस्पतिका आधारमा आयुर्वेदको अध्ययन गर्थे, प्रकृति र प्राणीको सम्बन्धमाथि चिन्तन गर्थे।
पानीमा चेतना हुन्छ, वनस्पतिमा प्राण हुन्छ भन्ने बुझेर जल र जंगलको निकटमा बस्थे। मन्त्र, आगो, पानी र प्रकृतिको संयोजन गर्न नेपालमा सहज भएकाले अनेक सिद्धि गर्न ऋषि र साधक आउँथे। मन्त्रशक्ति पानीमा, तन्त्रशक्ति वायुमा, अदृश्यशक्ति यन्त्रमा प्रयोग गर्न नेपालले सिकायो।
विश्वका अधिकांश मानव एवं सभ्यताको विकासमा जल, जंगल एवं जमिनको बनोटले प्रभाव पारेको छ। उपनिवेशकालमा जलमार्गबाट अन्य देश र महादेशमा पुगे। जलस्रोतले सम्पन्न भएकाले अन्न उब्जन, फलफूल फल्न, जीवन धान्न नेपालमा सजिलो भएकाले साधकहरूको बस्ती बाक्लिन पुग्यो।
यहाँको वायुले जीवन, माटोले मूर्ति, पानीले शान्ति, जमिनले जागरण दिने हुँदा साधकहरू आकर्षित भए। अहिले पनि भारतबाट हिन्दूहरू, बौद्धराष्ट्रबाट बुद्धका अनुयायीहरू उच्च साधनाका लागि नेपाल नै आउँछन्।
विश्वका अधिकांश मानव एवं सभ्यताको विकासमा जल, जंगल एवं जमिनको बनोटले प्रभाव पारेको छ। उपनिवेशकालमा जलमार्गबाट अन्य देश र महादेशमा पुगे। जलस्रोतले सम्पन्न भएकाले अन्न उब्जन, फलफूल फल्न, जीवन धान्न नेपालमा सजिलो भएकाले साधकहरूको बस्ती बाक्लिन पुग्यो।
यहाँबाट सीप, शिक्षा, संस्कारलाई सिकाउन प्राचीनकालदेखि ऋषिहरू बाहिरिए। यहीँबाट संस्कृतभाषाको वितरण भयो, वैदिक ज्ञानको हस्तान्तरण भयो, अनेकौँ सीप र संस्कारको सञ्चार भयो, प्रविधि र विद्याको प्रसारण भयो। यहाँबाट मूल फुटेका ज्ञान र प्रविधिहरू तक्षशिला, नालान्दा, विक्रमशिला भई विश्वविद्यालयमा रूपान्तरित भए।
केहीले गुरुकुल र वंशकुलमा रही फूले, फले र संस्थागत रूप लिए। नेपाली बसाई सरेको क्षेत्रलाई आर्यावर्त, उनीहरूको धर्मलाई सनातनधर्म, संस्कृतिलाई वैदिक संस्कृति भनियो। इण्डोनेशियादेखि अफगानिस्तानसम्म, तिब्बतदेखि श्रीलंकासम्म हाम्रा शिक्षा, संस्कृति, विज्ञान आदिले जरा गाड्न पुगे।
हामी सुस्ताएपछि सिन्धुघाँटीको सभ्यता जग्मगायो, वनारसलाई विद्याको भण्डार बनाइयो। समयसँगै वैभवको बासस्थल, ज्ञान मौलाउने भूगोल फरक हुन पुग्यो। अहिले अमेरिका एवं युरोप विद्याको खानी, अर्थको भण्डार बनेकाले त्यहाँ ओइरो लाग्ने क्रम बढेको छ।
नेपाल, वैदिक शास्त्र र धर्मलाई बुझ्न यहाँको भूगोल, पुराण, प्रकृति, प्राणीमाथि अनुसन्धान हुनुपर्छ। भुसुण्डीरामायणको १४० औँ अध्यायले राजा दशरथ पशुपति, गुह्येश्वरी आदिको दर्शन गर्न आएको बताउँछ।
हिमवत्खण्ड, पशुपतिपुराण आदिले कृष्ण, प्रद्युम्न काठमाडौं उपत्यका आई प्रद्युम्नले सूर्यकेतुकी छोरी प्रभावतीसँग विवाह गरेको जानकारी दिन्छ। पाण्डवका गुरु धौम्य ऋषिको साधनास्थल इलामजिल्लामा पर्छ।
