अहिलेको अवस्था सुधारमा सरकार सक्रिय छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन्। नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री सिंहले राजनीतिक स्थिरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए।
पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्न अहिलेको सत्तागठबन्धन बनेको उनको प्रस्टोक्ति छ। राजनीतिक स्थिरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए।
सडकमार्गमार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चन्द्रागिरी चित्लाङ सडकको अवलोकन पनि गरेका थिए।
सडक निर्माण कार्य सुरू भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरी चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए। उनले निर्माण कार्यमा ढिलाई गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए। ‘यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बागमती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएकाले निर्माण आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ,’ उनले भने।
Facebook Comment