कास्की अदालतमा रविको बयान जारी
पाेखरा। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका लामिछानेको बयान बिहीबार दिउँसोबाट सुरु भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताए।
गत कार्तिक २ गते पक्राउ परेका लामिछानेसहित ५१ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दायर गरेसँगै प्रतिवादीहरुको बयान सुरु भएको हो। प्रतिवादीहरुमध्ये छविलाल जोशी र लिला पछाईँको बयान सकिइसकेको छ।
सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो। सबै प्रतिवादीहरुको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ।
गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ।
लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए। यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।
उनमाथि कास्कीसहित अन्य जिल्लामा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ।
नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो। सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।
Facebook Comment