विपक्षीलाई आउट गर्न नसकेपछि विराट कोहलीको यस्तो हर्कत, रेफ्रीले प्रतिबन्ध लगाउन सक्छन्

डिसी नेपाल
११ पुष २०८१ १३:५१

काठमाडौं । मेलबर्नमा भएको बक्सिङ डे टेस्टको पहिलो दिन भारत र अष्ट्रेलियाबीच विवाद भएको छ । जसका कारण विराट कोहली र साम कन्स्टास हेडलाइनमा आएका छन् ।

बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेस्ट बिहीबारदेखि मेलबर्नमा सुरु भएको छ । यस टेस्ट खेलमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

अस्ट्रेलियाका लागि साम कन्स्टास र उस्मान ख्वाजाले इनिङ्सको सुरुवात गरेका थिए । यो साम कन्स्टासको पहिलो टेस्ट हो। कोन्स्टास १९ वर्षका मात्रै छन् र आफ्नो ब्याटिङका ​​लागि चर्चित छन् ।

पाँच टेस्टको शृङ्खलामा दुवै टोलीले एक–एक टेस्ट जितेका छन् भने एक टेस्ट बराबरीमा सकिएको छ ।

साम कन्स्टास सुरुदेखि नै भारतीय बलरमाथि हावी रहे । उनले विशेषगरी भारतका स्टार बलर जसप्रित बुमराहलाई निशाना बनाए ।

उनको आक्रामक ब्याटिङका ​​कारण भारतीय क्याम्पमा हलचल मच्चिएको थियो । कप्तान रोहित शर्माले कन्स्टासलाई रोक्ने हरेक प्रयास असफल भएका थिए ।

भारतका लागि मोहम्मद सिराजले १० औं ओभर बलिङ गरे । यो ओभरपछि कन्स्टास आफ्ना सहखेलाडी उस्मान ख्वाजातर्फ लागे।

यसैबीच कोहलीले पनि बल उठाए र कन्स्टास आउँदै गरेको दिशामा अगाडि बढे। यसपछि कोहलीको काँध कन्स्टाससँग ठोक्कियो । यो देखेर कन्स्टास निकै रिसाए र कोहलीलाई केही भने ।

जवाफमा कोहलीले पनि कन्स्टासलाई केही भने । उस्मान ख्वाजा हस्तक्षेप गर्न आए। पछि अम्पायर पनि दुई खेलाडीको बीचमा आउनुपरेको थियो ।

कोहली र कन्स्टासबीचको टक्करलाई लिएर सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आइरहेका छन् । कोहली कन्स्टाससँग झुक्किएर ठोक्किए वा नियतवश यस्तो गरे भन्ने बहस चलिरहेको छ ।

केही पूर्व क्रिकेटरले कोहलीको यो व्यवहारको आलोचना गरेका छन् । इङ्ल्यान्डका पूर्व कप्तान माइकल वानले यस विषयमा म्याच रेफ्रीले पक्कै पनि ध्यान दिने बताएका छन् । उनले भने ‘कोहलीले यस्तो व्यवहार गरेका छन् जसमा उनलाई कहिल्यै गर्व हुने छैन।’

माइकल वानले भने, “कन्स्टास आफ्नो बाटोमा गइरहेका थिए। विराटलाई हेर्नुहोस्, उनले आफ्नो बाटो परिवर्तन गरेका छन्। विराट एक महान खेलाडी हुन्। उनी धेरै अनुभवी पनि छन्। तर जब उनले पछाडि फर्केर हेर्नेछन्, उनले आफैंलाई सोध्नेछन् कि उनले किन त्यसो गरे ?”

त्यतिबेला माइकल वानले खेलको कमेन्ट्री गरिरहेका थिए । जब उनलाई म्याच रेफ्रीले यो मामिला हेर्नेछन् ? भनेर सोध्दा उनले भने- पक्का।

अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले विराट कोहलीको गल्तीमा कुनै शंका नभएको बताएका छन् । पोन्टिङले यो विवाद विराटले आफूले ठक्कर दिएर सुरु गरेको बताएका छन् ।

भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहलीको यस्तो व्यवहारलाई अनावश्यक भनेका छन् । रवि शास्त्रीले यो घटनालाई म्याच रेफ्रीले पक्कै पनि बुझ्ने विश्वास व्यक्त गरेका छन् ।

भारतीय पूर्व कप्तान तथा कमेन्टेटर सुनिल गावस्करले पनि यस विषयमा निराशा व्यक्त गरेका छन् । गावस्करका अनुसार विराट कोहलीले यसबाट बच्न सक्थे।

आफ्नो दिशामा कोही आउँदै गरेको देखे बाटोबाट हट्न सकिने र त्यसो गर्दा कोही सानो नहुने उनले बताए । तर, साम कन्स्टासले खेलपछि भनेका थिए ‘यो खेलको समयमा हुन्छ र मैदानमा हुने चीजहरू मैदानमै रहन्छन्।’

चाखलाग्दो कुरा के छ भने साम कन्स्टास आफैं विराट कोहलीका फ्यान हुन् र कोहली उनको मनपर्ने क्रिकेटर हुन् ।

अष्ट्रेलियाली महिला टोलीकी कप्तान एलिसा हिलीले कोहलीको व्यवहारको आलोचना गर्दै एक स्टार ब्याट्सम्यानले वर्तमान अस्ट्रेलियाली टोलीका कान्छा खेलाडीलाई निशाना बनाएको बताएकी छन् ।

उनले भनिन्, “मलाई लाग्छ यो धेरै निराशाजनक छ। तपाईले धेरै अनुभवी र आफ्नो देशका उत्कृष्ट खेलाडी मध्ये एक विराट कोहलीबाट यस किसिमको ब्यवहारको आशा गर्न सक्नुहुन्न ।”

पूर्व अम्पायर साइमन टफेलले अष्ट्रेलियाको च्यानल सेभेनसँग कुरा गर्दै कोहलीले आफ्नो दिशा परिवर्तन गरेर कन्स्टासलाई जसरी टक्कर दिए त्यसलाई कारबाही गर्न सकिने बताएका छन् ।

आईसीसीको आचार संहिता अनुसार क्रिकेटमा कुनै पनि किसिमको अनुपयुक्त ‘शारीरिक टक्कर’ प्रतिबन्धित छ ।

खेलाडीले जानाजानी वा लापरवाहीका कारण कुनै खेलाडी वा अम्पायरसँग ठोक्किएमा त्यसलाई आचारसंहिता उल्लङ्घन मानिनेछ ।

यदि म्याच रेफ्रीले यसलाई लेभल-२ को अपराध मानेमा खेलाडीलाई तीनदेखि चार अंकको जरिवाना गर्न सकिन्छ, यसलाई ‘डिमेरिट अंक’ भनिन्छ।

यदि विराट कोहलीको हकमा यस्तो भयो भने उनलाई सिड्नीमा हुने अर्को टेस्ट खेल्न प्रतिबन्ध लाग्न सक्छ । यदि म्याच रेफ्रीले यसलाई लेभल-१ को अपराध मान्छन् भने उनलाई जरिवाना हुन सक्छ।

२०१८ मा कासिगो रबाडा र स्टिभ स्मिथ दक्षिण अफ्रिका र अष्ट्रेलिया बिचको टेस्ट शृंखलामा भिडेका थिए।

यस मामिलामा रबाडालाई दोषी पाइयो र उनलाई तीन जरिवाना अंक लगाइएको थियो। तर पछि उनको अपिलमा पेनाल्टी खारेज भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *