सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। दाङ, कास्की, मोरङ, महोत्तरी, इलाम र मकवानपुरमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका-२ कटेस नालामा बा ४ ख २२६१ नम्बरको ट्रकले रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरुङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, कास्कीको पोखरा महानगरपालिका-२६ सुन्दरीबजारस्थित सडक छेउमा पार्किङ गरी राखेको लु २ ख ४५२७ नम्बरको टिपरमा ग ११ प ६०५६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृ्त्यु हुनेमा मोटरसाइकल चालक पोखरा महानगरपालिका-३३ बरपौवा बस्ने २८ वर्षीय अशोक लामिछाने रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता, मोरङको सुनवर्षी नगरपालिका-९ भेरुवाथानस्थित सडकमा मे ४ प १८२३ नम्बरको मोटरसाइकल ना ३ ख ९९०४ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका-९ बालुबारीका २५ वर्षीय स्वाचन ऋषिदेवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङकै बूढीगंगा गाउँपालिका-३ कमला स्टिल फ्याक्ट्री अगाडि ना ६४ प ७२० नम्बरको मोटरसाइकले को ५ प ७०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा को ५ प ७०६८ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-६ बस्ने ४५ वर्षीय नगेन्द्र गच्छदारको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ना ६४ प ७२० नम्बरको मोटरसाइकल चालकको फरवार्ड सामुदायिक अस्पताल दुहबीमा उपचार भइरहेको छ।
यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका-१ रातु पुलमा बा प्र ०३-००१ ख २७२९ नम्बरको बसको ठक्करबाट पैदलयात्री करिब ४५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलामको माङसेबुङ गाउँपालिका-३ सल्लेनीस्थित भित्री सडकमा ना ३ ख ६०३७ नम्बरको ट्रकको पछाडिको दाहिने साइडको चक्काको हेङ्गर बल्टु भाँच्चिई बनाउने क्रममा गाडी उठाउने जग चिप्लिएर उक्त ट्रकको बडिले च्यापिएर ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ भारापाका ३८ वर्षीय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको छ।
यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ रजतजयन्ती चोकमा ना ६ ख ३३७६ नम्बरको ट्रकले किच्दा सडक छेउमा सुतेका अन्दाजी ३५ वर्षीय कृष्ण न्यौपाने नाम बताउने पुरूषको मृत्यु भएको छ।
सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै एलाइभ अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comment