बंगलादेशले भारतसँग हसिनाको औपचारिक सुपुर्दगी माग्यो, के भारत फर्काउन बाध्य हुन्छ ?
भारत र बंगलादेशबीच सुपुर्दगी सन्धि छ जसअनुसार दुवै देशले आपराधिक आरोप लागेकालाई सुपुर्दगी गर्नुपर्छ
काठमाडौं । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन भारत सरकारलाई पत्र लेखेको छ । बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तौहीद हुसेनले सोमबार यसबारे जानकारी दिएका हुन् ।
यसअघि बंगलादेशको गृह मन्त्रालयका सल्लाहकार मोहम्मद जहाँगीर आलम चौधरीले शेख हसिनालाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई पत्र लेखिएको बताएका थिए । उनले शेख हसिनालाई सुपुर्दगी सम्झौता अन्तर्गत भारतबाट ल्याउन सकिने बताएका थिए ।
बंगलादेशमा व्यापक हिंसात्मक प्रदर्शनका बीच यस वर्षको अगस्टमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेर भारत गएकी थिइन् ।
बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तौहीद हुसेनले भने, “हामीले भारत सरकारलाई कूटनीतिक प्रक्रिया अन्तर्गत पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन सन्देश दिएका छौं। हामीले उनीहरू (भारत सरकार) लाई हामी उनीमाथि मुद्दा चलाउन चाहन्छौं त्यसैले उनलाई फिर्ता पठाउन माग गर्दैछौं भन्ने सन्देश दिएका छौं ।”
यसअघि बंगलादेशको गृह मन्त्रालयका सल्लाहकार मोहम्मद जहाँगिर आलम चौधरीले शेख हसिनालाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई पत्र लेखिएको बताएका थिए ।
सोमबार बोर्डर गार्ड बंगलादेशको मुख्यालयमा बिजीबी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले शेख हसिनालाई सुपुर्दगी सम्झौता अन्तर्गत फिर्ता पठाउन सकिने भएकाले भारतसँग सम्पर्क गर्न आवश्यक कदम चाल्नका लागि विदेश मन्त्रालय (बंगलादेश) लाई पत्र पठाइएको पनि बताए।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले अक्टोबर १७ मा ‘फरार’ शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि बंगलादेश सरकारले यो निर्देशन कार्यान्वयन गर्न तत्काल कदम चाल्ने बताएको थियो।
बंगलादेशमा विद्यार्थी आन्दोलनमा सयौंको ज्यान गएको थियो । सरकारी जागिरमा आरक्षणको विरोधमा सुरु भएको यो आन्दोलन पछि शेख हसिनालाई पदबाट हटाउने मागसम्म पुग्यो ।
के भारत हसिनालाई फर्काउन बाध्य हुन्छ ?
भारत र बंगलादेशबीच सुपुर्दगी सन्धि छ । भारत र बंगलादेशबीच २८ जनवरी २०१३ मा सुपुर्दगी सन्धि भएको थियो । तत्कालीन भारतका गृहमन्त्री सुशील कुमार शिन्दे र बंगलादेशका गृहमन्त्री मोहिउद्दीन खान आलमगीरले ढाकामा यो सन्धिमा हस्ताक्षर गरेका थिए ।
तर, सन्धिको धारा ६ मा कुनै व्यक्तिलाई सुपुर्दगी गर्न नसकिने अवस्थाहरू पनि उल्लेख गरिएको छ।
यो सन्धि राजनीतिक अपराधको अभियोगमा लागु नहुने र हत्या र अन्य गम्भीर अपराधका अभियोग लागेका व्यक्तिहरू मात्र यो सन्धिको दायरामा आउने स्पष्ट उल्लेख छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले गत अगस्ट ६ मा शेख हसिनाको भारत भ्रमणबारे संसदमा जानकारी दिँदै शेख हसिनाले छोटो सूचनामा केही समयका लागि भारत भ्रमणको अनुमति मागेको बताएका थिए ।
उनले भनेका थिए, “अगस्ट ५ मा प्रदर्शनकारीहरू कर्फ्यूको बावजुद ढाकामा भेला भए। हामीले बुझेअनुसार सुरक्षा प्रतिष्ठानका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने निर्णय गरेकी थिइन् । निकै छोटो सूचनामार्फत उनले केही समयको लागि भारत आउन अनुमति मागिन् । यससँगै हामीसँग बंगलादेश प्रशासनबाट फ्लाइट क्लियरेन्सको लागि अनुमति मागियो । उनी हिजो साँझ दिल्ली आइपुगेकी छिन् ।”
१७ अक्टोबर साँझ भारत सरकारले औपचारिक रूपमा शेख हसिना अझै भारतमा रहेको बताएको थियो। बंगलादेशमा अवामी लिगको सरकार ढलेपछि र प्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिएपछि बंगलादेशको भारतसँगको सम्बन्धमा तनाव छ ।
बंगलादेशमा ‘अल्पसंख्यकमाथि उत्पीडन’, इस्कनसँग सम्बद्ध महन्त चिन्मय कृष्ण दासको गिरफ्तारी, त्रिपुरास्थित बंगलादेशको उप-उच्चायोगमा भारतीय प्रदर्शनकारीको प्रवेश लगायतका यस्ता धेरै घटना भएपछि दुई देशबीचको तनाव स्पष्ट देखिएको थियो ।
यही महिनाको ४ तारिखमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस र प्रमुख राजनीतिक दलको बैठकमा देशको सार्वभौमसत्ता, अस्तित्व, स्वाधीनता र स्वाभिमानलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
बैठकमा भएको निर्णयबारे जानकारी दिँदै अन्तरिम सरकारका कानुनी सल्लाहकार आसिफ नजरुलले भारतको ‘प्रचार’ विरुद्ध बंगलादेश एकजुट भएको बताए ।
बंगलादेशले ‘बंगलादेशमा अल्पसंख्यकमाथि हुने उत्पीडनको सम्बन्धमा’ भारतको लोकसभामा विदेश मन्त्रालयले दिएको तथ्याङ्कमा पनि आपत्ति जनाएको छ ।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको प्रेस विङले बंगलादेशमा अल्पसंख्यकमाथि कथित अत्याचारको बारेमा भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अतिरञ्जित र भ्रामक भएको बताएको थियो।
लोकसभामा भारतका विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले यस वर्षको डिसेम्बर ८ सम्म बंगलादेशमा हिन्दू र अन्य अल्पसंख्यक समुदायविरुद्ध २,२०० हिंसाका घटना भएको बताए।
भारत र बंगलादेशबीच चार हजार किलोमिटरभन्दा बढी सीमाना छ र गहिरो ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध छ।
बंगलादेशको सिमाना भारत र म्यानमारसँग जोडिएको छ तर यसको ९४ प्रतिशत सिमाना भारतसँग छ। त्यसैले बंगलादेशलाई ‘भारत परिवेष्ठित’ देश भनिन्छ ।
पछिल्ला केही वर्षहरूमा बंगलादेश भारतको लागि ठूलो बजारको रूपमा उभिएको छ। बंगलादेश दक्षिण एसियामा भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो र भारत एसियामा बंगलादेशको दोस्रो ठूलो व्यापार साझेदार हो।
Facebook Comment