क्यानडाको राजनीतिमा उथलपुथल, उपप्रधानमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीलाई पद छोड्न दबाब

डिसी नेपाल
२ पुष २०८१ ११:०५

काठमाडौं । क्यानडाकी उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको झडपपछि सोमबार राजीनामा दिएकी छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने तयारी गरेको सम्भावित ट्यारिफको मुद्दामा यी दुईबीच मतभेद थियो।

यो राजीनामा ट्रुडोका लागि अप्रत्याशित धक्का मानिएको छ । ट्रुडोले क्यानडामा अल्पमतको सरकार चलाउँदै आएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार लिबरल पार्टीका नेता ट्रुडो पहिले नै सर्वेक्षणमा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभ्रेभन्दा २० प्रतिशतले पछि परेका छन्।

पोल ट्र्याकरका अनुसार उनी पहिलो पटक प्रधानमन्त्री हुँदा ६३ प्रतिशतले ट्रुडोलाई मन पराए । अहिले उनलाई समर्थन गर्नेको संख्या २८ प्रतिशत मात्रै छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार वरिष्ठ क्याबिनेट सहयोगीको राजीनामालाई सन् २०१५ मा सत्तामा आएपछि ट्रुडोका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा वर्णन गरिएको छ।

ट्रुडो मन्त्रिपरिषद्का सदस्यले गरेको यो पहिलो खुला विरोध हो र यो कदमपछि सत्तामा उनको पकड कमजोर हुने सम्भावना छ ।

फ्रिल्याण्डको स्थानमा क्यानडाका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्ल्याङ्कलाई अर्थमन्त्री बनाइएको छ ।

क्रिष्टिया फ्रिल्याण्डले उपप्रधानमन्त्री पद छाडेपछि ट्रुडोमाथि दबाब बढेको छ । धेरै विपक्षी दलहरूले ट्रुडोको राजीनामा मागेका छन्।

ट्रुडोका सहयोगी क्यानडाको एनडीपी पार्टीका नेता जगमीत सिंहले पनि प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

पछिल्लो निर्वाचनमा ट्रुडोभन्दा अगाडि रहेका कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभियरले क्यानडाको हाउस अफ कमन्समा प्रधानमन्त्रीमाथि हमला गरेका छन् ।

उनले भने, “बजेट पेश गर्ने दिन अर्थमन्त्रीले राजीनामा दिइन् । त्यसपछि यो काम उद्योगमन्त्रीलाई दिइयो, उनले पनि यो जिम्मेवारी लिएनन्। अब ट्रुडो आफैं संसदमा आएर बजेट पास गराउनुपर्छ।”

अर्को झट्कामा ट्रुडो क्याबिनेटका आवास मन्त्री सान फ्रेजरले पनि राजीनामा दिएका छन् । उनले फ्रील्याण्डलाई एक पेशेवर र सहयोगी सहकर्मीको रूपमा वर्णन गरे।

डलहौजी विश्वविद्यालयका प्राध्यापक लोरी टर्नबलले समाचार एजेन्सी एएफपीलाई फ्रील्याण्डको राजीनामा ‘ठूलो धक्का’ भएको बताइन्।

उनले भनिन्, “यस राजीनामाले ट्रुडोप्रति ‘आत्मविश्वासको संकट’ रहेको देखाउँछ। अब उनलाई प्रधानमन्त्री रहन झनै कठिन हुनेछ।”

ओटावा युनिभर्सिटीका प्रोफेसर जेनेभ टेलियरले पनि अहिलेसम्म क्याबिनेट पूर्ण रुपमा ट्रुडोको साथमा रहेको तर अहिले उनी ठूलो समस्यामा परेको बताउँछन् ।

प्रोफेसर टेलियर भन्छन् “कार्यालय छोडेर, फ्रिल्याण्डले ट्रुडोको आर्थिक नीतिहरूलाई अस्वीकार गरेकी छिन् र यो ठूलो समस्या हो किनभने यो स्पष्ट छ कि क्याबिनेट पहिले जस्तै ट्रुडोसँग छैन।”

क्यानडामा आगामी अक्टोबरमा संसदीय निर्वाचन हुँदैछ। पछिल्लो घटनाक्रमपछि लिबरल पार्टीमा नेतृत्व संकट आउने धेरै विज्ञहरूको विश्वास छ ।

नानोस रिसर्च पोलिंगका निक नानोसले रोयटर्स समाचार एजेन्सीलाई भने, “यो लिबरल पार्टी भित्र नेतृत्व संकटको सुरुवात हुन सक्छ। यो ट्रुडोका लागि व्यक्तिगत र राजनीतिक रूपमा ठूलो धक्का हो।”

टोरन्टो विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक नेल्सन वाइसम्यानले रोयटर्सलाई भने “फ्रील्याण्डको राजीनामा ‘आघात’ थियो।”

उनले भने, “यो साँच्चै विस्फोट हो। मलाई लाग्छ कि लिबरल पार्टीको सबैभन्दा ठूलो समस्या ट्रुडोलाई हटाउने कुनै उपाय छैन। यो पार्टी भित्रको सामान्य विद्रोहले मात्र गर्न सक्छ।”

फ्रिल्याण्डले आगामी संसदीय चुनावमा उम्मेदवारी दिने बताएकी छन् । यी निर्वाचनहरू अक्टोबर २०२५ मा हुने सम्भावना छ।

ट्रुडोले यसपटक पनि लिबरल पार्टीको नेतृत्व गर्ने योजना रहेको संकेत गरेका छन् ।

क्यानडाका केही सञ्चारमाध्यमले अब ट्रुडोले पनि पद त्याग गर्न सक्ने दाबी गरे पनि प्रधानमन्त्री कार्यालयले यसलाई अस्वीकार गरेको छ ।

आफ्नो राजीनामा पत्रमा, फ्रिल्याण्डले क्यानडामा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको योजना उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, “आज हाम्रो देशले ठूलो चुनौतीको सामना गर्न गइरहेको छ। पछिल्ला केही हप्ताहरूमा, तपाईं र म क्यानडाको भविष्यको बारेमा असहमति गरिरहेका छौं। हामीले ट्रम्पको धम्कीलाई गम्भीरताका साथ लिनुपर्छ किनभने दुई देशहरू बीच ट्यारिफहरू हुनुपर्छ। यस विषयमा कुनै राजनीतिक नाटक छैन।”

फ्रील्यान्ड पत्रकार थिइन् र सन् २०१३ को चुनाव जितेर संसदमा पुगेकी थिइन् । दुई वर्षपछि उनी ट्रुडोको क्याबिनेटमा सामेल भइन्। उनी परराष्ट्रमन्त्री पनि भइसकेकी छिन् । हालै उनलाई ट्रम्पको सम्भावित ट्यारिफ योजनाको जवाफ दिने जिम्मेवारी दिइएको थियो।

अब नयाँ अर्थमन्त्री लेब्ल्याङ्कले ट्रम्पको टोलीसँग ट्यारिफहरूबारे वार्ता गर्नुपर्नेछ। अमेरिका क्यानडाको प्रमुख व्यापारिक साझेदार हो। क्यानडाको ७५ प्रतिशत निर्यात अमेरिकामा जाने गर्छ।

गत महिना ट्रुडो फ्लोरिडा गएर ट्रम्पलाई भेटेका थिए तर अहिलेसम्म ट्रम्पको तर्फबाट ट्यारिफ प्लान परिवर्तनको बारेमा कुनै वक्तव्य आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *