पराइ आँखाहरु छल्दै, जिम्मेवारी पूरा गर्दा (१)

बिबश डिसी
४ पुष २०८१ ११:४०

तत्कालीन पूर्वी ब्युरो कार्यलयबाट जिल्ला पार्टी कार्यलयलार्ई लेखिएको निर्देशनात्मक योजनाको चिट्ठी र अत्याबश्यक सामग्रीहरु रिसिभ गरेर, हतार हतार बालाजु बसपार्क पुग्दा कटारी जाने रात्रीबस अघिनै छुटिसकेछ। धरान जाने बसचाहिँ छुट्ने अन्तिम तयारीमा रहेछ।

कण्डक्टर भाइले यो दाजुलार्ई बिना पैसा सिँत्तैमा लगिदिने झैं गरि झोलासमेत ऊ आफैंले बोकेर हात समाउँदै बसभित्र हुलेर सिटमा थचक्क बसायो। म जसरी पनि भोलि बिहान कटारी बजार पुग्नु छ। त्यसो त डाइरेक्ट बस नपाएपछि पूर्व जाने जुनकुनै बसमा मिर्चैयासम्मको निम्ति भएपनि चढ्नै पर्दथ्यो।

मैलेपनि त्यही मनस्थिति बनाइसकेको थिएँ। तर धरान जाने बसले राति करिब १-२ बजेतिरै मिर्चैया बजार झारिदिन्छ। मध्यरातिको सुनसान मिर्चैया बजारमा युद्ध सामाग्रीहरुले भरिएको झोला बोकेर पराइआँखा छल्दै सुरक्षित हुन कति कठिन हुन्छ? मनमनै त्यो पनि हिसाब गरिसकेको थिएँ।

त्यसो त कटारीको बसमा पनि प्रायजसो ओखलढुंगा जाने मलाई चिने जानेका थुप्रै यात्रुहरु हुन्थे!

तिनीहरु मध्य कोही कुनै नातेदार, छिमेकी वा अरुहरु जो कोही पनि पराइ मान्छेका परम् मित्रहरु परेछन् भने त च्यानमका एकजना मित्रको सुराकीमा उदयपुरको लेखानीमा म भनेर मसँग ठ्याक्कै अनुहार मिल्ने मेरो सहोदर साइँलो दाइ इन्द्रलार्ई बसबाट थुतेर लछार-पछार पार्दै आँखामा पट्टि बाँधेर माहाभारतको जंगलमा खाल्टो खनेर खाल्टोमा हाली छात्तीभन्दा तलको शरीर पुरै पुरेर कञ्चटमा राइफलको मोजलले घोच्दै लाठी र बुटद्वारा घण्टौंसम्म निर्मम एवं पाशविक रुपमा शारीरिक र मानसिक यातना दिएर तेरो अन्तिम इच्छा के छ भन्दै अन्तिममा गोलीहान्ने तयारी गर्दै गर्दा अन्ततः मलाई र मेरो दाइ दुबैलाई प्रष्ट चिन्ने हाम्रा नातेदार जो त्यही गस्ती टोलीको सदस्यको रुपमा सहभागी स्टाफहरुले अन्तिम अबस्थामा मात्र थाहा पाएर आफूहरु जमानी बसेर दाइलाई बँचाएको कहालीलाग्दो घटनाको सम्झना आइरहन्छ।

कटारीको त्यो रुटको कल्पना गर्दा म आफैंलाई चिने भने त झन् जिन्दगी त्यतै चिलिम च्याट भैहाल्यो नि हैट! यो जिन्दगीलाई केही गरेपनि कतैबाट सुख, शान्ति र सहजता भने चाहिँ पिटिक्कै थिएन। डरै डर अनि हरपल त्रास त भैहाल्यो नि!

म तत्कालीन जिल्लापार्टी र ब्युरो कार्यलयको बीच सूचना संचार र योजना आदान-प्रदान, लजेष्ट्रिक सप्लाई, हतियार तथा युद्ध सामग्रीको बन्दोबस्ती, जिल्ला पार्टीको सुरक्षा बिभाग इन्टेलिजेन्टलगायत जिल्ला कार्यलय र ब्युरो कार्यलयबीच समन्वयका जिम्मेवारी पनि सम्हालिरहेको थिएँ।

दोलाखाको मालु, च्यामा र रामेछापको खिम्ती आसपासबाट हाम्रो तत्कालीन ४ नम्बर जिल्ला पार्टीद्वारा सुरु गरिएको द्रूत अभियान, तत्कालीन जिल्ला पार्टीको दुधकोशी-तामाकोशी अर्थात जिल्लाको पश्चिम तामाकोशीबाट मध्य हुँदै पूर्व दुधकोशीसम्म बिचार र भावना अनि तिब्रगतिमा संगठनात्मक एवं फौजी अभियानले पनि जोड्ने अभियान अन्तर्गत कमरेड ‘प्रताप’ रितबहादुर खड्काको नेतृत्वमा रहेको हाम्रो जम्बु टोली मध्य दोलाखा हुँदै दोलखाको उत्तरी बेल्ट झ्याकु, सुरी, खारे, मार्बु, चंखु अनि चेर्दुङको लेकहुँदै माली, स्यामा रामेछापको

चुचुरे, ठोसे, बाम्ती भण्डार अनि सोलुखुम्बुको साबिक गोली गाबिस पुगेपछि विशेष कामले म चाहिँ टिमबाट छुटेर तत्कालै काठमाडौं दौडिइहाल्नुपर्ने भएकोले काठमाडौं आइपुगेको थिएँ। ब्युरो कार्यलयको सम्पर्क, नयाँ योजना अनि अत्याबश्यक युद्ध सामग्रीसहित कटारी हुँदै ओखलढुंगाको मोलुङबेल्टमा त्यही टोलीको सम्पर्कमा पुग्नै पने ठूलो चटारो थियो मलाई।

अर्कोतर्फ मैले सोलुखुम्बुको गोली गाँउमा छाडेको त्यही टिमले मोलुङबेल्टसम्म झरेर अन्जानबस केही गडबडी मच्चाएको कारण एक्सपोज भएकोले त्यो इलाका पनि पराइमान्छेको तिब्र दमन, धरपकड अनि कडा निगरानीमै भएकोले मैलेपनि अत्यन्तै साबधानी पूर्वक टिम सम्पर्कमा पुग्नुपर्ने थियो।

जसोतसो बसले बालाजु बसपार्कबाट पांग्रा गुडायो। राति करिब ११ बजे तिर हेटौंडा आसपास पुर्याएर खाना खुवायो। कण्डक्टर र खलासी भाइहरुलाई मलाइ मिर्चैयामा झारिदिन पुन सम्झाएँ। दिनभरीको थकाइ अनि बसको बेजोडको हँकाइ र बुरुक्क-बुरुक्क उफ्राइले थिलोथिलो भएको ज्यान तातोभात खाएपछि त पथलैयाको जंगलतिर नपुग्दै गहिरो निन्द्रामा भुसुक्कै निदाइएछ।

खलासी भाइले लाहानमा झर्ने कोही छ? भनेर जोडले चिच्याएको आबाजले पो मेरोपनि निन्द्रा खुलेछ। बस रोकियो। झसंग ब्युँझिएर यसो वरिपरी आँखा डुलाएँ। ला! म त लाहान पो आइपुगेँछु, लु बर्बाद भएछ! खलाँसी केटोलाई झपार्दै हत्त न पत्त बसबाट झरेर यसो पछाडि पट्टी हेरेँ।

म त इलाका प्रहरी कार्यलय लाहानको गेट नजिकै पो झरेँछु। हैट! जिउपनि सिरिंग भयो। एक त भर्खर निन्द्राबाट ब्यूझिँएको ज्यान अर्को तर्फ एक्कासी चौकी अगाडि फुत्त झर्नुपर्दा शरीरको केमिकलनै परिवर्तन भइहाल्यो। तर जेहोस आफू सहज र सामान्य रहने कोसिस गरेँ।

ड्यूटीमा रहेको प्रहरीले हत्त न पत्त सोधिहाल्यो, “ओइ फुच्चे कहाँ हिँडेको?’ “म मिर्चैयामा झर्नुपर्ने निदाएर यता आइपुगेँछु। “बरु कुनै साधन रोकेर मिर्चैयासम्म पुग्नको निम्ति सहयोग गरिदिनु न सर!’ मैले सहज रुपमा प्रहरिसँग सहयोगको अनुरोध गरेँ।

र, उल्टै बस स्टाफलाई गाली गरेर ड्यूटीमा रहेका प्रहरीको ध्यान अन्यत्रै मोड्दै, उसको म प्रतिको सहानुभूति लिने कोसिस गरेँ। हुनपनि त्यो मध्यराति प्रहरी चौकीमा झर्ने एउटा लिखुरे फुच्चे केटो खासै शंका गरेनन् होला उनीहरुले पनि। यदि शंका लागेको भए ब्याग खानतलासी हुने थियो। तर पनि औपचारिकता चाहिँ पूरा गर्न खोजे।

“झोलामा के छ? कहाँबाट आएको?’ राम्रै सोधनी भयो। मैले सहज रुपमा कपडा र घरायसी सामान भएको जबाफ दिँदै काठमाडाैंबाट आएको तथा दुधौली घर जानुपर्ने कुरा अवगत गराएँ। नजिकैको बेन्चमा बस्न अनुमतिसहित इसारा भयो।

करिब १५ मिनेट प्रहरी चौकीको गेटनजिकै बसेपछि पूर्वतिरबाट एउटा मालबाहक ट्रक हुइकिँदै आयो। ड्यूटीमा रहेका ती प्रहरीले ट्रक रोकेर मलाई चढाइ दिए, अनि मिर्चैया झारिदिन गुरुजीलाई सुझाए पनि।

मैलेपनि धन्यबाद सर भन्दै आभार ब्यक्त गरेँ। ट्रक आफ्नै गतिमा गुडिरह्यो। अलिक पर सडक पेटीमा मधेसी मुलकी एउटी अधबैँसे महिला उभिइरहेकी रहिछन्। सहचालक भाइ फुत्त झरेर खै कुन्नी केही सांकेतिक भाषा प्रयोग गर्यो मानौ त्यो बिषयमा उ अत्यन्तै पोख्त थियो।

अनि गुरुजी पनि उत्तै हामफाले र सबैजना उखुबारिमा अलप भए। मलाई चाहिँ आफ्नै तनाव र छटपटी छ। उदयपुरको कटारी बजार त्यो बेलाको हाम्रो पुर्ख्यौली जक्सन पनि हो। त्यहाँ त चिनजानका रङ्गी बिरङ्गी थुप्रै मान्छेहरु भेटिन्छन्! फेरि आफू त भूमिगत मान्छे।

उज्यालो नहुँदै कटारी बजार कट्न पाएपनि त खतरा अलिक कम हुन्थ्यो नि! त्यसो त मोलुङ दोभान नपुगुन्जेलसम्म त्यस्ता थुप्रै खतराहरु पारगर्नु पर्दथ्यो मैले। जसो तसो करिब दुई घण्टापछि गुरुजीहरु सन्तुष्ट मुद्रामा फर्किए अनि ट्रक हुत्याए। उज्यालो हुँदा मिर्चैया बजार पुगियो।

कटारी पुग्ने रात्री बसहरु अघिनै मिर्चैया कटिसकेका थिए। बल्ल–बल्ल सामान लोड गरिएको एउटा सिंगल क्याबको बोलेरो भेट्टाइयो र चढियो। तर त्यहाँ त सौरिनी फेदीगुठ घर भइ तत्काल काठमाडौंमा दरबन्दी भएका एकजना नेपाल प्रहरीको कर्मचारी दाइ पो बसिरहेका रहेछन्।

पुरानै चिनजान थियो यहाँसँग पनि। उनिपनि मेरै पाराले त्यहाँ आइपुगेका रहेछन्। उनले मलाइपनि चिनेको भएता पनि नाम पदम हो कि टंक हो भन्नेमा कन्फ्युज भएजस्तो लाग्यो। मैलेपनि थप स्प्रष्ट बनाउन चाहिन। यद्यपि मैले रियल नाम भनेको भए उनी प्रष्टै हुन्थे। मलाई केही असहज भयो हल्का शंका पनि लाग्यो।

जसो तसो कटारी बजार पुगेर उसलाई छोड्ने निधो गरेँ। भर्खरै खन्दै गरेको निर्माणाधीन मोटरबाटो जाने सोचसहित बाटो सोझ्याएँ। अलिक माथि पुगेपछि म भन्दा १–२ ब्याच जुनियर हुनुपर्छ सँगै बरुणेश्वर माबि रामपुर स्कुलमा पढेको राँगादिपको डम्बर राई (सानो डम्बर) लगायत हिँडिरहेको टिमसँग भेट भयो।

कटारी-ओखलढुंगाको मोटरबाटोको कटारी घुर्मी खण्ड तत्कालीन शाही नेपाली सेनाले निर्माण गर्दै थियो। ककरु खोला जहाँ पायो त्याहाबाट तर्न नसक्नेगरी बाढी आएको थियो।

सानो डम्मरले मेरो नामको पछाडि एकलाखा लगाएर “ओइ …..खत्री! तँ त माओबादीमा हिँडिस् भन्ने कुरा पो सुनेको थिए तँ कहाबाट यता आएको? अनि कता हिँडेको नि?“ भनेर फेरि तिरिखिरी पार्न लाग्यो बेइमानले!

म पनि उतै जाने हो भन्दै थप हल्ला एक्सपोज नगर्न सचेत गराए। अनि समूहकै चालमा पाइला बढाएँ। म लुखुरे केटो। पिठ्युमा करिब ३५ केजीको रुक्स्याक ब्याग छ। मेरालागि ककरु खोलाको भेलसँगै पचासौ जँगरहरु छिचोल्न फलामे चिउरा चपाउनु सरहनै हुन्थ्यो।

मैले मोटरबाटो भएर जान अनुरोध गरेँ तर डम्मरजीले पोक्तिङ खोलाको सयौं डर लाग्दा भेलहरु पार गरेको जिन्दगी हो यो तपाईंलाई सुरक्षितसँग पुर्‍याउछु। किन डराएको? भनेर ढुक्क भएर उसको साथ नछोड्न ढाडस दिँद मलाइ पनि उतै तान्दै लगे। म उतै लतारिएँ।

फेदीगुठका ती प्रहरी दाइलार्ई त्यतै बजारतिर छाड्दै हामी अघि बढ्यौं। खोलातर्ने क्रममा यदि झोला पानीमा डुब्यो वा बगायो भने मेरो लागि ठूलो अनिष्ट हुन सक्थ्यो। किनकी ठूलो रुकस्याक ब्यागमा माओबादी पार्टीको आधिकारिक मुखपत्र “माओबादी’ डेटोनेटर, अत्याधिक बिष्फोटक पदार्थ, गृनेट बनाउन प्रयोग गरिने जिआइ निप्पल लगायत महत्वपूर्ण युद्ध सामग्रीहरु अनि तत्कालीन पूर्वी ब्युरो कार्यलयले सोलु-ओखलढुंगा जिल्ला कार्यलयलाई निर्देशनसहित लेखिएको योजनाको चिट्ठिपनि थियो।

