मेलबर्न टेस्टमा भारतको अवस्था नाजुक, फलोअनमा पर्ने खतरामा
काठमाडौं । बोर्डर-गावस्कर ट्रफी अन्तर्गत भारत र अष्ट्रेलिया बीचको चौथो टेस्ट मेलबर्न क्रिकेट स्टेडियम मा खेलाइँदैछ। यो खेल २६ डिसेम्बरबाट सुरु भएको थियो । खेलको दोस्रो दिन अष्ट्रेलियाका बलर र ब्याट्सम्यानको नाममा रह्यो ।
अन्तिम सत्रमा अस्ट्रेलियाका बलरले ६ रनमा भारतका ३ विकेट लिएका थिए । यस्तो अवस्थामा अहिले अष्ट्रेलियाको टोली यस खेलमा बलियो अवस्थामा छ । भारतीय टोलीले स्टम्पसम्म १६४/५ रन बनाएको छ ।
भारतले फलोअनबाट बच्न २७५ रनको स्कोर पार गर्नुपर्नेछ । दिनको खेल सकिँदा ऋषभ पन्त (६), रविन्द्र जडेजा (४) अझै क्रिजमा थिए। यस खेलको पहिलो इनिङ्समा अष्ट्रेलियाको टोलीले ४७४ रन बनाएको थियो । स्टिभ स्मिथले १ सय ४० रनको शानदार इनिङ खेले । जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए ।
भारतका लागि रोहित शर्मा र यशस्वी जैसवालले पहिलो इनिङ्सको ओपनिङ गरेका थिए । तर दोस्रो ओभरमा रोहित शर्मा कप्तान प्याट कमिन्सको बलमा आउट भए । केएल राहुल पनि प्याट कमिन्सको बलबाट बोल्ड भए।
त्यसपछि कोहली र यशस्वीले मिलेर १०२ रनको साझेदारी गरे । तर त्यसपछि रन चोर्ने प्रयासमा यशस्वी जैसवाल ८२ रनमा आउट भए । यसपछि स्कट बोल्यान्डले पिचमा बसेका विराट कोहलीलाई एलेक्स क्यारीको हातमा विकेटको पछाडि क्याच आउट गराए । त्यसपछि आकाश दीप शून्य रनमा आउट भए ।
Facebook Comment