‘मिथिला मिथक’माथि चर्चा

डिसी नेपाल
४ पुष २०८१ २३:०९

विराटनगर। पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘विह्वल’द्वारा लिखित पुस्तक ‘मिथिला मिथक’माथि आज यहाँ विमर्श कार्यक्रम आयोजना गरिएको छ। नेपाल मैथिली एसोसिएसन विराटनगरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा पुस्तकमा संकलित सामाग्रीहरूको वियषवस्तुमा विद्वान वक्ताहरूले आ–आफ्नो धारणा राखे।

पुस्तकको विमोचन मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमै गरेका थिए। पुस्तक चर्चा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको मैथिली भाषा विज्ञान संकायका पूर्वविभाग प्रमुख परमेश्वर कापडी, अजयकुमार झा, राकेश देव, सुमन मिश्रा, प्रा भावेश मिश्रा, प्रविणनारायण चौधरीलगायतले आ–आफ्नो विचार व्यक्त गरे।

प्रा कापडीले पुस्तक इतिहास र वर्तमानलाई अध्ययन गर्नका लागि संक्षिप्त तथा महत्वपूर्ण रहेको बताए। उनले पुस्तक मिथिला संस्कृतिलाई अध्ययन गर्नेहरूका लागि आँखिझ्याल बनेको बताए।

यसैगरि पत्रकार अजयकुमार झाले मिथिलाको संस्कृति अध्ययन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रय क्षेत्रमा यो सन्दर्भग्रन्थ बन्ने लायक विशिष्ट पुस्तक भएको बताए। उनले अझै लेखिनुपर्ने आवश्यकता औँल्याए।

प्रा भावेश मिश्राले यस पुस्तकमा मिथिला जागरणको कुरालाई जोड दिएकाले यसमा समावेश सबै मिथक महत्वपूर्ण भएको उल्लेख गरे।

एसोसिएसनका अध्यक्ष प्रविणनारायण चौधरीले यसमा मैथिली अभियानलाई बल दिने क्षमता रहेको उल्लेख गर्दै मैथिली भाषा विकासको अभियानमा सक्रिय सबैलाई यसबाट सहयोग हुने बताए। यसले नयाँ पुस्तालाई मिथिलाको सांस्कृतिक विरासतलाई अध्ययन गर्न प्रेरित गर्ने उनको भनाइ थियो। छ भागमा विभाजन गरिएको उक्त पुस्तकमा एक सय ११ मिथक समावेश गरिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *