एसएसपी बढुवा : राजनीतिक लविङ गरे बढुवा रोक्ने चेतावनी

डिसी नेपाल
५ पुष २०८१ ९:४६

काठमाडौं। एसएसपीको बढुवा तयारी भइरहेका बेला प्रहरी प्रधानकार्यालयले राजनीतिक लविङ गरे बढुवा रोकिने चेतावनीसहितको सर्कुलर गरेको छ।

प्रहरी कर्मचारीमा बाह्य दबाब र प्रभाव बढेको भन्दै प्रहरी प्रधानकार्यालयले यस्तो सर्कुलर गरेको हो। शक्तिकेन्द्रको आडमा दबाब दिँदै बढुवा हुने चलन प्रहरीमा ब्याप्त रहेकाले पछिल्लो समय प्रहरीभित्र रहेको रिक्त पदमा बढुवा हुन सकिरहेको छैन।

यस्तो अवस्थामा एसएसपी बढुवामा धेरै दबाब आएकोले सर्कुलर गर्नुपरेको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ। दबाब थेग्न नसकेपछि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले शक्तिकेन्द्रमार्फत भनसुन गराउने प्रहरी अधिकृतलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

नेपाल प्रहरीका केही अधिकारीहरू ‘चेन अफ कमाण्ड’ उल्लंघन गरेर व्यक्तिगत स्वार्थमा लागेपछि आईजीपी कुँवरले कडा चेतावनी दिँदै कारबाही गर्ने सर्कुलर जारी गरेको पाइएको छ।

बुधबार साँझ प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कडा कारबाही गर्ने भनिएको छ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहने गरी भएका गैरव्यावसायिक क्रियाकलापहरूप्रति गम्भिर ध्यानाकर्षण भएको सचिवालयबाट जारी भएको सर्कुलरमा उल्लेख गरिएको छ।

त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी आईजीपी कुँवरले दिएका छन्। कतिपय बदनाम प्रहरी अधिकारीले उच्च तहका नेताबाट निरन्तर दबाब दिएपछि यस्तो परिपत्र जारी भएको स्रोतले जनाएको छ।

पछिल्लो समय प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवामा आईजीपी कुँवरले राजनीतिक दबाब झेलिरहेका छन्। त्यस्तै आकर्षक ठाउँको लागि सरुवामा दबाब दिने प्रहरी अधिकृतको समेत रेकर्ड राखिने कारबाही गर्ने प्रधान कार्यालयको तयारी छ।

सोहीअनुरुप प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्ता सरुवाहरुलाई रेकर्ड (अभिलेख)मा राखेर मूल्यांकन गरिने उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *