चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन
काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन भएको छ । उनी ९० वर्षका थिए ।
समाचार एजेन्सी पीटीआईले मुम्बईको वोकहार्ट अस्पतालका स्रोतहरूलाई उद्धृत गर्दै बेनेगलको सोमबार साँझ निधन भएको बताएको छ ।
बीबीसीका सह पत्रकार मधु पालका अनुसार श्याम बेनेगलकी छोरी पिया बेनेगलले सोमबार साँझ करिब ६.३० बजे आफ्नो बुबाको निधन भएको बताइन् ।
श्याम बेनेगल विगत दुई वर्षदेखि मिर्गौलाको गम्भीर रोगबाट पीडित थिए ।
‘अंकुर’, ‘निशान्त’, ‘मन्थन’, ‘भूमिका’ र ‘मंदी’ जस्ता फिल्महरू निर्देशन गर्ने बेनेगललाई ७०-८० को दशकमा समानान्तर सिनेमा आन्दोलनका दिग्गज मानिन्छन्।
उनका फिल्महरूमा लैङ्गिक समानता, सामाजिक न्याय र राजनीतिक सङ्घर्ष जस्ता विषयहरू थिए।
श्याम बेनेगललाई ‘भारत एक खोज’ र ‘संविधान’ निर्माणका लागि पनि सम्झिइनेछ ।
उनलाई सन् १९७६ मा पद्मश्री र सन् १९९१ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो ।
फिल्म निर्देशक बेनेगलले केही दिनअघि १४ डिसेम्बरमा आफ्नो ९० औं जन्मदिन मनाएका थिए ।
बेनेगलको फिल्म ‘अंकुर’ बाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री शबाना आजमीले उनको जन्मदिनको तस्विर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।
Facebook Comment