प्रधानमन्त्रीज्यू! भारतले बोलाएन भनेर किन निराश हुने?

पूर्ण ओली
१२ पुष २०८१ १४:०९

सुरुमा भारत भ्रमण गर्ने इच्छा भएको तर भारतले नबोलाएपछि चीन भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्के लगत्तै भारत भ्रमणमा जाने योजनामा थिए। तर भारतले भ्रमणमा नबोलाएका कारण यतिबेला प्रधानमन्त्री ओली निराश देखिएका छन्।

भारत भ्रमणमा जान प्रधानमन्त्री ओलीले पराराष्ट्र मन्त्री आरजू देउवा तथा एमालेका नेता प्रदीप ज्ञवालीलाई दिल्ली पठाएर भ्रमणको चाँजोपाँचो मिलाउने तयारी गरेका थिए। तर उनको त्यो तयारी निरर्थक सावित भएको छ।

हाम्रा देशका नेताहरुले अहिलेसम्म नबुझेको कुरा के हो भने भारतले उसको आफ्नो स्वार्थ भन्दा बाहिर अरु कसैको हित या स्वार्थ हेर्दैन। त्यसैले भारतले उसको हितमा हाम्रा नेतालाई प्रयोग गर्छ र गरिरहेको छ। त्यसैले पहिला कांग्रेसका नेतालाई प्रयोग गरी नेपालका प्रमुख नदीनालाहरु सबै भारत कै हितमा मात्र उपयोग गर्‍यो।

नेपालका हितमा कांग्रेस नेताहरुले केही पनि लिन सकेनन्। मात्र सत्ताको बागडोर कांग्रेसका नेताले पाए। पछि यही कुरा एमालेले सत्ताको स्वार्थमा भारतलाई खुसी पार्न थाल्यो। मदन भण्डारी बाँचिन्जेल उनले राष्ट्रको हितमा मात्र काम गरे। जसले गर्दा उनी निकै लोकप्रिय भए।

तर उनलाई बिभिन्न बिदेशी शक्ति र देशभित्रकै देशको भलो नचाहनले मिलेर उनको जीवन लिला समाप्त पारेकोमा शंका छ। त्यसपछि माधव नेपालको नेतृत्वमा चलेको एमाले पार्टीले महाकाली भारतलाई सुम्पने कार्यमा प्रमुख भूमिका निभाए। जसको फलस्वरुप दुई ठाउँमा चुनाब हारेका उनलाई भारत कै पहलमा प्रधानमन्त्री बनाइयो।

पछिल्लो अबस्थामा माओबादीले आफूलाई निकै ठूलो राष्ट्रबादी दल भनेर जनतालाई झुक्याएपछि भारत कै हितमा नेपाली युवाहरुलाई लडाएर आफू भारतकै स्वार्थमा चल्न थाल्यो। नेपालमा आतंक मच्चाएर धेरै जनता मार्दा पनि नेपालले आतंककारी घोषणा गर्नुभन्दा पहिला भारतले आतंककारी घोषण गर्‍यो। तर पछि उनै माओबादीलाई भारतको हितमा प्रयोग गर्न थाल्यो । अहिलेसम्म पनि प्रचण्ड भारतलाई खुसी पारेर सत्ता पाउने लोभमा फसिरहेका छन्।

भारतको नियत के हो भने उसले कुनैपनि दल र नेतालाई आफ्नो हितमा प्रयोग गरेर काम सकेपछि उनै दल र नेतालाई दुत्कारने गर्छ। जसरी सिक्किमलाई भारतमा बिलय गराउने लेण्डुप दोर्जेलाई पहिला इन्दिरा गान्धीले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने गरेकोमा पछि सिक्किम भारतमा बिलय भइसकेपछि लेण्डुपलाई कुनै वास्ता गरिएन। उनको अवसान अत्यन्त निरासजनक अबस्थामा भएको इतिहास छ।

त्यसैले प्रधानमन्त्री केपी ओलीले कुनै दिन महाकाली सन्धीमा भारतलाई खुसी पार्ने कार्य गर्दै महाकाली सन्धी गर्दा नेपाललाई अरबौं फाइदा हुने भनेर भाषण गरे। त्यही कारणले बामदेव गौतमले पार्टी नै विभाजित गरे। नेताहरुले के सोच्छन् भने मैले भारतले जे भने पनि मानेको छु।

नेपालको हितमा भारतबाट केही लिन नसकेपनि भारतले जे भने पनि दिएको छु त्यसैले मलाई जहिलेपनि भारतले सहयोग गरिरहन्छ भन्ने नसोचे हुन्छ। भारतीयहरु आफ्नो राष्ट्रिय हितमा मात्र हेर्छन् तर नेपाली नेताहरु मात्र आफ्नो सत्ता स्वार्थमात्र हेर्ने भएकाले नेपाललाई भारतले हेप्ने गरेको छ।

त्यसैले सार्क देशका अन्य नेताहरुले आफ्नो देशको हितमा बोलेर भारतलाई हेप्न दिँदैनन्। जसका उदाहरण मालदिप्स, श्रीलंका, बांगलादेश पनि पर्छन्। तर हाम्रा नेताहरु भारतीय नेता या कर्मचारी आउँदा पनि टाउको निहुराएर दर्शन गर्न पुग्छन्। किनकि हाम्रा नेताहरु बिकाउ प्रबृतिका छन् भनिन्छ।

पहिला नेपालको चीनसँग अत्यन्त सौहार्दपूर्ण दैत्य सम्बन्ध थियो। हामीलाई परेको बेलामा जस्तो सहयोग पनि गर्ने गरको थियो। बहुदलीय ब्यबस्था हुँदै लोकतन्त्रको नाममा भाँडतन्त्र आएपछि चीनसँग पनि हाम्रो पहिलाको जस्तो हार्दिकतापूर्ण सम्बन्ध रहेको छैन।