मैले बोकिरहेको त्यो सामग्री मेरो निम्ति त्यति नै महत्वपूर्ण र प्यारो थियो कि म आफू मरेर भएपनि उक्त सामग्री र चिट्ठी सुरक्षित रुपमा कार्यलयसम्म पुर्याउनु मेरो जिम्मेवारी, कर्तब्य, दायित्व र धर्म पनि थियो। यदि झोला डुबी हाल्यो भने चिज खुल्न सक्छ भन्ने त्रासले बादुरा दोभानसम्म नै सताइ रह्यो। हामी हिँड्दै गर्यौं। फराकिला र फिजारिएका जगरहरु त मुस्किलले आफू एक्लै पार गर्दै गएँ।

मैले त्यो टोलीमा रहेका सबै साथीहरु तिर नजर डुलाएँ, केश कटाइ र गफ गराएइको हाउभाउको आधारमा हामीहरु मध्ये एकजना मान्छे अलिक फरक र शंकास्पद लाग्यो। तर एउटै टोलीमा सँगै हिँडेपछि अघोशित रुपमा साथी बनिसकेका थियौं।

केही बेर पछि थाहा भयो कि पेट लागेको खाइलाग्दो अग्लो त्यो दाइ जिल्लाको पूर्वीबेल्ट पोखरे वा दियाले गाबिस को एक कार्की थरको ब्यक्ति धनुषाको धारापानी प्रहरी चौकीमा कार्यरत बरिष्ठ हबल्दार साप हुनुहुँदो रहेछ। ल ठिकै छ। हामी अघि बढिरह्यौं।

बेलडाँडाको जँगरमा चाहिँ खोला एकै ठाँउमा हुण्ठुनिएकोले पानीले कम्मर छोपी हाल्यो। खोलाको बीचतिर पुगेपछि म रन्थनिएर पुरै असन्तुलित बग्न थालेँ। तर कसो कसो गरी डम्मरजी अनि त्यही प्रहरी दाजुले दुबैतिर पाखुरामा च्याप्प समातेर पारिपट्टी हुत्त्याउन सफल भए। मेरो सातोपुत्लो उडिहाल्यो। गम्भीर दुर्घटना हुनबाट मुस्किलले जोगियो।

पारि पुगेर लामो सास फेरेँ। प्रहरी दाइ अघि अघि थिए। बेलडाँडाको डल्ले भैंसी ब्याएको होटलमा दाजुले झोला बिसाए। दर्जन बढी जँगरसँग पौँठेजोरी खेल्दै त्यतिबेला सम्मको हिडाइ र थकाइ अनि हल्का भोकले त झन ज्यान लखतरान हुँदै थियो। साथीहरुले मोइ खाने सल्लाह गर्नुभयो।

राईको छोरो डम्मरजीले डबाका उचालिहाल्नुभयो। त्यसैगरी प्रहरी दाइ अनि अरुहरु अनि मेरो पनि पालो आयो। मैले धेरै सोचें। अनि डबका उठाएँ। प्रहरी दाइले भलिभाँती पिउनुभयो। अबको यात्रा झनै रमाइको हुँदै गयो। सामान्यतया हाम्रो घरबाट कटारी मेरो निम्ति रित्तै हिँड्दा पुरापुर एक दिनको बाटो हो।

मैले एकदिनमै थुप्रै पटक पारगरि सकेको थिएँ। २०४८ सालको संसदीय चुनावको केही दिन अघि साथीहरुसँग भागेर कटारी नुन बोक्न आउँदा म करिब ९ पसेरी नुन, कपडा र सामल खाजासहितको आफ्नो क्षमता भन्दा बढी गह्रुँगो भारी बोकेर रुँदै-रुँदै घर पुगेको दर्दानक घटना सधैंभरी याद आइरहन्छ।

हो आज फेरि म त्यो गह्रुँगो नुनको भारी भन्दा पनि संगठनात्मक जिम्मेवारिको अझ गह्रुँगो भारी बोकेर, सयौं खतरालाई छल्दै लक्ष्य चुम्न लम्किइरहेको थिएँ उही बाटोमा सोही पाराले!

