सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर
जलेश्वर। महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा तीन हजार बढी पशुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाको आर्थिक एवं प्राविधिक सहयोगमा सम्सी २ र ५ मा आइतबार आयोजित सो निःशुल्क पशु स्वास्थ्य शिविरमा एक हजार सात सय बढी बाख्रा, एक हजार चार सय बढी गाई र भैँसीलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
आयोजनाका प्रमुख युगलकिशोर तिवारीका अनुसार शिविरमा पशुको गर्भ परीक्षण, प्रजनन जाँच, ‘पिपिआर’ खोप, ‘एचएसबीक्यू’ खोप, नाम्ले जुकाको औषधि, ‘लिभर टनिक’, ‘मिनरल’ र ‘भिटामिन’ वितरणलगायतका सेवा प्रदान गरिएको थियो ।
यस क्षेत्रका बढी पशुहरुमा भित्री परजीवी र बाह्य परजीवीका कारण गर्भ नबस्ने समस्या बढी देखिएको उपचारमा संलग्न पशु सेवा विशेषज्ञ मुकेश पण्डितले जानकारी दिए । उनले यस्ता समस्या देखिएका पशुहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै गर्भ बस्ने औषधि वितरण गरिएको बताए।
त्यस्तै गाई, भैँसीलाई ‘एचएसबीक्यू’ खोप तथा औषधि मार्फत विभिन्न रोगको उपचार गरिएको छ । बाख्रामा ‘पिपिआर ’ खोप र औषधि मार्फत उपचार गरिएको पशु चिकित्सक रामशङ्कर शर्माले जानकारी दिए।
Facebook Comment