महिला यु–१९ एसिया कप : नेपालले १ रनमै श्रीलंकाको विकेट लिएपछि वर्षाले खेल अवरुद्ध
काठमाडौं । एसीसी महिला अण्डर १९ एसिया कपको सुपर ४ मा आज नेपाल र श्रीलंकाको खेल वर्षाले रोकिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले टस जितेर बलिङ रोजेको छ ।
श्रीलंकाको इनिङको पहिलो ओभर सकिएसँगै वर्षा भएपछि खेल रोकिएको छ । पहिलो ओभरमा श्रीलंकाले १ रन मात्र जोडेको छ र १ विकेट गुमाएको छ । श्रीलंकाकी ओपनर हिरुनी हंसिका पूजा महतोको बलमा शुन्य रनको स्कोरमा एलिसा कुमारी यादवको हातबाट क्याच आउट भइन् ।
यसअघि समूह चरणमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर ४ को यात्रा तय गरेको थियो । समूह चरणमा भारतसँगको खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो ।
सुपर ४ मा नेपालले आज श्रीलंका र भोलि बंगलादेशसँग खेल्नेछ । नेपालसँगै समूह ए बाट सुपर ४ पुगेको भारतले पनि आज र भोलि समूह ए का शीर्ष टोलीहरु बंगलादेश र श्रीलंकासँग खेल्नेछ । यी ४ खेलपछि बन्ने अंक तालिकामा शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।
यस पटक पहिलो पटक यु–१९ महिला विश्वकपमा पुगेको टोली पहिलो उपस्थितिमै निकै बलियो देखिएको छ । नेपालले बलियो मानिएको पाकिस्तानलाई समूह चरणमै हराएर नकआउट गरिसकेको छ ।
अर्कोतर्फ आज भएको पहिलो खेलमा बंगलादेश भारतसँग ८० रनमै समेटिएको छ । जबकि समूह चरणमा नेपालले भारतविरुद्ध बंगलादेशको भन्दा बढी ९४ रनको स्कोर खडा गरेको थियो ।
अर्कोतर्फ समूह चरणमा श्रीलंका बंगलादेशसँग ठूलो अन्तरले पराजित भएको थियो । बंगलादेशले दिएको १२२ रनको लक्ष्य पच्छ्याएको श्रीलंका ९४ रनमै सीमित भएको थियो ।
Facebook Comment