श्रीमती बेचेका व्यक्तिको साथबाट ९२ लाख फेला परेको पुष्टि
काठमाडौं । ९२ लाख नगदसहित मंगलबार काठमाडौंबाट पक्राउ परेका तीन मध्येका मुख्य व्यक्ति रवि धमला रहेको र उनी यसअघि कारागारबाट फरार व्यक्ति भएको पाइएको प्रहरीले जनाएको छ।
दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका धमलासँगै रसुवा घर भएका जीतबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खाती छन्।
तामाङ र धमलाको साथबाट ७७ लाख र खातीबाट १५ लाख गरी प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको थियो। तस्करीको सुन कारोबार गर्ने गरेको आशंकामा उनीहरूलाई प्रहरीले काठमाडौंको लोलाङ र जोरपाटीबाट पक्राउ गरेको थियो।
धमला यसअघि मानव बेचबिखनको कसुरमा कारागार चलान भएको पाइएको छ।
आफ्नै श्रीमती बेचेको आरोपमा माइतीपक्षले उनीविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर उनीमाथि मुद्दा चलाएको थियो। त्यसपछि उनी कारागार चलान भएका थिए।
सिन्धुपाल्चोकस्थित चौतारा कारागारमा रहेका बेला २०७२ को भूकम्पले कारागार भत्काएपछि उनी फरार भएको खुलेको छ।
Facebook Comment