त्यही भएर पनि नरेन्द्र मोदीले नेपाललाई पूरा बेवास्ता गर्ने गरेका छन्। नेपाललाई निकै माया गर्ने भनिएका मोदीले जब नेपालको संबिधान घोषणा गर्न केही समय रोक्न अनुरोध गर्दा नेपालका लालबुझक्कड नेताले हतारमा घोषण गरेर नेपालमा धर्मनिरपेक्ष र गणराज्य घोषण गरे।

शायद केही दिन ढिला गरि संविधान घोषणा गरिएको भए धर्मनिरपेक्ष नेपालमा लादिने थिएन होला। अब नेपाललाई भारतले फेरि पनि दुःख दिन नाकाबन्दी लगाएमा चीनले पहिलाजस्तो हार्दिकतापूर्बक सहयोग नगर्न सक्छ।

केही दिन अघि मात्र भारत र चीनले लिपुलेक नाकाबाट ब्यापार गर्ने सम्झौता गर्दा नेपाललाई कुनै वास्ता नगर्नुमा पनि अब हामीले चीनबाट पहिलाजस्ता हार्दिक सहयोगको अपेक्षा नगर्दा हुन्छ।

त्यसैले यी ठूला दलका नेताले के बुझुन भने आफ्नो राष्ट्रिय हितमा अडान लिँदा कसैले बिरोध गर्दैमा त्यसलाई मतलब राख्नु हुँदैन। सिमानामा भएका भारतीय हस्तक्षेप होस् या हाम्रा जमिन हडपेका सम्बन्धमा हामीले अब स्पस्ट अडान राखेर बोल्नु पर्छ।

खुला सिमाना दुबै देशको लागि अभिशाप हो त्यसैले यसलाई नियन्त्रण र नियमित गर्नैपर्छ। त्यसका लागि नेपालले स्पष्टसँग कुरा राख्नुपर्छ। जसरी भारतीय सामान खुलारुपमा नेपालमा आउँछन् त्यसरिनै नेपाली सामान भारत निकासी गर्न पाउनु पर्छ। नेपालको जलश्रोतको उपयोग गर्ने प्राथमिकता नेपालको हुनुपर्छ।

हामी कुनै कुरामा आत्मनिर्भर हुन थालेपछि ती सामानहरु भारतबाट पैठारी गर्न रोक लगाउनु पर्छ। हाम्रो क्वारेनटाइनलाई कढाइसँग कार्यन्वयन गराउनु पर्छ। कुनैपनि बिदेशी नेतालाई हाम्रा परराष्ट्रका कर्मचारीमार्फत मात्र भेट्नु पर्छ। सिधै बालुवाटार र शितल निवास छिर्न कुनैपनि बिदेशीलाई अनुमति दिइनु हुँदैन।

हाम्रा खानीहरु हामीले चाहेअनुसार संचालन गर्न पाउनु पर्छ। नेपालले गाँजा खेती गरेर बिदेश निकासा गर्दा नेपाल र नेपाली जनतालाई अत्यधिक लाभ हुन्छ, यसलाई शिघ्र बैधता प्रदान गरि कार्यन्वयन गर्दा भारतबाट कुनै बाधा आएमा त्यसलाई पूरा बेवास्ता गर्नुपर्छ।

ल्याण्डलक कन्ट्रीले पाउने सुबिधा भारतले रोकेमा युएनमा गएर बोल्न सक्नु पर्छ। मुख्य गरेर बिदेशीको हितमा आउने कुनैपनि सहयोग लिन हामीले अस्विकार गर्न सक्नुपर्छ। भिखारी जस्तो जे दिएपनि लिन खोज्दा हाम्रो अस्तित्व मै खतरा पर्न सक्छ।

त्यसैले प्रधानमन्त्रीजी भारतले बोलाएन भनेर शिर निउराउनु पर्दैन। आफ्नो देशको हितमा परिणाम देखिने कार्यहरु गर्नुहोस् सबैले जयजय मनाउने छन्। धर्म निरपेक्षता, प्रदेश हटाउने हिम्मत गर्नुहोस्। समानुपातिको नाममा आफ्ने आसेपासेलाई सांसद बनाउने कार्य रोक्नुहोस्।

सांसदको संख्या घटाउनु होस्। निर्बाचित सांसदलाई मन्त्री नबनाइ बिज्ञ ब्यक्तिहरुबाट सानो मन्त्रिमण्डल गठन गर्नुहोस्। अहिलेको सरकारले संबिधानमा यति संशोधन गर्न सक्यो भने केही बिरोध भएपनि नेपाली जनताले खुसी मनाउने छन्।

आफ्ना चम्चाको हितमा मात्र कार्य गर्ने तर गरिब किसानको हितमा ठोस कार्य नगर्ने अनि भ्रष्टहरुलाई बचाउने कार्यमात्र गरेर अख्तियारलाई निस्कृय पार्नु भयो भने बिरोधी या जनताले गाली गर्न छोड्दैनन्। जनताले भाषण होइन जनहितमा परिणाम हेर्नेछन्।

अनि यसैको आधारमा जनताको सपोर्ट पाउने र नपाउने कुराको यकिन हुनेछ। प्रधानमन्त्री भारत जाने र नजाने कुराले जनतामा तात्विक फरक पर्नेछैन। भारत भ्रमण गर्ने कुरा मात्र आफ्ना बिरोधीलाई फुर्ती देखाउनु हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *