क्यानडामा जस्टिन ट्रुडोको सरकार ढल्ने निश्चित!

डिसी नेपाल
७ पुष २०८१ १०:४६

काठमाडौं। अन्य देशहरूसँगको सम्बन्धमा एकपछि अर्को संकटको सामना गरिरहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अहिले घरेलु राजनीतिमा पनि कठिनाइको सामना गरिरहेका छन्।

उनको अल्पमतको सरकारलाई समर्थन गर्ने न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) ले सरकारलाई थप समर्थन गर्न अस्वीकार गरेको छ। एनडीपी नेता जगमीत सिंहले नयाँ वर्षमा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्।

मध्यमार्गी वामपन्थी पार्टी एनडीपीले ट्रुडोको अल्पमतको सरकारलाई उनीहरूको साझा राजनीतिक एजेन्डाको बदलामा समर्थन गर्दै आएको छ। यसका नेताको पछिल्लो बयानले पार्टीको अडानमा परिवर्तन भएको संकेत गर्दछ।

चौतर्फी कठिनाइले घेरिएका जस्टिन ट्रुडोको समस्या अझै बढ्ने सम्भावना छ। ट्रुडोलाई लक्षित गर्ने तीन दलमध्ये जगमीत सिंहको पार्टी नयाँ हो। यसको मतलब ट्रुडो सरकारलाई अविश्वासको प्रस्तावमा टिक्न गाह्रो छ।

किनभने एनडीपीले विगत साढे दुई वर्षदेखि ट्रुडो सरकारलाई साथ दिएको थियो । यस कारण ट्रुडो सत्तामा रहे।  जगमीत सिंहको घोषणा यस्तो समयमा आएको हो जब यो हप्ता ट्रुडोका लागि निकै खराब साबित भएको छ।

गत सोमबार उनको मन्त्रिपरिषद्का सबैभन्दा वरिष्ठ मन्त्रीले राजीनामा दिएपछि आफ्नै लिबरल पार्टीमा उनको राजीनामाको माग बढ्न थालेको छ। अर्कोतर्फ, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले ट्रुडोको समस्या बढेको छ।

जगमीत सिंहले सोशल मिडिया प्लेटफर्म एक्समा लेखे, “लिबरलहरू दोस्रो मौकाको हकदार छैनन्।” उनले संसदको आगामी अधिवेशनमा अविश्वासको प्रस्ताव ल्याउने कुरा पनि गरेका छन्। तर, गत सेप्टेम्बरमा नै उनले समर्थन फिर्ता लिने कुरा गरेका थिए।

भारतीय मूलका जगमीत सिंहको पार्टीले गत आम चुनावमा २४ सिट जितेको थियो र उनी किंगमेकरको भूमिकामा थिए। जगमीत सिंहले धेरै पटक भारतको आलोचना गर्दै आएका छन्।

टोरन्टोमा बीबीसी संवाददाता नादिन युसुफका अनुसार क्यानडाको आम चुनाव अर्को वर्ष अक्टोबरमा वा त्योभन्दा अगाडि हुने छ। लिबरल पार्टीले अल्पमतको सरकार चलाइरहेको हुनाले अविश्वासको प्रस्ताव आए र सरकार ढल्यो भने यो निर्वाचन पनि पहिले नै हुनसक्छ।

हाउस अफ कमन्स हाल बिदामा छ र जनवरीमा बैठक सुरु हुनेछ। तीन प्रमुख विपक्षी दलहरूले ट्रुडो सरकारलाई ढाल्न चाहेको बताएका छन्।

कन्जरभेटिभ नेता पियरे पोलिभियरले लगातार आफूले सकेसम्म चाँडो चुनाव चाहेको बताएका छण् । ब्लक क्युबेकोइस नेता फ्रान्कोइस ब्लान्चेटले २०२५ को प्रारम्भमा चुनाव गर्न जतिसक्दो चाँडो अविश्वासको मत ल्याउनु पर्ने बताएका छन्।

ट्रुडोले यस हप्ता धेरै अप्ठ्याराहरूको सामना गर्नु परेको छ। ट्रुडो मन्त्रिपरिषद्की सबैभन्दा वरिष्ठ सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले यस हप्ता राजीनामा दिएकी छन्। यस्तो अवस्थामा जगमीत सिंहको घोषणा उनको लागि अर्को झट्का हो।

सबैभन्दा अचम्मको कुरा के छ भने फ्रिल्यान्डले सोमबार आर्थिक विवरण दिनुअघि नै सार्वजनिक पत्रमा राजीनामा दिएकी थिइन्।

उनले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आयात शुल्क बढाउने धम्कीलाई ध्यानमा राख्दै “क्यानडाका लागि उत्कृष्ट बाटो” मा उनी र ट्रुडो बीच असहमति रहेको बताएकी छिन्।

गत महिना मात्रै डोनाल्ड ट्रम्पले दुई देशबीचको साझा सीमा सुरक्षामा प्रगति नभए दुई छिमेकी मुलुक क्यानडा र मेक्सिकोका सबै उत्पादनमा २५ प्रतिशतले भन्सार (आयात शुल्क) बढाउने बताएका थिए।

ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमा एक पोस्टमा जनवरी २० मा पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीन विरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर गर्ने बताएका छन्।

ट्रम्पले भने, “सबैलाई थाहा छ कि क्यानडा र मेक्सिकोबाट हजारौं मानिस अमेरिका प्रवेश गरिरहेका छन्। उनीहरुले लागुऔषध ल्याएर धेरै अपराध गरिरहेका छन् । जुन स्तरमा यो सबै भइरहेको छ त्यो पहिले कहिल्यै भएको थिएन।”

यद्यपि ट्रुडोले ट्रम्पलाई उनको विजयको लगत्तै बधाई दिए, तर यसले ट्रम्पको मनोवृत्तिलाई नरम पारेन। ट्रम्प र ट्रुडोबीचको सम्बन्ध चिसिएको छ र कतिपय अवस्थामा ट्रम्पले उनीमाथि व्यक्तिगत आक्रमणसमेत गरेका छन्।

क्यानडाको निर्यातको ७५ प्रतिशत अमेरिकामा जान्छ र बढ्दो शुल्कले यसको समस्या बढाउन सक्छ। अमेरिकाले कर बढाउँदा क्यानाडाको अर्थतन्त्रलाई ठूलो धक्का दिने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्।

तर ट्रम्प यहीँ रोकिएनन्, उनले क्यानडालाई लिएर अर्को कडा बयान दिएका छन्।

दुई दिनअघि ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका थिए , “हामीले क्यानडालाई प्रत्येक वर्ष १०० मिलियन डलरको अनुदान किन दिन्छौं भन्ने जवाफ कसैसँग छैन। अधिकांश क्यानाडालीहरू क्यानडालाई अमेरिकाको ५१औँ प्रान्त बनाउन चाहन्छन्। यसबाट उनीहरूले कर र सैन्य सुरक्षाले धेरै पैसा बचाउँछन् । मलाई लाग्छ कि यो एक राम्रो विचार हो !”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *