रसुवाघाट–पाँचधारे सडकमा कालोपत्र थालियो

डिसी नेपाल
७ पुष २०८१ २२:५१

खोटाङ। रसुवाघाट–पाँचधारे सडकको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम सुरु गरिएको छ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४६ करोड ७६ लाखको लागतमा सडक कालोपत्र थालिएको हो।

खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित रसुवाघाटबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै भोजपुरको पाँचधारे जोड्ने सडकमा सुरु गरिएको कालोपत्रको काम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरे।

मन्त्री राईले सम्झौताको समयभित्र रसुवाघाट–पाँचधार सडकको १५ किलोमिटर सडक कालोपत्र गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिए।

लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडकको रसुवाबाट सिम्पानीसम्मको १५ किलोमिटर सडक कालोपत्र हुनेछ।

कालोपत्र थालिएको सडकको दुवैतर्फ एक मिटर सोल्जर तथा एक मिटर दश सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ। याक्थुम्हाङ/रेग्मी/चुरिया जेभी निर्माण कम्पनीले उक्त सडक कालोपत्रको जिम्मा लिएको हो।

विसं २०८१ साउनमा सम्झौता भएको सडक कालोपत्रको ठेक्काको म्याद ३६ महिना अर्थात् २०८४ साउन ६ गतेसम्म रहनेछ। सम्झौताको समयमै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ।

समयमै काम सम्पन्न भए खोटाङ जिल्लाभित्र पर्ने मध्यपहाडी लोकमार्गबाहेक कालोपत्र हुने पहिलो जिल्लाको सडक रसुवाघाट–सिम्पानी सडक बन्नेछ। ‘ट्र्याक ओपन’ भएको लामो समयसम्म बर्सादमा हिलाम्मे र हिउँदमा धुलाम्मे रहने रसुवाघाट–पाँचधारे सडक अबको ३६ महिनाभित्र कालोपत्र हुने बताइन्छ।

रसुवाघाट–पाँचधारे सडक कालोपत्र सम्पन्न भएपछि खोटेहाङ गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय नागरिकलाई पूर्वी तराईका जिल्ला आवतजावतमा सहज हुनेछ।

हिलो र धुलोका कारण पटक–पटक सडक अवरुद्ध हुँदा सास्ती खेप्दै आएका स्थानीयवासी ढिलै भए पनि उक्त सडक कालोपत्र हुने भएपछि हर्षित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *