कविता : पूर्णिमाको रात

शंकरप्रसाद रिजाल
१३ पुष २०८१ ७:१४

पूर्णिमाको रात

रात पूर्णिमा जस्तो जुन ताराहरु चम्किने
चन्द्रमा दुलही जस्तै बेहुली बनी हिँड्ने।

तारा जन्ती बनी हिँड्ने सारा नभ वरिपरी
चन्द्रमा सूर्यको लागी खोज्दै छिन घरीघरी।

लुके सूर्य कता कुन्नी पश्चिमको आकासमा
झस्की चन्द्रमा उता रोएकी छिन् बिछोडमा।

रात पूर्णिमा कस्तो झलमल्ल आहा! सबैतिर
श्रंगार चन्द्रको कस्तो अत्तर बर्षे झैं अघिल्तिर।

धर्तीमा चन्द्रको ज्योति उज्यालो छ वरिपरी
माथि आकासमा चन्द्र हाँसेकी छिन् घरीघरी।

दुलही चन्द्रमा रानी डोलीमा बसी सर्दछिन्
प्रत्येक क्षणमा सूर्यको प्रतिक्षा गरी बस्तछिन्।

बिचरी, कति वर्ष बिते उनको सूर्यलाई भेट्न
आशा उमंगका तीर्खा सबै एकैसाथ मेटाउन।

हरेक साँझको उनको श्रृंगार त्यो अनमोलको
लगाइ सिन्दुरै पोते चुरा चुर्चुरी बहारको।

आकास माझमा उनको झल्झली मुख देखिने
पूर्णिमा उनको खास आकास भरी चम्किने।

नीलो आकासमा उनको अनुहार त्यो चम्किलो
चट्ट हेर्दा उनको काया सेतो गोलो छ सुकिलो।

हिँडेको सूर्यको बाटो पछ्छ्याइ उनी हिँड्दछिन्
पूर्णिमा रातको नभमा अप्सरा झैं उनी घुम्दछिन्।

बादल जुल्फको घुम्टो आइ मुख लुकाउँछिन्
छातीमा हात खुम्चाइ आफ्नो शीर झुकाउँछिन्।

रानी बन्ने उनको इच्छा धोको सधैं रही रह्यो
पूर्णिमाको रातमापनि तिनको बिन्दी खसी गयो।

पहिलो नजरको भेट

जब पहिलो नजरमा आँखा दुवै जुध्छ
हेर मनमा कति ठुलो कम्प उठ्छ।

आकास गर्जिएर ठूलो बिजुली चम्किँदा
तर्सिन्छ मनको शान्त झण्डै ममाथि पर्दिँदा।

आँखा नजरमा पर्दा मोहको छाल उठ्ने
म माथिको इशारामा यो दिमाग उड्ने।

दिलमा लामो सास ढुकढुकी मन हल्लिने
गुलाबी फूलको आँखा मनमनै खुसी झुलने।

ऐना हेर्छु दिन दिनै उनको यादमा सधैं
पाउन्न फेरि उनलाई यो समयमा कहीं।

सम्झना नजरमा सबै झुमेको देखिने
खाइ पिएर सबैझैं यो शराबमा झुमने।

छायाँ नजरको भेट कसलाई सुनाउँ म
पहिलो भेटको आँखा कसलाई वुझाउँ म।

आँखा मोहमा पर्दा, पर्दा उघारी हेर्छु म
शरीर भरी उनैको सबै तस्बिर देख्छु म।

सारा समुद्र उर्लेझैं मेरो मनको छाल
उर्लिंदो खहरे खोला जस्तो यो मनको चाल।

गुलाब फूलको गुच्छा फुलेका छन् जताततै
रातमा चम्किला तारा हाँसेका छन् खुबैखुबै।

दिनमा सूर्य घुमे झैँ चन्द्रको पछि लागने
पुगेन उनको इच्छा त्यो चन्द्रलाई भेट्ने।

पुग्ने होइन कि मेरो इच्छा उनलाई भेट्ने
राखी मनमा याद जीवन भरी सताउने।

त्यो सम्झना मनमा सधैं रहने भयो
सम्झी मन यो मेरो सधैं कल्पिने भयो।

साँझको मेलको भेट कहाँ बिर्सिन सक्छु र
मनमा बलेको बत्ति कहाँ निभाउन सक्छु र।

साँझ छोड्न सक्तिन दिन उज्यालो नभै
भित्रको सम्झना बिर्सिन सक्तिन मरेर नगै।

याद आउँछ जहाँ उनको फोटो उनको लुकाउँछु
मनमा गढेको त्यो याद सम्झी सम्झी बोलाउँछु।

जब सन्ध्या हुन्छ मन मेरो घबराऊँ छ
सारा आकासमा तारा सब तिलमिलाउँ छ।

उनको मिलनको यादमा नयन मेरो भिजाउँ छ
उनको मिलनको यादमा नयन मेरो भिजाउँ छ।

बरसात

बिहानी बरसातको दिन पानि बर्सिन्छ आँगन
सग्लो पानीको थोपा तल आउँछन् नाचन
सुकेको परालको पाली रोइ पिल्पिल झर्दछन्
आँसुका दहमा डुब्ने कति रुने गर्दछन्।

असार महिना याम बादल गर्जिन्छ गडगडी
ओइरिन्छ मनका ताप मन हल्लाउँदै हरघडी
पानीको बेगमा सबै रुझेका छन् बेस्करी
थोत्रा कपडा लगाइ हिँडेका छन हत्तेरी।

गाउँले जीवनको गाथा ब्यथा कसरी सुनाउँ म
भत्केको छाप्रो भित्रका बालकलाई कसरी सुताउँ म
चिसा दाउरा बाली बसेकाछन् माझा मजेरी महा
काम छुटाइ ती बस्छन् सानो त्यो कोठरी महा।

खाने पिउने कुनै छैन त्यो गाउँलेको घरमा
हाँसेका छन् सबै परिबार त्यो बरसातको याममा
सेताम्मे घरको छाना भएका छन् सबैतिर
सुनसान सुभ बिहानी त्यो चकमन्न सबैतिर।

छाता ओढी हिँडेका छन् एक जोडी कतैतिर
सेताम्मे सितको खास्टो ओढी तिनका शरीरमा
दुबैको शितको चिसो बोकी हाँसेका छन् घरीघरी
प्रेमको बाकलो प्रीति बोलेका छन् थरी थरी।

सूर्य चन्द्र मिले जस्तो सित ताप मिलेसरी
हिँडेका छन् बिस्तारै छाता ठोक्काई घरिघरी
झुल्कियो पूर्वमा घाम फिँजायी पखेटा सरी
उडेका छन् ति चरी माथि मिठो घाम चुमेसरी।

ओहो स्वर्ग नै रे छ मेरो यो घर आँगन
कविले कविता लेख्छन् स्वर्गझैं मन थामन
के बरसात के शरद याम लाग्छ एक नै दुवै
वर्षा जल बर्सिन्छ शरदमा सुकी सबै।

बसन्त बरसातको हेर जताततै रमाइलो
यो शरदको समय हेर कत्ति चिसो नरमाइलो
यो शरदको समय हेर कत्ति चिसो नरमाइलो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *