अस्ट्रेलियाली खेलाडीलाई मैदानमा धक्का दिएपछि विराट कोहलीमाथि आइसीसीको कारवाही

काठमाडौं । अस्ट्रेलियाविरुद्धको मेलबर्न टेस्टको पहिलो दिन साम कन्स्टाससँग टक्कर दिएको भन्दै आईसीसीले भारतीय क्रिकेटर विराट कोहलीलाई जरिवाना गरेको छ । विराट कोहलीले म्याच फीको २० प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।
यसका साथै आईसीसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको भन्दै उनको मेरिट अंकबाट एक अंक पनि कटौती गरिएको छ ।
आईसीसीले जारी गरेको विज्ञप्तिमा कोहलीले म्याच रेफ्रीले प्रस्ताव गरेको सजाय स्वीकार गरिसकेकाले यस विषयमा औपचारिक सुनुवाइको आवश्यकता नरहेको बताएको छ ।
बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट बिहीबारदेखि मेलबर्नमा सुरु भएको छ । यस क्रममा अष्ट्रेलियाका लागि साम कन्स्टास र उस्मान ख्वाजाले ओपनिङ गरेका थिए । यो खेलमा कन्टासले पनि डेब्यु गर्दैछन् ।
खेलको दशौं ओभरपछि कन्स्टास आफ्ना सहकर्मी उस्मान ख्वाजातर्फ बढेका थिए । यसैबीच कोहलीले पनि बल उठाए र कन्स्टास आउँदै गरेको दिशामा अगाडि बढे।
त्यसपछि कोहलीको काँध कन्स्टाससँग ठोक्कियो । मैदानमा कन्स्टास निकै रिसाए र कोहलीलाई केही भने । जवाफमा कोहलीले पनि बोलेका थिए । पछि खेलाडीको बीचमा अम्पायर आउनुपर्यो ।
Facebook Comment