अल्लु अर्जुन र पुष्पा निर्माताले भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड दिने
काठमाडौं । ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भएको भागदौडमा ज्यान गुमाएकी महिला र उनका घाइते छोरालाई २ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ ।
अल्लु अर्जुनका पिता तथा फिल्म निर्माता अल्लु अरविन्दले घटनामा घाइते बालकलाई भेटेर यस्तो घोषणा गरेका हुन् ।
उनले भने , “अस्पताल पुगेपछि र डाक्टरसँग कुरा गरेपछि बच्चा निको भइसकेको थाहा पाउँदा हामी धेरै खुसी भयौं। उनी छिट्टै निको भएर हामीकहाँ आउन् ।”
उनले थप भने, “परिवार र त्यो बच्चालाई सहयोग गर्न हामीले २ करोड दिने निर्णय गरेका छौं। १ करोड रुपैयाँ अल्लु अर्जुनले र ५० लाख रुपैयाँ तीन निर्माताले र ५० लाख रुपैयाँ निर्देशकले दिएका छन्।”
फिल्मस्टार अल्लु अर्जुन र उनको फिल्म ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । यसपछि उनले एक रात जेलमा पनि बिताए ।
Facebook Comment