‘जलवायु परिवर्तनले देशको अर्थतन्त्र जोखिममा’
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य प्रभावका कारण देशको अर्थतन्त्र जोखिममा परेको बताएका छन्।
आज यहाँ आयोजित नेपाल ‘बिएफएसआई’ शिखर सम्मेलनमा मन्त्री ठकुरीले जलवायु परिवर्तनले वित्तीय क्षेत्रलाई गम्भीर असर पुर्याइरहेको बताएका हुन्। जलवायु परिवर्तनले मुलुकको आर्थिक र सामाजिक क्षेत्र जोखिममा परेको उनको भनाइ थियो।
‘हिमनदीहरू द्रुतगतिमा पग्लँदै जानु, मौसमी प्रणालीमा आएको फेरबदल र यसको प्रभावले हाम्रो कृषि, जल स्रोत, पर्यटन, वन तथा वातावरणका साथै जीविकोपार्जनलाई गम्भीर असर पुर्याइरहेको छ’, मन्त्री ठकुरीले भने, ‘हाम्रा विकासका लक्ष्य साथै आर्थिक र सामाजिक क्षेत्रलाई समेत जोखिममा पारेको छ।’
बाढीबाट करिब ४६ दशमलव ६० अर्ब रुपैयाँ बराबरको क्षति हुनुका साथै जलविद्युत्, खानेपानी, सिँचाइलगायत संरचनाहरुमा गम्भीर क्षति पुगेको अनुमान गरिएको उनले बताए। सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जलवायु संकटको सामना गर्नका लागि निरन्तर पहल गरिरहेको उनले जानकारी दिए।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले हरित अर्थतन्त्रको विकास र रुपान्तरणमा वित्तीय क्षेत्रको भूमिकाको चर्चा गर्दै दिगो अर्थव्यवस्था विकास गर्न वित्तीय संस्थाहरुलाई सरकारसँग सहकार्य गर्न आह्वानसमेत गरे।
Facebook Comment