नेपालका नदी, हिमाल, कुण्ड, भञ्ज्याङ, गुफा, घाट, टाकुरा आदिमा ऋषि, सिद्ध, राक्षस आदि तपस्या गर्न आएको पुराण, जनश्रुति, शिलालेख, इतिहास आदिले बताउँछ। मुस्ताङको लोमाङथानमा लोमश ऋषिको साधनास्थल छ।
कागभुसुण्डीले तिलिचो ताल, गोरखाजिल्लाको भुसुण्डीखोला एवं काठमाडौंको सुन्दरीजलस्थित कागेश्वरमा साधना गरेका थिए। जनकपुर, पशुपति, गोसाइँकुण्ड, मुक्तिनाथलगायतमा दर्शन तथा स्नान गर्न नेपालेतरका महामनाहरू प्राचीन कालदेखि आउँथे।
कृतानि त्रीणि कुण्डानि ब्रम्हणात्र तपस्विना।
योगेनैव पवित्राणि लोकोद्धारणहेतुना।।
कश्यपोपि तपस्तेपे शिवाराधनतत्परः।
दक्षः प्रजापतिः श्रेष्ठो मार्कण्डेयो महामुनिः।।
अश्वत्थामा बलिव्र्यासो हनूमाँश्च कृपस्तथा।
रामो विभीषणो रक्षस्तेपिरे दीर्घजीविनः।।–हिमवत्खण्ड, (७१।१७–१९)
अर्थात् “ब्रम्हाजीले यहीँ तपस्या गरी तीन कुण्डको स्थापना गरे, कश्यप र दक्षप्रजापतिले यहीँ साधना गरे। मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनूमान्, कृपाचार्य, परशुराम र विभीषणले यहीँ तपस्या गरेर चिरञ्जीवी भए।”
पृथ्वीकै पुण्यतम पाशुपतक्षेत्र यहीँ छ, जसले सबै प्रकारका इच्छाहरू पूरा गर्नका साथै भुक्ति र मुक्ति प्रदान गर्दछन्। नेपाल दैवी र प्राकृतिक ऊर्जाले सम्पन्न राष्ट्र हो किनकि जहाँका प्रत्येक पत्थरहरूमा शिवको बास छ, प्रत्येक नदी र खोलाहरूमा विष्णुको निवास छ, प्रत्येक फूलहरूमा ब्रम्हाजीको आसन छ, प्रत्येक बाँसमा कृष्णको धुन छ, हरेक कमलमा सरस्वतीको सुबास छ, हरेक खनिजमा परशुरामको पराक्रम छ, हरेक काठमा बलरामले प्रयोग गर्ने अचूक हतियार हलोको तागत छ, हरेक गुफामा सिद्धहरूको तपस्यास्थल छ।
शैवभूमि महादेवले नाचेको भूमि, व्याकरणका चौध सूत्रको उत्पत्तिस्थल नेपालै हो। वेदव्यासले तनहुँको दमौलीस्थित व्यासगुफामा बसी वेदको संकलन तथा विभाजनसहित १८ पुराणहरूको रचना गरे।
सतीदेवीको अंगपतन भएको स्थानमा चौसठ्ठी शिवलिंग उत्पन्न भए। त्यहाँ ऋषिहरूले साधना गरी उनीहरूकै नामबाट शिवलिंगको नाम राखियो। ललितपुरस्थित कालेश्वरशिवलिंगमा यमराजले, मकवानपुरको पाण्डुकेश्वरशिवलिंगमा पाण्डवहरूले, नुवाकोटको कपिलासवेसीमा राक्षसराज रावणले राक्षसेश्वरशिवलिंग स्थापना गरे।
असित ऋषिले गौतम बुद्धको पैतालामा चक्रको चिन्ह, हात र खुट्टाको चमकलगायतका दैवी लक्षण देखेपछि नारायणको अंश एवं विष्णुको नवौँ अवतार भनी भविष्यवाणी गरे। प्रो. बाबूलालले यस विषयमाथि प्रकाश पारेका छन्। धादिङ जिल्लाको असितेश्वरशिवलिंगले असित ऋषि यहीँका थिए भन्ने बताउँछ।
नेपालका देवीदेवता एवं ऋषिमुनिहरूको नामबाट कैयौँ हिमाल, पहाड, नदी आदिका नाम राखिए। उनीहरूले अवतार लिएको, साधना गरेको, युद्ध र शस्त्रअस्त्रको अभ्यास गरेको स्थान यहीँ थियो भन्ने जानकारी कञ्चनजंघा, कालीञ्चोक, दार्चुला आदिको भूगोलले दिन्छ।
यहीँबाट शैव र शाक्त तन्त्रको विकास, विष्णु अनुष्ठानको प्रारम्भ, बोन र बौद्धधर्मको प्रसारण भयो। नेपालले देवीदेवता र ऋषिऋषिकाहरूसमेत पैदा गरी आर्यावर्तलाई वेद, पुराण, मुन्धुम, त्रिपिटक र तन्त्र आदि दियो। यहीकारण मच्छेन्द्रनाथ, गोरखनाथ र शंकराचार्यहरू तीर्थमयी नेपालको दर्शनाभिलाषी भएर आए।
गोरखनाथले द्रव्य शाह, राम शाह र पृथ्वीनारायण शाहलाई आशीर्वाद दिए। राजा विक्रमादित्य नेपालमा आएर वज्रयोगिनीको साधना गरे, काठमाडौंको बत्तीसपुतलीसँग उनको इतिहास जोडिएको छ। शिवदेवको शासनकालमा (वि. सं. ११५८) काशीबाट शंकराचार्य आएका थिए।
देवमाला एवं वंशावलीहरूअनुसार अंशुवर्मालाई यमराजले स्वप्नामा आफ्नो मूर्ति बनाई प्रकाश पार्न भनेका थिए। काशीबाट विश्वनाथभैरव काठमाडौँस्थित भद्रकालीको जात्रा हेर्न आउँदा यहाँका तान्त्रिकहरूले समातेर राखे।
विभिन्न लोकका देवीदेवता नेपालमा बस्न आएको पढ्न पाइन्छ। पछिल्लो समयमा खप्तड स्वामी, शिवपुरीबाबा, पाइलटबाबा, मुरारीवापुले मात्र होइन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा तपस्या गरे। भारतमा चुनाव आउँदा वा मन्त्रीमण्डल परिर्वतन हुन लाग्दा पशुपति दर्शन, मुक्तिनाथको स्पर्शका लागि लालायित हुन्छन्।
शिरध्वज जनकले यहीँ सीतालाई प्राप्त गरे, जनकदर्शन लेखे। देवपत्तन (पाशुपतक्षेत्रमा देवीदेवता बस्छन्) र ऋषिपत्तन (ऋषिहरूको निवासस्थान नुवाकोट) यहीँ पर्छन्। नरहरिनाथ महाराजजीका अनुसार काशीभन्दा पहिले विद्याको केन्द्र कास्की भएकाले न्याय हराए गोरखा जानु विद्या हराए कास्की जानु भनिन्थ्यो।
कास्की शब्द अपभ्रंश भई काशी हुन पुग्यो। पर्वतजिल्ला ज्योतिष, वाग्लुङ तन्त्रशास्त्र, मुस्ताङजिल्ला पितृमुक्ति, मनाङजिल्ला ब्रम्हचिन्तनका लागि प्रसिद्ध थियो। चीन र तिब्बतबाट प्रभावकर मित्र, ह्वेनसाङ, लिंपियाओ, शान्तरक्षित, मञ्जूश्री आदि महामनाहरू विभिन्न प्रयोजनका लागि नेपाल आएका थिए।
क्रकुच्छन्द बुद्धले शिवपुरीडाँडामा शिष्यहरूलाई भिक्षु बनाउने क्रममा जुंगा, दाह्री खौरिएर चूडाकर्म गराई वाक्यद्वारा वाग्वतीको उत्पत्ति गराएको चर्चा स्वयम्भूमहापुराणमा छ। जैनधर्मका आचार्य भद्रबाहु र स्थूलभद्रसमेत नेपाल आएका थिए।
अहिले पनि साइवेरियादेखि अनेकौँ चराहरू नेपालमा आउँछन्। यसैले नेपालमा प्रकृति र अप्सरा आइन्, जंगल र जल आए, देवीदेवता र हिमाल बसे, गुफा र कन्दराहरू लुके। नेपालको महत्व बुझेर अदृश्य र अप्राप्य शक्तिहरू बस्न, घुम्न, दर्शन गर्न आइरहन्छन्।
\यहाँ नआउने देवीदेवता भएनन्, साधना नगर्ने ऋषि बनेनन्, माटोका टीका नलगाउने वीर भएनन्। यहाँ जो आए, नेपाली भए, आर्य बने। लिच्छविहरू, राजा हरिसिंहदेव भारतबाट आए तर नेपाली बनी बसे। नेपाल आउनमा, नेपाली हुनमा गौरव हुनेहुँदा प्राणीदेखि प्रकृतिसम्मले यही धरालाई पहिलो बासस्थान बनाए।
Facebook Comment