वैद्यखाना पुगेर स्वास्थ्यमन्त्रीले भने- तलब खुवाउन मन्त्रालयले पैसा पठाउन सक्दैन, उत्पादन बढाउनुहोस्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना पुगेर कर्मचारीलाई तलब खुवाउन मन्त्रालयको मुख नताक्न निर्देशन दिएका छन्। आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गर्दै मन्त्री पौडेलले उक्त निर्देशन दिएका हुन्।
वैद्यखाना विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गरेका छन्।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा पुगेका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न कर्मचारीलाई आग्रह गरे।
‘पर्याप्त औषधि उत्पादन नभएको गुनासो आइरहेको छ। उत्पादन बढाउन हरसम्भव उपाय लगाउनु होला,’ उनले भने, ‘बजारमा जति औषधि उत्पादन भए पनि वैद्यखानाको औषधि बिक्री हुनेरहेछ। तपाईंहरूले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ।’
कर्मचारीले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट गएको बताएका थिए।
सार्वजनिक संस्थानलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउन सरकारले रकम दिन नसकिने मन्त्री पौडेलको भनाइ थियो।
‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं। उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न,’ उनले भने।
Facebook Comment