वर्षाले खेल अवरुद्ध भएपछि नेपाल र भारतले अंक बाँडे
काठमाडौं । एसीसी महिला अण्डर १९ एसिया कपमा आज भएको नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएपछि नेपाल र भारतले अंक बाँडेका छन् । भारतीय इनिङको चौथो ओभर सुरु हुँदा पानी परेपछि खेल रोकिएको थियो ।
नेपालले दिएको ९५ रनको लक्ष्य पच्छ्याएको भारतले खेल रोकिँदासम्म कुनै विकेट नगुमाइ २८ रन बनाएको थियो । वर्षाले अवरुद्ध हुँदासम्म भारतको इनिङको ३ ओभर एक बल मात्र खेल भएकोले खेल रद्द भएको हो । आइसीसीको नियमअनुसार टि–२० खेलमा डिएलएस नियम लागू गर्न दुवै टिमले कम्तीमा ५ ओभर ब्याटिङ गर्नुपर्छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियोे । नेपालका लागि कप्तान पूजा महतोले २४ रन बनाइन्, एलिसा कुमारी यादवले ३० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
भारतका लागि परुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । मिथिला भी र आनन्दिता किशोरले १–१ विकेट लिए । नेपाल यो खेलअघि नै पाकिस्तानलाई हराउँदै सुपर ४ प्रवेश गरिसकेको छ । आजको खेलको नतिजाले नेपालको आगामी खेल तालिका तय गर्नेछ । सुपर ४ मा नेपालले बंगलादेश र श्रीलंकाविरुद्ध खेल्नेछ ।
Facebook Comment