कविता : निरीह साहित्य

खेमराज सुवेदी
४ पुष २०८१ १२:३३

अर्थ नफुट्ने विचार कोरिन्छ
मार्ग बिनाका गन्तव्य तोकिन्छ
न कुनै खोज छ न कुनै रस छ
चारैतिर शून्यता अनि हतास छ
यस्तो लाग्छ अचेल
साहित्य धेरै निरास छ

शब्दहरू प्रश्न बन्न सक्दैनन्
उत्तरहरू स्वयं आफैँ बक्दैनन्
दिमागी जरोमा धमिरा लागेकाले
धर्मराउँदै कलमले पानामा टेक्छ
लेख्न केही सक्दैन अन्धकार लेख्छ

बिम्बलाई अनाहतले जेलेको छ
कवित्वलाई चाकडीले पेलेको छ
हृदयमा साहित्य रसाउँदैन अचेल
लेखनीमा कवित्व आउँदैन अचेल
रचनाले कुनै ठाउँ पाउँदैन अचेल
रचनाले प्याला पिलाउँदिन अचेल

औँला र कलम बिचको नाता टुटेको छ
कलमको निब लेख्दै नलेखी फुटेको छ
साहित्य विणा मस्त निन्द्रामा सुतेको छ
त्यसैले
न कुनै स्वर छ
न कुनै धुन
चुप चाप च्यापिएको
निरिह साहित्यलाई
कसैले बुझ्न सकेन
जसरी चुपचाप बगेको नदीलाई
दुइ किनाराले बुझ्न सक्दैन

बुझाइमा विभेदको दुर्गन्ध छ
औँला र मस्तिष्क बाँडिएका छन्
प्रेम र आशा टाढिएका छन्
प्रेम,
घृणाको घोडा चढेर टाढा भयो
आशा,
प्याला पिउन पर्खालपारी गयो
र पनि यात्रा निरन्तर छ
त्यसैले होला
देखेर लेख्ने

लेखेर देख्ने मा
ठूलो अन्तर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *