यस्तो बन्यो महिला यु–१९ एसिया कपमा नेपालको सुपर ४ को खेल तालिका

डिसी नेपाल
२ पुष २०८१ १७:०२

काठमाडौं । एसीसी महिला अण्डर १९ एसिया कपमा नेपाल र भारतबीचको आज भएको खेल वर्षाका कारण बीचैमा रोकिएपछि दुवै टोलीले अंक बाँडेका छन् । यससँगै एक–एक खेल जितेका र एक खेलमा अंक बाँडेका नेपाल र भारत दुवै सुपर ४ मा पुगिसकेका छन् । आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल सकिएसँगै सुपर ४ को समीकरण पूरा भएको छ ।

यो प्रतियोगितामा एसीसीका ४ पूर्ण सदस्य राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका साथै नेपाल र मलेसिया समावेश थिए । पूर्ण सदस्य राष्ट्रहरु सोझै प्रतियोगिताका लागि छनोट भएका थिए । नेपाल गएको नोभेम्बरमा भएको यु–१९ विश्वकप एसिया छनोटको फाइनलमा युएइलाई हराउँदै विश्वकप र एसिया कप दुवैका लागि एकैपटक छनोट भएको थियो । मलेसियाले आयोजकको रुपमा प्रतियोगितामा स्थान पाएको थियो ।

प्रतियोगिताको समूह चरणमा समूह ए बाट दुवै खेल हारेर आयोजक मलेसिया बाहिरिएको छ । यस्तै समूह बी बाट दुवै खेल हारेर पाकिस्तान पनि बाहिरिएको छ । अब प्रतियोगिताको सुपर ४ चरणमा नेपालले अर्को समूहका दुवै शीर्ष टोली श्रीलंका र बंगलादेशसँग एक–एक खेल खेल्नेछ । ती खेलपछि अंक तालिकाको शीर्ष स्थानका २ टोली फाइनल खेल्नेछन् ।

समूह ए को शीर्ष स्थानमा बंगलादेश छ र दोस्रो स्थानमा श्रीलंका छ । यस्तै समूह बी को शीर्ण स्थानमा नेट रनरेटका आधारमा भारत छ र दोस्रो स्थानमा नेपाल छ । एसियाली क्रिकेट परिषदले तय गरेको तालिकाअनुसार अब नेपालले सुपर ४ को पहिलो खेल पुस ४ गते बिहीबार दिउँसो नेपाली समयअनुसार पौने १ बजे श्रीलंकाविरुद्ध खेल्नेछ ।

नेपालको सुपर ४ मा नेपालको दोस्रो खेल पुस ५ गते शुक्रबार बिहान नेपाली समयअनुसार सवा ७ बजे बंगलादेशविरुद्ध हुनेछ । यस्तै भारतले पनि बंगलादेश र श्रीलंका दुवैसँग खेल्नेछ । समूह ए का दुवै शीर्ष टिमले समूह बी का दुवै शीर्ष टिमसँग खेलिसकेपछि बन्ने अंक तालिकामा शीर्ष स्थानमा दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल पुस ७ गते आइतबार नेपाली समयअनुसार दिउँसो पौने १२ बजे हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *