गढीमाई मेलाको अन्तर्य

विजय वशिष्ठ
३ पुष २०८१ १४:०८

गढीमाईको मन्दिर बारा जिल्लाको बरियापुरमा पर्दछ। यो मन्दिर देवी कालीको हो। यो मन्दिरमा प्रत्येक पाँच वर्ष अन्तर्राष्ट्रिम मेला लाग्दछ नेपाल र भारतका यात्रीहरू‌को घुइँचो लाग्छ। यो मेलामा असंख्य रूपमा पशुपन्छीको बली दिइन्छ।

यो स्थललाई ब्रह्मस्थान भनिन्छ। असंख्य मात्रामा पशुकाे बली दिएपनि वधस्थलमा झिँगा देखिँदैन, यो देवीको कृपा हो भन्ने मान्यता छ। मानिसहरू आफ्नो इच्छा मनोकामना पूरा गर्न यहाँ भाकल र इच्छा भएपछि पशुपन्छीको बली दिन्छन्।

मेला कसरी सञ्चालन भयो भन्ने उत्पत्तिको सम्धमा एउटा एउटा किंवदन्ती रहेको छ। एक जना चौधरी मकवानपुरगढीमा कैदी भएको अवस्थामा एक रात सपनामा माताले भन्छिन्- “मलाई यहाँबाट लैजाउ र अन्यत्र स्थापना गर, म यहाँ बस्दिन”।

चौधरीको म कैदी कसरी सहयोग गरौं भन्दा देवीले चिन्ता लिनु पर्दैन भनिन्। भोलिपल्ट चौधरी जेलबाट छुटेछन् र देवीको मूर्तिलाई दिनरात लगाएर हालको स्थानमा स्थापना गरेछन्।

सिम्रोनगरमा एक सिद्ध गुरु रस्साले देवीलाई प्रशन्न पारी बाघहरू समातेर दाइँ गर्थेरे। र, देवीलाई बली नचढाएमा सिम्रौनगढ ढुङ्‌गामा परिणत हुन्छ भन्थे रे। त्यसैबेला मनसाबाबा नामक तान्त्रिकले देवीलाई बली नलिन आग्रह गरेपछि देवीले सो स्वीकार गरिन् र सिम्रौन‌गढ बलीमुक्त क्षेत्र घोषित भयो। तर देवीको लागि बलिस्थान बरियापुर रहन गयो।

देवी स्थापित गरेपछि चौधरीले मेरो नाउँमा अर्पण गरेको खानेकुरा म जहाँ भएपनि खान पाउँ भन्दा तथास्तु भनिछन्। एक दिन बुहारीले तातो दुध चौधरीलाई अर्पण गरिछन् त्यसले उनको ओठ पोल्यो र यसको बारेमा देवीलाई सिकायत गर्दा मलाई मलाई पाँच वर्षको पूजा एकैपटक गर्नु भन्ने आज्ञा दिइन्। माता जागेपछि बत्ती आफैं बल्छ। पहिले सेतो मुसो आफैं आउँथ्यो तर हाल खोजेर यसको बली दिइन्छ। त्यसपछि सुँगुर पाठो र रांगाको बली चढाएपछि अरु बली चढाइन्छ। यो महाकुम्भ मेला हो पशुबलीको।

बलीको वास्तविक अर्थ पशु हिंसा होइन, गीतामा भगवान कृष्णले अर्जुनलाई भन्नु भएको छ-जो व्यक्ति तामसिक भोजन गर्दछ र तामसिक यज्ञ गर्दछ त्यो मेरो भक्त होइन। हरेक प्राणीलाई सबैभन्दा प्यारो आफ्नै प्राण हुन्छ। देवी काली स्वयं दुर्गा माताकी स्वरूप हुन्।

यसैले भनिएको छ, “या देवी सर्वभूतेषु दया रुपेण सम्स्थिता”, “या देवी सर्वभूतेषु मातृ रुपेण सांस्थिता” तसर्थ देवीले आफ्नो सन्तानको हत्या गरि मासु भक्षण गर्छिन् भन्ने कुरा अन्धविश्वास मात्र हो। श्रीमद् भागवत महापुराणमा पञ्चम स्कधको अध्याय सातदेखि १५ सम्म जडभरतको कथा रहेको छ।

यस‌ कथामा जड‌भरत (जसको वास्तविक नाम भरत थियो) को पूर्व जन्मको कथा छ। उनी मृग योनीबाट मानिसको जन्म लिए। तब उनी जडवत रहे। उनी कुनै कुरामा पनि प्रतिक्रिया दिँदैनथे। तर राजा रहुगुणलाई जीवनको अर्थ बुझाएका थिए।

एकदिन एक डाकाको सरदारले आफ्नो मनोकांक्षा पूरा गर्न जंगलमा देवी भद्रकालीलाई मानव बली गर्नको लागि जडभरतलाई पक्राउ गरेर बली दिन ठिक पार्‍याे। त्यहिबेला माता काली प्रकट भएर जडभरतको रक्षा गरेको र सरदारलगायत उसका सहयोगी सबैको बध गरेको प्रसंग छ।

देवीभागवतमा रक्तवीजलाई नष्ट गर्न दुर्गामाताले कालीलाई उसको रक्तपान गर्न आह्वान गर्नुभएको छ। यसरी पुराण र धर्म ग्रन्थमा कहीँ कतै पनि पशुबली गरेर देवी देवता खुसी हुन्छन् भन्ने प्रमाण नै छैन।

अहिंसा परमो धर्म यही नै सनातन धर्मको सार हो। बली दिनुको अर्थ आफ्नो मन‌का बिकार, माया, मोह,लोभ, मद मात्सर्य आदिलाई त्यागगर्नु भन्ने हुन्छ नकि निहत्था असहाय एवं द‌यालु पशुपंक्षीको बली। गढीमाईको आश्चर्यजनक घटनाको वैज्ञानिक तथ्य के हो? देवी जागेको बेलामा बत्ती बल्नुका पछाडि वैज्ञानिक तथ्य के छ?

ब्रम्हनालमा पशुपंक्षीकाे बली दिँदा झिंगा नभन्किनुको पछाडि कुन वैज्ञानिक तथ्य लुकेको छ त्यसको सुक्ष्म अध्यन जरुरी छ। बैज्ञानिक अन्वेषण गर्न जरुरी छ। प्राचीनकालको केही लुकेको रहस्यमय घटनालाई परम्परा मानेर प्रत्येक पाँच वर्षमा असंख्य पशुपन्छीको बली दिनु कति न्यायाेचित?

देशमा यो अत्यासलाग्दो पशुहत्या श्रृंखला कहिलेसम्म? बली दिनु‌ नै पर्ने भए नरिवल कुभिन्डो आदिको दिएमा यसले वातावरणीय क्षति हुन दिँदैन र देवीको इच्छा पनि पूरा हुन्छ।

मानिसको चोला सर्वोच्च चोला हो। चौरासी लाख जुनिपछि मात्र यो जुनी प्राप्त हुन्छ। देवी देवताले मानव साथै पृथ्वीका जीवजन्तु‌को सुरक्षा गर्ने अभिभारा लिएका छन्। संपू‌र्ण जीव जन्तुको जन्म र मृत्यु जब मानिसको अधिन‌मा छैन भने जीवजन्तुको हत्या गर्ने अधिकार पनि छैन ।

तसर्थ अन्धविश्वास कुरीतिलाई संरक्षण नगरी यसको वैज्ञानिक तथ्य छ पता लगाउने त्यस‌को कारण अनुसार शक्तिपीठमा देवीलाई बली दिने गरौं। जब सिम्रोनगढ‌मा मानस बाबाको अनुरोधलाई देवीले स्वीकार गरेकी छन् भने बरियापुरमा पनि स्वीकार गर्ने नै छिन्। तसर्थ बलिको स्वरुप प्रवृति फेरौं।पशुहिसाको अन्त्य गरौं।

सन्दर्भ श्रोत

नेपालको धार्मिक स्थलहरु ( सान्स्कृतिक कोष) घटराज भट्टराई

श्रीमद्भागवत महापुराण गीताप्रेस गोरखपुर

देवी भागवत गीताप्रेस गोरखपुर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *