प्ले अफ समीकरण पूरा भएपछि एनपीएलमा आज ब्रेक
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) का कुनै पनि खेल हुने छैनन्। एनपीएलमा प्लेअफको समीकरण पूरा भएकाले एकदिन खेलमा ब्रेक लिइएको हो।
बुधबार भने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबिचमा प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिम १२ अंकसहित शिर्ष स्थानमा छ भने जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको छ। सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा रहेको छ भने ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहेको छ।
उता, लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भए पनि कर्णाली याक्सले रन रेटका आधारमा प्लेअफमा स्थान बनाउने टोलीमा गनिएको छ। जसअनुसार ४ खेलमा जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रामा रहेका छन्।
अब शीर्ष स्थानमा रहने दुई टोली सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्, जहाँ चितवन र कर्णाली मैदानमा उत्रनेछन्। जसकाे समान अंक ८–८ रहेकाे छ। क्वालिफायर र एलिमिनेटरका दुबै खेल बुधबार नै हुने नेपाल क्रिकेट संघले जनाएको छ।
Facebook Comment