भानुआटुको राजधानीमा शक्तिशाली भूकम्प
पोर्ट भिला। प्रशान्त राष्ट्र भानुआटुमा मंगलबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ। एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ७.३ म्याग्निच्युडको भूकम्प ५७ किलोमिटरको गहिराइमा भानुआटुको मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा स्थानीय समयानुसार दिउँसो १२ः४७ बजे गएको थियो।
केही मिनेटपछि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो। त्यसपछि ससाना कम्पनहरू आए। भूकम्पले तीन लाख २० हजार जनसङ्ख्या भएको कम–उचाइको यो द्वीप समूहलाई भूकम्प–संवेदनशील प्रशान्त रिम अफ फायरमा हल्लायो।
पोर्ट भिलामा अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डको कूटनीतिक मिशनद्वारा प्रयोग गरिने चार तले कंक्रिट भवनको भुइँ तला पूरै भत्किएको एएफपीका फोटोहरूले देखाएका छन्।
अमेरिकी र फ्रान्सेली दूतावासका कर्मचारीहरू सुरक्षित रहेका दुवै मुलुकले बताएका छन्। अमेरिकाले अर्को सूचना नआउन्जेलसम्म आफ्नो दूतावास बन्द गरेको छ। फ्रान्सले आफ्नो मिशन ‘नष्ट’ भएको बतायो।
‘सहरका भवनहरूमा मानिसहरू छन्। हामी त्यहाँबाट हिँड्दा त्यहाँ शवहरू थिए’, सामाजिक सञ्जालमा विनाशका तस्बिर पोस्ट गरेपछि स्थानीय बासिन्दा माइकल थम्पसनले स्याटेलाइट फोनबाट भने, ‘एउटा सडकमा भएको भूस्खलनले एउटा बसलाई ढाकेको थियो, त्यसैले त्यहाँ स्पष्ट रूपमा केही मृत्यु छन्।’
थम्पसनले कूटनीतिक भवनको भुइँ तला ध्वस्त हुनुका साथै भूकम्पले कम्तीमा दुईवटा पुल पनि खसाएको र अन्य भवनहरू पनि भत्किएको बताए।
Facebook Comment