नेपाल र कोरियालीबीच व्यापार तथा लगानी प्रवर्द्धन सम्झौता
दक्षिण कोरिया। उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कमा सम्झौता भएको छ।
गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका मन्त्री भण्डारीले आज कोरियाको राजधानी सिओलमा आयोजीत एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताले दुई देशबीचको कुटनितीक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास मन्त्री भण्डारीले विश्वास व्यक्त गरेका छन्। नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्ने उनले प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।
मन्त्री भण्डारीका समकक्षी च्योङले दक्षिण कोरियाली कम्पनीद्वारा नेपालमा सञ्चालन भइरहेका जलविद्युत्लगायत क्षेत्रमा भएका लगानी तथा कार्यको स्मरण गर्दै सम्झौताले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल र गणतन्त्र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागीता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा वैदेशिक लगानीको वातावरण र अवसरबारेप्रस्तुतीकरण गरेका थिए।
Facebook Comment