सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह
चितवन। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताएका छन्। पूर्वी चिवतनको सौराहामा आजदेखि सुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालमा भएका संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘देशमा भएका साधनस्रोतलाई न्यायोचित तवरले देशको हित र अर्थतन्त्रलाई चलायमान गर्ने गरी बढीभन्दा बढी प्रयोग गर्नुपर्छ।’ स्थानीय उत्पादनलाई प्रोत्साहन दिँदै महोत्सवलाई भरपुर उपयोग गर्नुपर्ने मन्त्री सिंहले बताए। महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीको म्युजिकल वाक, हात्तीको स्वास्थ्यपरीक्षण गरिने महोत्सवका संयोजक रामकुमार अर्यालले बताए।
त्यसैगरी पालिकास्तरीय डुंगा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया जस्ता कार्यक्रमम गरिने जनाइएको छ । महोत्सवमा ८० वटा हात्ती सहभागी गराइने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए।
Facebook Comment