प्राय सोलु, ओखलढुंगा र खोटाङ जिल्लाका श्रमजिबी जनतालाई सोध्दा अझै थाहा हुन्छ। उनीहरुका ढाडमा त्यो बेला नुन तेल र घरायासी सामानको ढाकर कटारीबाट घर, पसल, ओखलढुंगा, दिक्तेल, सल्लेरी र नाम्चे बजारसम्म पुर्याउँदाका डाम अझसम्म पनि टन्किरहेको हुनुपर्छ। अनि ककरु र बादुराको सम्झना आउँदा अझै दुखी रहन्छन् होला ढाडमा फोका रुपी पिलिएका ती दुखी ढाडहरु।

अब चाहिँ प्रहरी दाइले रमाइलो पाराले वान टु वान परिचय गर्न सुरु गर्नुभयो। उहाँको नाम पछिसम्म पनि कण्ठै थियो तर आजकाल बिर्सिएँ मैले। परिचयको क्रममा मेरो पालो आयो। मैले राजु कार्की हर्कपुर भनेँ।

पछाडि फर्किएर पुलुक्क मेरो मुखमा हेर्दै, ओइ यो फुच्छे त मेरो भाइ पो रहेछ। कार्की नै हो भनेर थाहा पाएको भए त यो फुच्चेलाई अघि खोलामा बग्न दिन्थे नि, किन समाउँथे र भन्दै ठट्टा गर्नुभयो। गललल हाँसोको फोहोरा छुट्यो। म पनि हाँसेझैं गरेँ सोही पाराले!

पिठ्यौमा ढाकर र हातमा तोक्मा बोकेर दोहोरिलत्ता हिँडिरहेका सयौंको हुलमा हामीहरु पनि हराइसकेको अनुभूति भयो। हरिथुम्का फेदिमा खाना खाएर सिन्कौलेको उकालो लागियो। गफ–गाफ र ख्याल ठट्टाकै भरमा सामान्य अबस्थामा हिँड्दा-हिँड्दा पनि कहिल्यै नसकिने पट्यारलाग्दो सिन्कौले र बहादुरे खोला पार गरेको पत्तै भएन। अब प्रहरी दाइसँग छुटिने बेला आउनै लाग्यो।

किलो सेरा-२ प्रहरी अप्रेसनको घनिभूत अबस्था थियो। शिवालयको झोलुङ्गे पुल नजिकै प्रहरी चौकी पनि थियो। पुलको जिपमा प्रायजसो प्रहरीको बाक्लो उपस्थितिसहित कडा सुरक्षा र बटुवाहरुको सामान खानतलासी हुन्थ्यो।

त्यो कुरा बाटोमा भेटिएका कटारीतिर जाने केही शुभचिन्तकले मलार्ई खुसुक्क जानकारी गराउँदै सतर्क भएर पुल पारगर्न सुझाइ सकेका थिए। हुनत प्रहरी दाइले हर्कपुरको तल्लो पुरानो झोलुङ्गे पुल हुँदै जाने चाजोपाजो मिलाउदै हुनुहुन्थ्यो।

तर उहाँलाई पनि शिवालयकै झोलुङ्गेपुलबाट लानपाए अनि उहाँसँगै नाका पार गर्नपाए पराइ आँखाहरु छल्न अनि नजिकै आइपुगेको कालबाट बच्न सकिन्थ्यो भन्ने सोचाइ अनि अन्तिम दाउ पनि थियो मेरो। बादुरा दोभान त आइसक्यो। अब छुट्ने बेला पनि हुनै लाग्यो।

किनारका छाप्राहरुमा डल्ले भैंसी लैना भएको ठाँउमा झोला बिसाएर फेरि मोइ खाइयो। मेरो अनुरोधमा कार्की दाइले पनि मसक्क पिउनुभयो। एक त हामी दाजुभाइ अर्कोतर्फ लामो यात्राको सहयात्री। भाबनात्मक रुपमापनि धेरै नजिक भैसकेका थियाैं।

आखिर उहाँलाई जताबाट जाँदापनि बाटोको दूरी उस्तै पर्दथ्यो। त्यही मौका छोपेर मैले शिवाालयकै पुलबाट जानको निम्ति अनुरोधसहित प्रस्ताब राखेँ। संयोगबस दाइले पनि मेरो प्रस्ताबलाई स्विकार गर्नुभयो। अनि बल्ल म भित्रको केमिकल पनि क्षणभरमै परिबर्तन भयो।

शिवालयको पुल, पुलको जिप, ०५५ को असार तिर हुनुपर्छ, १५-१६ जना तिबत्ती नागरिकहरुको नगद जिन्सी रकम कब्जामा लिएर पुलको जिपमा गोलीहानि हत्या गरेर उनीहरुको मृत शरीरलार्ई बोरामा हालेर सुनकाीिशमा बगाएर बेपत्ता बनाएको अनि दोहोरो भिडन्तमा माओबादीहरु हताहत भएको भनी राज्यले झुट्ठो प्रचारगरेको घटना मेरो स्मरणमा सधैं ताजै छ।

‘धमिलो थियो सुनकोशी पनि’ भन्ने शिर्शकको संस्मरणमा उक्त घटनाको बारेमा मैले सबिस्तार व्याख्या गरिसकेको छु। सिन्धुली बजार हुँदै कटारी-घुर्मी हुँदै शिवालयको पुलसम्मको बारेमा सिल्सिलेवार अत्यन्तै भाबनात्मक आलेख पनि हो त्यो। मेसो मिलाउन जानिएन वा सकिएन भने मेरोपनि आज त्यही हालत हुनसक्दथ्यो, जुन त्यो मध्यराति तिब्बतियन नागरिकहरुको भएको थियो। अर्थात् म पनि कालको मुखमा जाँदैछु।

त्यसैले प्यारो दाजुलाई त झन् छोड्नै भएन। उहाँको कभरमा मेरो आजको काल जसरी भएपनि टार्नु छ मैलेपनि। झोला बोकियो। दाजुलाई अघि लाएर म लुरुलुरु दाइको पछि लागेँ। गेटको ठ्याक्कै मुनी असइ सापको नेतृत्वमा ५-६ जना बर्दिवाल प्रहरीले यात्रुहरुलाई सोध-खोज अनि खानतलासी गर्दै रहेछन्।

नजिकै पुगेपछि खिस्स हाँस्दै बरिष्ठ हबल्दार साब, मेरा दाइले असइ साबलाई स्यालुट ठोक्दै, आफ्नो परिचय दिनुभयो। हामीहरु उभिइरहयौ। उहाँहरु बीचमा केहीबेर कुराकानी भयो। यी मेरा भाइहरु हुन् भनी हाम्रोपनि परिचय गराउनु भयो। मैलेपनि असइ सापलाई नमस्कार गर्दै खिस्स हाँसे।सापले पनि ए! भन्नुभयो।

केहीबेरको भलाकुसारी पछि लु अब छुटौं भन्दै दाइले मलाई उम्किने बाटो खोलीदिनुभयो। मैले दाजुसँग मसक्क अंकमाल गरें। अनि बिदाइका हातहरु हल्लाउदै हामी मोलुङ दोभान तिर लाग्यौ।

दाइ हर्कपुरतिर लाग्नुभयो। त्यतिबेलासम्म साँझ परिसकेको भएता पनि सागरेको डिही कटेर मोलुङ दोभानको ब्यस्त मुलबाटोको होटलमा पुगेरमात्र बासको निम्ति ज्यान बिसाइयो। त्यहाँ पनि कटुन्जे तल्लो बाबिया बेलको रुख भन्दा माथि डम्बरबहादुर मामाको छोरा हुनुपर्छ,-१ अनि च्यानम अग्राखे र आम्बोटेका अरु गरि ४–५ जना प्रहरी भाइहरु बिदामा घर भेटघाटमा हिँडेका र हाम्रै पाराले त्यही बास बस्ने निधो गरेका रहेछन्।

डम्मर मामाको छोरा म भन्दा २-३ ब्याच जुनियर बरुणेश्वर माबि रामपुरमै पढ्ने बिद्यार्थी हो। उ हाम्रो नातेदार भित्रैको मान्छे पनि हो। दाइ नमस्कार! सहित कताबाट आउनुभएको ? उसले एकान्तमा खुसुक्क सोध्यो अनि अरु सबै केटाहरु प्रहरीनै भएको जानकारी गराउँदै औपचारिक गफगाफ नगर्न पनि अनुरोध गर्‍याे।

उ आफैंपनि प्रहरी कर्मचारी हो, अरुहरु सँगको संयुक्त गफगाफमा मलाई हर्कपुर खारबेसीकै मान्छे हो भन्ने चाहिँ सबैले चिनेका तर मलाई ठ्याक्कै फलानो हो भन्नेमा चाहिँ तिनीहरु पनि कन्फ्युज भएछन्।

मेरै नामको पछाडि एक्लाखा लगाएर त्यो माओबादी भयो रे नि त! आजकाल उ कहाँ छ? अनि तिम्रो त काका हैन त्यो फलानो? भनेर मसँगै मेरो बारेमा सोधी हाल्यो एउटाले। त्यो भाइले पुलुक्क म तिर हेरेर खिस्स हाँस्यो। मलाई चाहिँ भित्र भित्रै काउकुती लाग्यो। म यही त छु नि भन्न पनि नमिल्ने।

ओहोर दोहोर दोहोरी लत्ता मानिसहरु हिँडिरहने, बास बसिरहने होटलबाट बिहान सबेरै सबै जनासँगै हिँड्यौं। भेष बद्लेर सामान्य बटुवाको रुपमा चुनौतीपूर्ण यात्रामा सयौं चुनौतीसँग खेल्न कत्ति रमाइलो लाग्थ्यो मलाई त्यो बेला! बिहानको खानासँगै खायौं। म ढुकुने-डुम्रे र जलजले तिर त जानै मिल्दैन थियो।

त्यसैले सोहोरेबाट आम्बोटे,भाल्दिपको लागि थाक्लेको भिरको उकालो बाटो सोझ्याउनुपर्ने भयो। अरु साथीहरु चाहिँ अँधेरी दोभान तिरबाट जाने भए। छुट्ने बेलामा त्यो भाइले अर्को साथीलाई हिजो तपाईंले सोधेको टंक दाइ उहाँ नै त हो नि भन्दै मेरो परिचय गराउदै हाँस्यो।

अब त्यति भइसकेपछि मैले पनि समसायमिक बिषय र तपाईं हाम्रो दायित्वको बिषयमा भाइहरुसँग केही बेर कुरा राखें। मैलेपनि उनीहरुको नेताको भूमिका पूरा गरेँ। सबै प्रहरी भाइहरुले अचम्म माने अनि दाइ यो त सरप्राइज भयो नि भन्दै एक छिन सबै हाँसे। म पनि उनीहरु सँगै हाँसे।

हामी सबै आ आफ्नो बाटो लाग्यौं। अब त्यति भएपछि म अग्राखे च्युरिडाँडा मामाघर पुगेता पनि म त्यहाँ बस्न चाहिँ मिल्दैन थियो र अन्यत्रै बसेर टिम सम्पर्कको निम्ति जनपरिचालन गरें। अनि भोलिपल्ट कटुन्जे, फिदिगुठ हुँदै मध्यराति बिलन्दु पुगेर कमरेड रितबहादुर खड्काको नेतृत्वको टिमसँग सम्पर्क गरेँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *