‘नेपालको प्रवेशद्वार’ वीरगन्ज {फोटोफिचर}
काठमाडौं। वीरगन्ज मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारको रूपमा परिचित औद्योगिक एवं व्यापारिक सहर हो। मधेश प्रदेशको पर्सा जिल्लाको एक प्रमुख सहर वीरगन्जलाई ‘नेपालको प्रवेशद्वार’ भनेर पनि चिनिन्छ। नेपालको दक्षिणी तराई क्षेत्रमा अवस्थित यो सहर समुद्री सतहदेखि सरदर ९१ मीटर उचाइमा छ।
श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२–१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगन्ज नामाकरण गरिएको हो। त्यहाँ गहवामाई मन्दिर पनि रहेको छ।
वीरगन्ज सबैभन्दा बढी भन्सार राजश्व दिने नाका हो। यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसँग आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौँ तथा पोखराका लागि सामान आयात निर्यात गरिन्छ। वीरगन्जमा नेवार, बाहुन, क्षेत्री, मुसलमान, थारू, कुर्मी, यादव, कानु, तेली, कलवार, कोइरी, चमार, दुसाध, मल्लाह, मारवाडी, तामाङ आदि जाति पारस्परिक सद्भावका साथ बसोवास गर्दै आएका छन्।
वीरगन्जमा विशेषगरी दशैं, तिहार, छठ, मकर संक्रान्ति, रामनवमी, फागु, कृष्णाष्टमी, भीमसेन जात्रा, शिवरात्री र श्रीपञ्चमी आदि चाडपर्व मनाउने हिन्दु, बौद्ध, इस्लाम, जैन र ईसाई धर्मावलम्वी छन्।
धार्मिक सहिष्णुता रहेको वीरगन्जमा हिन्दुधर्म र दर्शनको दिग्दर्शन हुने शंकराचार्य द्वार (वीरगन्ज), वौद्ध चैत्य-विहार, सङ्गीतमय फोहरासहित घडिअर्वा पोखरी, गहवामाई मन्दिर, नैतले काली मन्दिर, घण्टाघर (वीरगन्ज), भारतीय रेल्वे सञ्जालसँग जोडिएको नेपालको एक मात्र सुख्खा बन्दरगाह पनि हो ।
वीरगंजमा तरण ताल महावीर मन्दिर, विर्तामाई मन्दिर, हनुमान मन्दिर (वीरगन्ज) र अलखिया लगायत विविध धार्मिक तथा पर्यटकीय स्थल छन्। काठमाडौँ बाहिर भारतीय महावाणिज्य दूतावास र परराष्ट्र मन्त्रालयको सम्पर्क कार्यालय वीरगन्जमा मात्र स्थापना भएको छ।
Facebook Comment